पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन तयारीले वायुसेवा कम्पनी उत्साहित

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने भएपछि नेपालका वायुसेवा कम्पनीहरू उत्साहित देखिएका छन्।

काठमाडौँ– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने भएसँगै नेपालका वायुसेवा कम्पनी उत्साहित भएका छन्। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार (जनवरी १ तारिख)देखि व्यावसायिक उडान हुने भएसँगै नेपाली वायुसेवा कम्पनी उत्साहित देखिएका हुन्।

वायुसेवा कम्पनी सञ्चालकले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान हुनु नेपालको पर्यटन क्षेत्रमा कोषेढुङ्गा साबित हुने विश्वास व्यक्त गरेका छन्। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रियस्तरको आवश्यक सबै सेवासुविधा रहेको भन्दै आन्तरिक उडान गर्ने यात्रुहरूले समेत अन्तर्राष्ट्रियस्तरको उडान गर्न पाउने उनीहरूको तर्क छ।

यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान सञ्चालनमा आउँदा आफूहरू उत्साहित रहेको बताए। उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक रूपमा उडान गर्ने यात्रुले पनि अन्तर्राष्ट्रियस्तरको उडान गर्न पाउने बताए।

प्रवक्ता बर्तौलाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान सञ्चालनमा आउँदा उडान रद्द हुने समस्या हट्ने बताए। विमानस्थल सञ्चालनमा आएपछि पोखरामा मात्रै नभई नेपालको पर्यटनमा कोषेढुङ्गा साबित हुने दाबी उनको छ।

उनका अनुसार यति एयरलाइन्सले विमानस्थल सञ्चालनमा आएसँगै १० उडान थप्ने तालिका तयार पारेको छ। एयरलाइन्सले पोखरा–भैरहवा–भरतपुर–सिमरा–नेपालगन्ज–विराटनगर र जनकपुर उडान गर्ने भएको छ। यतिले पोखरालाई बेस बनाएर एउटा जहाज पोखरामा नै राख्ने तयारी गरेको छ।

प्रवक्ता बर्तौलाले पोखराबाट दक्षिण एशियाली मुलुक र दक्षिण-पूर्वी मुलुकहरूमा चार्टर उडान भर्ने योजना बनाएको जानकारी दिए। उनले पोखराबाट हुने उडानको भाडा तत्काल वृद्धि नहुने बताए।

"त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभन्दा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल टाढा भएकाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थालमा आउने सडक र ट्राफिक व्यवस्थापन अस्तव्यस्त रहेको छ। पहिलो काम सडक व्यवस्थापन गर्नुपर्छ। पोखरा महानगरपालिकाले पोखरामा सटल बस राख्नुपर्छ", उनले भने।

त्यस्तै, बुद्ध एयरका प्रवक्ता दीपेन्द्र कर्णले पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक उडान सञ्चालन हुँदा उत्साहित भएको बताए। उनले बुद्धले पोखराबाट गर्ने सम्पूर्ण उडान अन्तर्राष्ट्रिय विमानस्थलबाट गर्ने तयारी गरेको बताए। प्रवक्ता कर्णले अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक पूर्वाधारले पनि वायुसेवा कम्पनी उत्साहित रहेको बताए।

पोखरा विमानस्थलबाट रात्रिकालीन उडान गर्न मिल्ने हुँदा नागरिक उड्डयन प्राधिकरणको अनुमतिमा फेब्रुअरीको तेस्रो सातादेखि बुद्ध एयरले उडान भर्ने उनको भनाइ छ।

"पोखराबाट नेपालगन्ज, भैरहवा, भरतपुरमा उडान भइरहेको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सातै प्रदेशलाई जोड्ने गरी काठमाडौँजस्तै हरेक गन्तव्यलाई पोखराबाट जोड्नेछौँ। यात्रु र पर्यटकहरूलाई समेत सहजता बनाउँछ भन्ने लाग्छ", उनले भने।

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा प्रवक्ता कर्णले पोखरा विमानस्थलबाट बुद्ध एयरलाइन्सले यात्रुहरूलाई सहज र सरल भाडादर कायम गर्ने विश्वास व्यक्त गरे। उनले बद्ध एयरले पोखराबाट बनारस उडानका लागि अनुमति पाएसँगै उडान भर्न तयारी गरेको पनि बताए।