आजको मौसम : तीनवटा प्रदेशमा पानी पर्ने सम्भावना

शनिबार प्रदेश १, बागमती र गण्डकीका पहाडी भेगमा पानी पर्ने तथा हिमाली भेगमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

काठमाडौँ– पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले देशका पहाडी भागमा आंशिक बदली रही तराईमा हुस्सु/कुहिरो लागेको छ। 

शनिबार दिउँसो देशका विभिन्न स्थानमा पानी पर्ने सम्भावना छ। प्रदेश १, बागमती र गण्डकीका पहाडी भेगमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

साथै हिमाली भेगमा हिमपातको पनि सम्भावना रहेको छ। राति प्रदेश १, बागमती, गण्डकी र कर्णालीका हिमाली क्षेत्रमा हिमपात हुनसक्ने महाशाखाको अनुमान छ।

चिसोका कारण दैनिक जनजीवन, सडक तथा हवाई यातायातसमेत प्रभाव पर्ने हुँदा सावधानी तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।