कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान

कोशी प्रदेशका तराई तथा मधेश प्रदेशको केही स्थानमा हुरीबतासको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

काठमाडौँ– देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थान आसपास र पूर्वमा सरदर स्थानको केही उत्तरतर्फ रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो देशभर साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका केही तथा अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। 

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । उच्चपहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातसमेत हुनेछ।

राति देशभर साधारणतया बदली रहनेछ। कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडीमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। 

कोशी प्रदेशका तराई तथा मधेश प्रदेशको केही स्थानमा हुरीबतासको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।