रोनाल्डो साउदी क्लब ‘अलनासर’मा आबद्ध

साउदी क्लबमा अनुबन्ध भएपछि रोनाल्डोले फरक देशमा नयाँ फुटबल लिग अनुभव गर्न उत्सुक रहेको बताएका छन् ।

तस्वीर : अलनासर क्लब

काठमाडौँ– पोर्चुगलका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो साउदी क्लब अल नासरमा आबद्ध भएका छन्। 

हालै म्यानचेस्टर युनाइटेड छाडेका रोनाल्डो वार्षिक १७७ मिलियन पाउन्डमा सन् २०२५ सम्मका लागि अनुबन्ध भएका हुन्। ३७ वर्षीय रोनाल्डो फुटबल इतिहासकै सबैभन्दा ठुलो पारिश्रमिक लिएर साउदी गएको बीबीसीले लेखेको छ।

रोनाल्डोले आफू अर्को देशमा नयाँ फुटबल लिगको अनुभव गर्न उत्सुक रहेको बताएका छन्। अलनासर साउदीको चर्चित क्लब हो। जसले नौ पटक साउदी प्राे लिग जितेको छ। रोनाल्डोलाई भित्र्याएपछि क्लबले नयाँ इतिहासको शूरूआत भएको बताएको छ।

क्लबले भनेको छ, “यो एउटा हस्ताक्षर हो, जसले हाम्रो क्लबलाई अझ ठुलो सफलता हासिल गर्न प्रेरित मात्र गर्दैन, हाम्रो लिग, राष्ट्र र भावी पुस्तालाई उत्कृष्ट बन्न प्रेरित गर्नेछ।” रोनाल्डोले सन् २००२ सेप्टेम्बरमा लिस्बनका लागि खेल्दै क्लब फुटबलमा डेब्यु गरेका थिए।