सिनो व्यवस्थापन र पशुमा हानिकारक औषधिकाे प्रयाेगका कारण गिद्धकाे संख्या घट्दै भएकाे भन्दै पंक्षीविद्ले चिन्ता व्यक्त गरेका छन्।
लुम्बिनी– चौपायाको सिनो फाल्ने ठाउँमा झुण्डका झुण्ड देखिने गिद्ध हराएका छन्। १०–१५ वर्ष पहिलेसम्म अग्ला सिमलका रुख तथा गाउँघर नजिकै मृत चौपायाको सिनो फाल्ने ठाउँमा प्रकृतिका कुचीकार उपनामले परिचित गिद्धको बास हुन्थ्यो।
चौपायाको सिनोलाई गाड्ने तथा व्यवस्थितरूपमा राख्न थालिएपछि गिद्धलाई आहारा अपुग भएकाे लुम्बिनी सांस्कृतिक नगरपालिका–९ महिलवारका चराप्रेमी भोला गुप्ताले बताए। जैविक विविधता र पर्यावरणका लागि अत्यन्तै महत्वपूर्ण मानिने लोपोन्मुख पंक्षी हो, गिद्ध। चुच्चो, नाङ्गो तथा लामो गर्धन देख्दा घिनलाग्दो र भद्दा जिउडाल रहे पनि यो पर्यावरणका लागि आावश्यक पंक्षी हो। यसको ठूलो धार्मिक महत्व पनि छ।
गिद्धले जनावरको सिनो र फालेको मासुजन्य फोहर पदार्थ खाएर वातावरणलाई प्रदूषणमुक्त, दुर्गन्धमुक्त तथा रोगमुक्त बनाउन भूमिका खेलेको हुन्छ। गिद्ध आफैँले सिकार गर्दैन। यसले मरेका जनावरका मासु (सिनो) खाने गर्दछ। गिद्धले सिनो खाई हाम्रो वातावरण प्रदूषित, दुर्गन्धित र रोगमुक्त बनाउन मद्दत गर्छ। यो पर्यावरणीय चक्र, सनातन खाद्य शृङ्खलाको सन्तुलन र गतिशीलताको संवाहक पनि हो।
“केही वर्ष पहिला गिद्ध सिनो फालेको आधा घण्टाभित्रै पुगी सफा गर्दथे”, गुप्ताले भने, “अचेल गिद्ध नआउँदा गाउँ नै दुर्गन्धित हुने गरेको छ।” सिनोलाई कुकुर–स्यालले चिथोर्ने गर्दा वातावरण झनै दुर्गन्धित हुने गरेको उनकाे भनाइ छ। समयमा सिनो सफा नभए कुकुर, काग, स्याल र मुसाको सङ्ख्यामा वृद्धि हुन्छ। फलस्वरूप मानिसमा हैजा, आउँ, झाडापखाला, रेविज, प्लेग तथा चौपायामा एन्थ्रक्स, ब्रुसेलोसिस र टिबीजस्ता रोगको सङ्क्रमणले महामारीको रूप लिन सक्छ।
गिद्धको सङ्ख्या कम हुनु चिन्ताको विषय भएको लुम्बिनी सांस्कृतिक नगरपालिका–३ का पण्डित ओमकार पाण्डेले बताए। “गिद्धको सेवा र संरक्षण हाम्रो दायित्व हो”, उनले भने, “त्रेतायुगमा सीता हरण हुँदाको दुःखदायी समयमा जटायु र सम्पाती नामक गिद्धले भगवान रामलाई सहयोग गर्नुभएको थियो। गिद्ध प्राणीमात्रका लागि पूजनीय छ।” धार्मिक र सांस्कृतिक आस्थासँग पनि जोडिने गिद्धलाई शनिदेवताको वाहनका रूपमा पुजिन्छ। नेपालको माथिल्लो हिमाली क्षेत्रमा बस्ने लामा समुदायले मृतकको आत्मालाई स्वर्ग पुर्याउने दूतका रूपमा पुज्ने गर्छन्।
