सन्दीपविरुद्ध जाहेरी दिने किशोरी जन्मिएको अस्पतालबाट कागजात झिकाउन आदेश

काठमाडौँ जिल्ला अदालतले सन्दीप लामिछानेविरुद्ध जाहेरी दिने किशोरीको उमेर विवाद निरूपण गर्न उनको जन्म भएको अस्पतालबाट कागजात झिकाउन आदेश दिएको छ।

काठमाडौँ– अदालतले नेपाली क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जाहेरी दिने किशोरीको उमेर विवाद निरूपण गर्न उनको जन्म भएको अस्पतालबाट कागजात झिकाउन आदेश दिएको छ।

मंगलबार काठमाडौँ जिल्ला अदालतले सन्दीप लामिछानेविरुद्ध जाहेरी दिने किशोरीको उमेर विवाद निरूपण गर्न उनको जन्म भएको अस्पतालबाट कागजात झिकाउन आदेश दिएको हो।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले अस्पतालबाट जन्म दर्ताको कागजात झिकाउने आदेश दिएको सन्दीप पक्षका अधिवक्ता सरोजकृष्ण घिमिरेले बताए। 

"सन्दीप लामिछानेविरुद्धको मुद्दाको बारेमा काठमाडौँ जिल्ला अदालतले सम्बन्धित पक्षलाई बुझ्न, पीडित भनिएकी युवतीको जन्मको बारेमा सम्बन्धित कागजातहरू सम्बन्धित कार्यालयबाट मगाउनु भन्ने आदेश भयो", उनले भने। 

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले अदालतले क्रिकेटर देव खनाललाई सन्दीप र पीडित भनिएकी किशोरीबीच सम्पर्क गराएकोमा बकपत्र दिन बोलाइएको र किशोरीको मेडिकल टेस्ट गर्ने डाक्टरलाई पनि बकपत्रका लागि बोलाउन आदेश दिएको बताए। उनले अदालतले पीडित भनिएकी युवतीका दाजुले किशोरी वीरगन्जमा जन्मिएको भनेपछि सम्बन्धित अस्पतालबाट कागजात झिकाउन आदेश दिएको पनि बताए।

अधिवक्ता घिमिरेले सन्दीप लामिछानेविरुद्धको जाहेरीलाई जतिसक्दो चाँडो टुंगोमा पुर्‍याउने बताए। उनले अबको करिब ३ महिनासम्ममा सबै विषय टुंगिने दाबी गरे।