म्याग्दीमा अर्ग्यानिक खेती अभियान

मङ्गला गाउँपालिकाले मानव मूत्रको प्रयोग गरेर फलफूल, तरकारी र खाद्यान्न उत्पादन गर्ने किसानलाई प्रोत्साहन गर्न थालेको छ।

म्याग्दी– जिल्लाका स्थानीय तहले अर्ग्यानिक खेतीमा जोड दिएका छन्। रासायनिक मलको बढ्दो प्रयोगले खेतबारीको माटोमा अम्लीयपना बढ्दै गएपछि प्राङ्गारिक मल र रैथाने बिउ बिजनको प्रयोगमा जोड दिन थालेका हुन्।

किसान र स्थानीय तहले सहकार्य गरेर अभियान चलाएका छन्। मङ्गला गाउँपालिकाले मानव मूत्रको प्रयोग गरेर फलफूल, तरकारी र खाद्यान्न उत्पादन गर्ने किसानलाई प्रोत्साहन गर्न थालेको छ।

रासायनिक मलको प्रयोग गरी खेती गर्ने होडबाजी चलिरहेका बेला मङ्गलाले पालिकालाई अर्ग्यानिक कृषि उत्पादनका माध्यमबाट चिनाउन पहल गरेको हो। यसले किसान पनि उत्साहित भएको कृषि प्राविधिक जगत बानियाँले बताए। प्राङ्गारिक गुणस्तर निर्धारण प्रणाली प्रवर्द्धन कार्यविधि बनाएर काम गरिरहेको गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले बताए। 

जिल्लाका अन्य पालिकामा पनि प्राङ्गारिक खेती प्रणालीतर्फ किसान आकर्षित भएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ। यसलाई सहज गराउन केन्द्रले पनि सहजीकरण गरिरहेको केन्द्रका प्रमुख किरण सिग्देलले बताए। किसानले स्थानीय स्तरमा उपलब्ध प्राङ्गारिक मल, गाई भैँसीको मूत्र, मानव र जैविक विषादीको प्रयोगबाट रोगकीरा पहिचान तथा व्यवस्थापनसमेत गर्दै आएका छन्। 

प्राङ्गारिक कृषि प्रणाली अवलम्बन गर्दा उत्पादन बढ्नुका साथै पर्यावरण सन्तुलन राख्न सहयोग पुग्ने कृषि विज्ञकाे भनाइ छ।