नेपाल, भारत र पाकिस्तानमा गरिएको विस्तृत अनुसन्धानबाट गिद्धको सङ्ख्यामा ह्रास आउनुको मुख्य कारण ‘डाइक्लोफेनेक’ भएको पशु चिकित्सक अशोक भण्डारीले बताए। “धेरै प्रकारका दुःखाइ र सुन्निने अवस्थामा औषधिका रूपमा मानिस र पशु दुवैमा डाइक्लोफेनेक औषधिको प्रयोग गरिन्छ”, उनले भने, “डाइक्लोफेनेक प्रयोग गरी उपचार गरिएका गाईवस्तुको सिनो खाएर गिद्ध मर्ने गरेको पाइएको छ।”
त्यसको विकल्पमा गिद्ध, अरु चराचुरुङ्गी र वन्यजन्तुमा असर नगर्ने मेलोक्सिक्याम र टोल्फेनामिक एसिड सुरक्षित मानिएको भण्डारीले बताए।सरकारले २०६३ जेठ २३ देखि पशु उपचारमा डाइक्लोफेनेकको प्रयोग, उत्पादन, आयात र बिक्रीमा प्रतिबन्ध लगाएको छ। मानिसले अन्य जनावरलाई लक्षित गरी सिनोमा विष राख्दा तथा अवैज्ञानिक ढङ्गबाट विस्तार गरिएका विद्युतीय तार आदिले पनि गिद्धलाई सङ्कटमा पारेको छ।
पंक्षीविद् भूपाल नेपालीले पर्यावरणीय सुरक्षाका लागि गिद्धको संरक्षण गर्न आवश्यक रहेकाे बताए। “हालसम्म विश्वमा २३ प्रजाति तथा दक्षिण एसियामा नौ प्रजातिका गिद्ध पाइन्छन्। ती सबै नौ प्रजातिका गिद्ध नेपालमै पाइन्छन्”, उनले भने। नेपाल पक्षी संरक्षण सङ्घका परियोजना अधिकृतसमेत रहेका नेपालीका अनुसार नौमध्ये छ प्रजातिका गिद्ध नेपालकै रैथाने हुन्, जसले नेपालमै गुँड बनाइ बच्चा कोरल्छन्। बाँकी तीन प्रजाति हिउँदे आगन्तुक र बटुवाका रूपमा नेपाल आउने गरेका छन्।
“डङ्गर, सानोखैरे, सुन र लामो ठुँडे प्रजातिका गिद्ध आइयूसीएनको सूचीमा अति सङ्कटापन्न तथा सेतो, हिमाली, राज र हडफोरगिद्ध सङ्कटापन्न तथा खैरो गिद्ध सामान्य अवस्थामा छन्”, उनले भने। पछिल्लो समय नेपालमा डङ्गर गिद्धको सङ्ख्या बढेकाे उनले सुनाए। वन फडानी तथा औद्योगिक प्रदूषण र जलाधारको ह्रासका कारण गिद्धमात्रै नभई नेपालमा पाइने ८९० मध्ये १४९ प्रजातिका चरा लोपोन्मुख पंक्षीको सूचीमा परेकाले संरक्षण आवश्यक रहेको नेपालीको भनाइ छ।
गिद्धको संरक्षण तथा प्रवद्र्धनका लागि २०६५ सालमा नेपाल पंक्षी सङ्घ, प्राकृतिक संरक्षण कोष, चिनारीको प्राविधिक पक्ष र दातृ निकायको सहयोगमा सञ्चालित गिद्ध प्रजनन केन्द्र स्थापित छन्। केन्द्रमा हुर्काइएका गिद्धलाई सुरक्षित प्राकृतिक वातावरणमा पुनःबास गराउनु परियोजनाको प्रमुख उद्देश्य हो। यसका लागि वातावरणमा डाइक्लोफेनेक र अन्य हानिकारक औषधिको प्रयोग र सिनोमा यसको अवशेष शून्य हुनु जरुरी रहेकाे पंक्षीिवद् बताउँछन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
