दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक योलको गिरफ्तारी अदालतद्वारा अनुमोदन

दक्षिण कोरियाको अदालतले बिहीबार पूर्वराष्ट्रपति युन सुक योललाई डिसेम्बरको मार्सल लसम्बन्धी प्रमाण नष्ट गर्ने जोखिम रहेका भन्दै नयाँ गिरफ्तारीका लागि अनुमति दिएको छ।

तस्वीर : एएफपी

दक्षिण कोरियाको एक अदालतले बिहीबार पूर्वराष्ट्रपति युन सुक योलको नयाँ गिरफ्तारीलाई अनुमोदन गरेको छ। डिसेम्बरमा उनले लगाएको संक्षिप्त मार्सल लसँग सम्बन्धित अभियोगमा प्रमाण नष्ट गर्ने जोखिम रहेको विशेष अभियोजकको दाबी स्वीकार गर्दै अदालतले यो निर्णय गरेको हो।

सियोल केन्द्रीय जिल्ला अदालतले जारी गरेको गिरफ्तारी वारेन्ट पछि युनलाई राजधानी नजिकैको हिरासत केन्द्रमा फिर्ता पठाइएको छ। गत मार्चमा रिहा भएको चार महिनापछि उनलाई पुनः हिरासतमा लिइएको हो। यसअघि सोही अदालतले जनवरीमा उनको गिरफ्तारी खारेज गर्दै हिरासतमा नराखी विद्रोहको मुद्दामा खडा हुन अनुमति दिएको थियो।

युनको आपराधिक मुद्दा विशेष अभियोजक चो युन–सुकको नेतृत्वमा रहेको अनुसन्धानकर्ताको टोलीले हेरिरहेको छ। टोलीले युनमाथि आधिकारिक कर्तव्यमा बाधा पुर्‍याउने, शक्तिको दुरुपयोग र आधिकारिक कागजात जालसाजी गर्ने लगायतका थप आरोप लगाउने तयारी गरिरहेको छ।

विशेष अभियोजकको टोलीले अदालतमा गिरफ्तारी वारेन्टको लागि अनुरोध पेश गर्नुअघि युनलाई दुई पटक सोधपुछ गरेको थियो। युनका वकिलहरूले भने गिरफ्तारी अनुरोधलाई ‘अत्यधिक र आधारहीन’ भनेर टिप्पणी गरेका छन्। संवैधानिक अदालतले युनको महाभियोगलाई समर्थन गरेपछि गत अप्रिलमा उनलाई औपचारिक रूपमा पदबाट हटाइएको थियो।

बुधबार दिउँसो विशेष अभियोजकको अनुरोधको समीक्षाका लागि अदालत पुगेका युनले पत्रकारहरूको प्रश्नको जवाफ दिएनन्। करिब सात घण्टा चलेको सुनुवाइपछि अदालतको निर्णय पर्खन उनलाई हिरासत केन्द्रमा लगिएको थियो।

युनको यो नयाँ गिरफ्तारी सम्भावित रूपमा महिनाऔँ वा त्यसभन्दा लामो अवधिको हिरासतको शुरूआत हुन सक्छ। उनलाई शुरूमा २० दिनसम्म हिरासतमा राख्न सकिनेछ र यस अवधिमा विशेष अभियोजकले उनलाई थप आरोपमा अभियोग लगाउने लक्ष्य राखेका छन्। यदि युन नयाँ अभियोगमा दोषी ठहर भएमा अदालतको प्रारम्भिक फैसला नआउन्जेल ६ महिनासम्म हिरासतमा रहन सक्छन्। त्यस अदालतले उनलाई दोषी ठहर गरी जेल सजाय सुनाएमा, मुद्दा उच्च अदालतहरूमा जाने सम्भावना रहेकाले युन जेलमै बस्नुपर्ने हुन सक्छ।

चोको टोलीका एक वरिष्ठ अनुसन्धानकर्ता पार्क जी–यङले शुक्रबार युनलाई फेरि सोधपुछ गर्ने योजना रहेको बताएका छन्। बिहीबार सियोल अदालतमा भएको विद्रोहको आरोपमा उनको पहिलेको अभियोगको सुनुवाइमा युन अनुपस्थित थिए र उनका वकिलहरूले उनको अनुपस्थितिका लागि तत्काल कुनै स्पष्टीकरण दिएका थिएनन्।

युनले डिसेम्बर ३ मा ‘राज्यविरोधी’ र उदारवादीविरोधीलाई आफ्नो अजेन्डामा बाधा पुर्‍याउन आफ्नो विधायी बहुमत प्रयोग गरेको आरोप लगाउँदै आफ्नो मार्सल ल लगाउने कार्यलाई आवश्यक कदम भनेर वर्णन गरेका थिए। तर, नेसनल एसेम्बलीमा भारी सशस्त्र सैनिकको अवरोध तोड्दै सांसदको कोरमले उक्त कदम हटाउन मतदान गरेपछि युनको आदेश केही घण्टा मात्र टिक्यो।

युनलाई डिसेम्बर १४ मा सांसदहरूले महाभियोग लगाएका थिए। जनवरी २६ मा सरकारी अभियोजकले उनलाई विद्रोहको प्रयासको मुख्य व्यक्ति भएको आरोप लगाए। उनको शक्ति कब्जालाई विधायिका र निर्वाचन कार्यालयहरू कब्जा गर्ने र राजनीतिकविरोधीलाई हिरासतमा लिने अवैध प्रयासको रूपमा व्याख्या गरिएको थियो। यी आरोपमा दोषी ठहर भएमा मृत्युदण्ड वा आजीवन कारावाससम्मको सजाय हुन सक्छ।

युनले आवश्यक कानूनी प्रक्रिया अनुसरण नगरी मार्सल ल लागू गरेको आरोपको पनि सामना गरिरहेका छन्। उनीमाथि औपचारिक क्याबिनेट बैठकद्वारा छलफल नगरी जनवरीको शुरूमा कानून प्रवर्तनद्वारा उनको निवासमा हिरासतमा राख्ने प्रारम्भिक प्रयासलाई रोक्न निजी सेनाजस्तै राष्ट्रपति सुरक्षा बललाई गैरकानूनी रूपमा तैनाथ गरेको आरोप पनि लगाइएको छ।