तराईमा बिहानैदेखि हुस्सु, हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना

दिउँसो प्रदेश–१, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा वर्षाको सम्भावना छ।

तस्वीर : रासस

काठमाडौँ– चिसोले देशभरको जनजीवन प्रभावित हुन थालेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हिमाली भेगमा हिमपात, पहाडमा वर्षा र तराईमा हुस्सुका कारण चिसो बढ्दै गएको छ।

पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही तराईमा हुस्सु र कुहिरो लागेको छ। काठमाडौँ उपत्यकामा पनि शुक्रबार बिहानैदेखि हुस्सु लागेको विभागले जनाएको छ। दिउँसो प्रदेश–१, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा वर्षाको सम्भावना छ।

हिमाली भेगमा हिमपातको सम्भावना रहेकाले सावधानी अपनाउन विभागको आग्रह छ। मौसममा खराबी आउँदा सडक तथा हवाई यातायातसमेत प्रभावित हुने सम्भावना रहेको विभागले जनाएको छ।