स्विट्जरल्याण्डमा यसरी बढाइयो संकटासन्न भ्यागुताको संख्या

नयाँ पोखरी खनेर भ्यागुताका प्रजातीको संख्या बढाउने सजिलो र प्रभावकारी विधिको प्रयोग विश्वभर नै गर्न सकिने वैज्ञानिकहरुको सुझाव छ।

तस्वीर: बीबीसी

स्विट्जरल्याण्डमा नयाँ पोखरीहरू खनेर लोप हुन लागेका भ्यागुताका प्रजातिको संख्या बढाइएको एक प्रेरणादायी अध्ययन सार्वजनिक भएको छ। स्विट्जरल्याण्डको एक स्थानमा पोखरी खन्ने क्रममा लोप हुन लागेका भ्यागुता विशेष गरि संकटापन्न युरोपियन ट्रि नामक भ्यागुता भेटिएकोबारे एक अध्ययन सार्वजनिक भएको हो।

एक स्थानको पोखरीमा लोप हुन लागेका भ्यागुताहरू भेटिएपछि संरक्षणविद्हरूले स्विट्जरल्याण्डको आर्गाउ क्षेत्रका धेरै स्थानमा सयौँ नयाँ पोखरी खनेका थिए। नयाँ पोखरीहरूमा संकटापन्न भ्यागुताको संख्या झनै बढ्न थालेपछि उत्साह थपिएको अध्ययनमा उल्लेख छ।

युरोपियन ट्रि फ्रग नामकको भ्यागुता युरोपको संकटापन्न उभयचर प्राणीमा पर्छ। लामो जिब्रो र चम्किलो हरियो रंगको यो भ्यागुता अन्य भ्यागुताको तुलनामा सानो हुन्छ। नयाँ पोखरी खनेर भ्यागुताका प्रजातिको संख्या बढाउन सकिने सजिलो र प्रभावकारी यो विधि विश्वभर नै अपनाउन सकिने वैज्ञानिकहरूको सुझाव छ।

प्राकृतिक बासको विनाश, शहरीकरण, सडक संरचना, रोग तथा आक्रामक शिकारी जनावरका कारण विश्वभर नै उभयचर प्राणीहरूको संख्या घट्दै गएको छ।

सन् १९९९ मा आर्गाउ क्षेत्रमा लोप हुन लागेका उभयचरको संख्या बढाउन सामूहिक रूपमा संरक्षण अभियान नै चलाइयो। राज्य संयन्त्र, गैरनाफामूलक संगठनहरू, निजी जग्गा हुनेहरू र सयौँ स्वयंसेवकहरूको सहकार्यमा २० वर्ष लगाएर आर्गाउका पाँचवटा क्षेत्रमा मात्रै ४ सय २२ वटा पोखरी खनेका थिए। संरक्षणविद्हरूको मुख्य चासो भने युरोपियन ट्रि फ्रगमै थियो।

पर्याप्त ठाउँको अभाव, आक्रमणकारी जीवहरूको संख्या वृद्धि र घना जंगलका कारण पुराना पोखरी उभयचरहरूका लागि अनुपयूक्त बनेपछि संरक्षणविद्हरूले नयाँ पोखरीमा उनीहरूलाई पर्याप्त स्थान दिएका थिए।

आठ प्रजातिका भ्यागुतामध्ये आर्गाउमा ५२ प्रतिशतले क्षेत्रीय संख्या बढाएका छन् भने ३२ प्रतिशत पुनस्थापित भएका छन्। विशेष गरि संकटापन्नको सूचीको युरोपियन ट्रि फ्रगको संख्या नाटकीय रूपले बढेको अध्ययनमा सहभागी प्रमुख लेखक डा.हेलेन मुरको भनाइ छ।

उफ्रिएर रूखमा पुग्नसक्ने र थुप्रै किलोमिटरको यात्रा गर्नसक्ने युरोपियन ट्रि फ्रग स्विट्जरल्याण्डको धेरै स्थानमा लोप भइसकेको भ्यागुता थियो। संरक्षणका लागि २० वर्षसम्मको प्रयासले यो प्रजातिको संख्या एउटा क्षेत्रमा मात्रै चार गुणाले बढेको पाइएको हो।

सन् १९९९ सम्ममा १६ स्थानमा पाइने यो भ्यागुता सन् २०१९ पछि भने ७७ वटा स्थानमा पाइने गरेको छ। भ्यागुता संरक्षणका लागि बनाइएका यी पोखरीको निगरानी र व्यवस्थापनले समेत निरन्तरता पाउने डा. मुरले बताइन्। तर यसका लागि अथक प्रयास र मिहिनेतको आवश्यकता पर्ने डा. मुरको भनाइ छ।

भ्यागुतासम्बन्धी यो अध्ययन प्रोसिडिङ अफ द नेशनल एकाडेमी अफ साइन्सेसमा प्रकाशित छ।

भ्यागुता बचाउन किन आवश्यक छ?
विश्वका हरेक मुलुकमा पाइने भ्यागुताको महत्त्व र उपयोगिता कमैलाई थाहा होला। देख्दा सानो भए पनि भ्यागुताको निकै मत्हत्व छ। भ्यागुताले वनस्पतिमा लाग्ने किराहरू खाने भएकाले यसले कृषिबालीमा फाइदा पुग्दछ।

साथै, यसले लामखुट्टेसमेत खाने भएकाले मानिसको स्वास्थ्यका लागि पनि फाइदाजनक छ। यस्तै, पृथ्वीको पारिस्थितिक प्रणाली सन्तुलनमा राख्न र खाद्यान्नमार्फत रोग फैलाउने जीवको शिकार गर्ने भएकाले पनि भ्यागुताकाे महत्त्व छ।

भ्यागुताले पानीलाई स्वच्छ बनाउने काम गर्छ। यस्तै, चिकित्सा क्षेत्र तथा औषधि अनुसन्धानका लागि पनि भ्यागुता उपयोगी मानिन्छ। भ्यागुताको छालामा मानिसकाे आन्द्राको अल्सर निको पार्ने औषधीय गुणसमेत हुन्छ।