तेक्वान्दो संघले नियमविपरीत विदेशीलाई ‘डान’ दियो, छानबिन गर्छौं : अध्यक्ष जोशी

नेपाल तेक्वान्दो महासंघ अध्यक्ष प्रदीप जोशीले विगठित तेक्वान्दो संघबाट नियमविपरीत विदेशी नागरिकलाई कुकिवनको डान सर्टिफिकेट वितरण भएको बताएका छन्।

काठमाडौँ- विगठित नेपाल तेक्वान्दो संघबाट नियमविपरीत विदेशी नागरिकलाई कुकिवनको डान सर्टिफिकेट वितरण गरेको आरोप लगाउँदै नेपाल तेक्वान्दो महासंघ अध्यक्ष प्रदीप जोशीले त्यसको छानबिन गरिने बताएका छन्।

तेक्वान्दो संघले आर्थिक प्रलोभनमा परी विभिन्न विदेशी नागरिकलाई डान प्रदान गरिएको उनको दाबी छ।

त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष जोशीले ‘पब्लिक स्टन्ट’ लिन मात्रै नभई विगतदेखि नै तेक्वान्दो बेच्ने कार्य भइरहेको बताउँदै यसको भण्डाफोर गर्ने बताएका हुन्। 

"पब्लिक स्टन्ट लिनको लागि छानबिन गर्छौं भनेको होइन। तेक्वान्दो शुद्धीकरणका लागि नेपाल तेक्वान्दो संघले गरेको गैरकानुनी धन्दाको छानबिन गर्न आवश्यक छ। हामी यसबारे छानबिन गर्छौं", उनले भन।

डान सर्टिफिकेट प्राप्त गर्न रेड वेल्ट हुनुको साथै उक्त वेल्ट लिएको कम्तीमा १ वर्ष पुगेको हुनुपर्छ। त्यसपछि मात्रै खेलाडीले प्रशिक्षणमा सहभागी हुन पाउने व्यवस्था गरिएको छ। प्रशिक्षण सकिएपछि परीक्षामा पुम्सेको प्रदर्शन गर्नुपर्छ।

पुम्सेको परीक्षामा कम्तीमा पनि ५ देखि १० नम्बर ल्याउनुपर्छ। साथै डान सर्टिफिकेट लिन किकिंग र बेसिकको पनि राम्रो ज्ञान हुनुपर्छ। यसको साथै डेमोस्ट्रेशन र सेल्फ डिफेन्स पनि सिकेको हुनुपर्छ। यी सबै प्रक्रियामा पास भएपछि मात्रै डानको लागि सिफारिस गरिन्छ।

तर, तेक्वान्दो संघले भारतीय नागरिकहरूलाई प्रक्रिया पूरा नगरी डान सर्टिफिकेट बिक्री वितरण गर्दै आएको महासंघका अध्यक्ष जोशीले आरोप लगाए। उनले विगतदेखि नै तेक्वान्दो संघले मानव तस्करीसमेत गरिरहेको समेत दाबी गरे।

"तेक्वान्दो संघले सेनाको लेटर प्याडको दुरुपयोग गर्दै गौर खेलाडीको फोटो खिचाएर नक्कली सेना बनाउँदै विश्वको विभिन्न भागमा मानव तस्करी गरेको छ। ती पठाइएका व्यक्तिसँग पनि भारत र नेपालको नागरिकता छ। यस्ता विभिन्न किसिमका धन्दा तेक्वान्दो संघले गर्दै आएको छ", उनले भने।

जोशीले विदेशबाट आएको अनुदान र तोक्वान्दो विकासका निम्ति आएको आर्थिकलगायतका सहयोगहरू पनि संघले हालसम्म सार्वजनिक नगरेको भन्दै महासंघले यसको छानबिन गर्ने बताए। ती सबै सहयोग पुनः तेक्वान्दो खेलको विकासमा लगाउने प्रतिबद्धता उनको थियो। 

"तोक्वान्दोका लागि भनेर आएको रकम र सामग्री हिनामिना भएको पाएका छौँ। ती सहयोगस्वरूप प्राप्त विदेशबाट आएको सामान र आर्थिक सहयोग तोक्वान्दो खेलाडीको हितमा प्रयोग गर्नेछौँ", उनले भने।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नेपाल तेक्वान्दो संघ र राष्ट्रिय तेक्वान्दो संघ, नेपाल दुवैको दर्ता खारेज गरी तेक्वान्दो महासंघ गठन गरेको छ। राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ अनुसार एकै प्रकृतिका समान दुई संघ अस्तित्वमा रहने नसक्ने भन्दै पुस ५ गतेको मन्त्रीस्तरीय निर्णयबाट दुवै तेक्वान्दो संघको दर्ता खारेजी भएको थियो।

निर्णयसँगै राखेपले दुवै संघको दर्ता खारेज गरी तेक्वान्दो महासंघको अध्यक्षमा जोशीलाई नियुक्त गरेको हो। जोशी नेपाली तेक्वान्दो संस्थापक सदस्यका साथै पूर्व उपाध्यक्ष पनि हुन्। तेक्वान्दो संघ नेपाल, तेक्वान्दो महासंघमा गाभिएको छ। तर, २०३९ सालमा राखेपमा दर्ता भएको तेक्वान्दो संघ भने कानूनी उपचारको लडाइँ लडिरहेको छ।

तेक्वान्दो संघको खारेजीविरुद्धको रिटमा उच्च अदालत पाटनले विपक्षी युवा तथा खेलकुद मन्त्रालय, राखेपसहित पाँच संस्थासँग कारण देखाऊ आदेश जारी गरेको छ। यसबाहेक अदालतले दुवै पक्षलाई आदेशपूर्व छलफलका लागि बोलाएको छ।