एमबाप्पेकाे गाेलमा पीएसजी विजयी

एमबाप्पेले ९४औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै टिमलाई जित दिलाए।

तस्वीर : पीएसजी

काठमाडौँ– फ्रान्सेली लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले बुधबार स्ट्रसबर्गलाई २–१ ले हराएको छ। 

केलियन एमबाप्पेले खेलको अन्त्यतिर पेनाल्टीबाट गोल गरेपछि पीएसजी विजयी भएको थियो। विश्वकप फाइनल खेलेयता एमबाप्पे पहिलो पल्ट मैदानमा उत्रेका हुन्।

मारक्विन्होसले पहिलो हाफमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए। तर, दोस्रो हाफको शुरूमै उनैले आत्मघाती गोल पनि गरे। ६२औँ मिनेटमा दोहोरो पहेँलो कार्ड पाउँदै नेयमारले मैदान छाडेपछि पीएसजी दबाबमा परेको थियो। 

एमबाप्पेले ९४औं मिनेटमा पेनाल्टीबाट गोल गरेर टिमको जित निश्चित गरे। योसँगै पीएसजी आठ अंकको अग्रतासहित शीर्षस्थानमा छ। पराजित स्ट्रसबर्ग भने रेलिगेसन क्षेत्रबाट तीन अंक मात्र अगाडि छ।