संसद् बैठकका लागि सम्पूर्ण तयारी पूरा

नयाँ संसद्को पहिलो अधिवेशनका लागि सम्पूर्ण तयारी पूरा भएको छ। संसद् सचिवालयका अनुसार सभा सञ्चालनका लागि आवश्यक प्राविधिक, व्यवस्थापकीय, प्रशासनिक तयारी सम्पन्न भएको हो।

काठमाडौँ- संघीय संसद् सचिवालयले संसद्को अधिवेशनका सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। 

आगामी अधिवेशनका लागि सचिवालय तयार रहेको बताउँदै संघीय संसद् सचिवालयका सहायक प्रवक्ता एवं सूचना अधिकारी दशरथ धमलाले सबै दलको संसदीय दलको कार्यालय व्यवस्थापन भइसकेको र संसद् बैठकका लागि सम्पूर्ण तयारी समेत पूरा भइसकेको बताएका हुन्। 

धमलाले सभा सञ्चालनका लागि आवश्यक प्राविधिक, व्यवस्थापकीय, प्रशासनिक कुराको व्यवस्थापन पनि सकिएको बताए। 

सरकारले पुस २५ गते दिउँसो १ बजे संसद् अधिवेशन आह्वान गरेको छ। उनले अन्य व्यवस्था तदारुक गरिएको भएपनि संसद्का पदाधिकारीहरूलाई दिइने सवारी साधनको भने अभाव रहेको बताए। 

उनले सचिवालयसँग स्रोत नभएको भन्दै उनले अर्थ मन्त्रालयसँग पटक–पटक स्रोत माग्दापनि उपलब्ध हुन नसकेको गुनासोसमेत गरे।

न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले भने, “अधिवेशन आह्वान हुन्छ भन्नेमा तयारी अवस्थामा छौँ। संसदीय दलका कार्यालयको व्यवस्थापन भइसकेको छ। सभा सञ्चालनका लागि आवश्यक प्राविधिक, व्यवस्थापकीय, प्रशासनिक दृष्टिकोणले हेर्ने सम्पूर्ण कुराहरू सकिएको छ । गर्नुपर्ने तयारी प्रायः सकिसकेका छौँ।”

सहायक प्रवक्ता धमलाले संघीय संसद् सचिवालयमा स्रोतको अभाव हुँदा पनि सरकार र अर्थ मन्त्रालय नजरअन्दाज गरेर बसेको आरोप लगाए।