फ्रान्सले प्यालेस्टाइनलाई राष्ट्रको मान्यता दिने

फ्रान्सका राष्ट्रपति म्याक्रोनले आउँदो सेप्टेम्बरमा प्यालेस्टाइनलाई राष्ट्रको मान्यता दिने बताएका हुन्।

काठमाडाैँ– फ्रान्सेले प्यालेस्टाइनलाई आधिकारिक रूपमा राष्ट्रको मान्यता दिने भएको छ। राष्ट्रपति इमानुएल म्याक्रोनले सामाजिक सञ्जाल एक्समा लेख्दै यसै वर्ष सेप्टेम्बरमा प्यालेस्टाइनलाई मान्यता दिने बताएका हुन्।

यसको औपचारिक घोषणा न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासभाको सत्रमा गरिने उनको भनाइ छ। साथै, उनले आजको सबैभन्दा जरुरी आवश्यकता गाजामा युद्ध अन्त्य गर्नु र सर्वसाधारणको सुरक्षा गर्नु रहेको बताएका छन्।

"शान्ति सम्भव छ। हामीलाई तत्काल युद्धविराम, सबै बन्धकहरूको रिहाइ र गाजाका जनतालाई ठूलो मात्रामा मानवीय सहायता चाहिन्छ," उनले लेखेका छन्, "मध्यपूर्वमा न्यायपूर्ण र दिगो शान्तिको लागि मेरो ऐतिहासिक प्रतिबद्धताको अंशको रूपमा, मैले फ्रान्सले प्यालेस्टाइनलाई एक राज्यको रूपमा मान्यता दिने निर्णय गरेको छु।"

प्यालेस्टिनी अधिकारीहरूले म्याक्रोनको निर्णयको स्वागत गरे। तर इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले भने यो कदमको आलोचना गर्दै भने, "आतंकवादलाई पुरस्कृत गर्नु बराबर हो।"

म्याक्रोनले हमासको निशस्त्रीकरण सुनिश्चित गर्नुपर्ने कुरामा पनि जोड दिएका छन्। साथै, गाजाको सुरक्षा र पुनर्निर्माण सुनिश्चित गर्नुपर्ने उनको भनाइ छ।

हाल, प्यालेस्टाइनलाई संयुक्त राष्ट्र संघका १९३ सदस्य राष्ट्रहरूमध्ये १४० भन्दा बढीले मान्यता दिएका छन्। स्पेन र आयरल्यान्ड लगायत केही युरोपेली संघका देशहरू पनि यसमा समावेश छन्।

तर इजरायलका मुख्य समर्थकहरू, संयुक्त राज्य अमेरिका र बेलायत लगायत उसका सहयोगीहरूले प्यालेस्टाइनलाई मान्यता दिएका छैनन्।