चिस्यान गृहले कृषकलाई फाइदा, १० हजार किलो सुन्तला भण्डारण

म्याग्दीको नारच्याङमा १० हजार किलो क्षमताको भण्डारण गृह सञ्चालनमा ल्याइएको छ।

म्याग्दी– अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका कृषकले जिल्लामै पहिलो पटक चिस्यान गृहमा सुन्तला भण्डारण गरेका छन्।

मौसमअनुसार कृषि उपज उत्पादन गर्ने कृषकले बेमौसममा बिक्री गरी पर्याप्त आम्दानी गर्नका लागि चिस्यान गृहमा सुरक्षित भण्डारण गरेका हुन्।चिस्यान गृहमा सुन्तला भण्डारण गरेर केही समयपछि बिक्री गर्दा सहज बजार र उचित मूल्य पाउने कृषकको अपेक्षा छ।

नारच्याङ, बाँसबोट, गाडपार र घरापका कृषकले उत्पादन गरेको सुन्तला चिस्यान गृहमा भण्डारण गरेर राखिएको न्यु अन्नपूर्ण कृषि तथा पशु मल्टी एग्रोका सञ्चालक प्रेम गुरुङले बताए। “स्थानीय कृषकबाट खरिद र आफ्नै बगैँचाको १० हजार किलो सुन्तला टिपेर चिस्यान गृहमा राखेको छु”, उनले भने, “चैत–वैशाखमा सुन्तला बजारमा पठाउने सोच छ।”

अहिले प्रतिकिलो ६० देखि ७० रुपैयाँ रहेको सुन्तला चैत–वैशाखमा प्रतिकिलो १६० देखि २०० रुपैयाँसम्ममा बिक्री हुने गुरुङको विश्वास छ। फागुनसम्म सुन्तला बोटबाट फल नटिप्दा उत्पादकत्व र बगैँचा व्यवस्थापनमा समस्या हुने गरेको छ। धेरै समय बोटमा फल राख्दा हावाले क्षति हुने समस्या पनि हटेको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सुन्तला जोन कार्यक्रमको सहयोगमा १० हजार किलो क्षमताको चिस्यान गृह स्थापना भएको हो।

सुन्तलाको भण्डारण सफल भएमा स्याउ, आलु र अन्य तरकारी पनि राख्ने सञ्चालक गुरुङको योजना छ। चिस्यान गृहको भवनमा फलफूल र तरकारीलाई ताजा बनाइराख्ने अनुकूलित हावापानी बनाउन विद्युतबाट चल्ने उपकरण जडान गरिएको छ। चिस्यान गृह बनाउन सुन्तला जोन कार्यालयले १३ लाख रुपैयाँ अनुदान दिएको थियो। पूर्वाधार र उपकरण खरिदमा २१ लाख खर्च भएको छ। 

सुन्तला जोनका कृषि अधिकृत विक्रम बस्यालले म्याग्दीमै पहिलो पटक आधुनिक चिस्यान गृह निर्माण भएको बताए। उनका अनुसार परियोजनामार्फत पछिल्लो तीन वर्षमा म्याग्दी, बागलुङ, पर्वत र मुस्ताङमा फलफूल भण्डारणका लागि सात चिस्यान गृह निर्माण गरिएका छन्। चालु आवमा चार स्थानमा निर्माण गर्ने लक्ष्य रहेको उनले बताए।