१००औँ टेस्ट खेलेका वार्नरले बनाए दोहोरो शतक

अस्ट्रेलियाली ब्याट्सम्यान डेभिड वार्नरले १००औँ टेस्ट खेल्दै २५४ बलमा १६ चौका र २ छक्का प्रहार गर्दै २०० रन बनाएका छन्।

काठमाडौँ– अस्ट्रेलियाली ब्याट्सम्यान डेभिड वार्नरले १००औँ टेस्ट खेल्दै मेलबर्नमा जारी बक्सिङ-डे टेस्टको दोस्रो दिन मंगलबार दक्षिण अफ्रिकाविरुद्ध दोहोरो शतक प्रहार गरेका छन्। उनको यो तेस्रो दोहोरो शतक हो।

वार्नरले २५४ बलमा १६ चौका र २ छक्का प्रहार गर्दै २०० रन बनाएका थिए। दोहोरो शतक प्रहार गर्नेबित्तिकै उनी घाइते भए र रिटायर्ड हर्ट हुँदै क्रिजबाट बाहिरिए।

अस्ट्रेलियाले दोस्रो दिनको पहिलो इनिङ्सको खेल सकिँदासम्म तीन विकेट गुमाएर ३८६ रन बनाएको छ। अस्ट्रेलियाले १९७ रनको अग्रता लिएको छ। ट्राभिस हेड ४८ बलमा ७ चौका र १ छक्का प्रहार गर्दै ४८ रनमा अविजित छन्। यता, एलेक्स केरी ९ रन बनाएर अविजित छन्।

क्यामरून ग्रीन ६ रनको व्यक्तिगत स्कोरमा रिटायर हर्ट भएका थिए। त्यसअघि स्टिभ स्मिथ १६१ बलमा ९ चौका र १ छक्का प्रहार गर्दै ८५ रनमा आउट भएका थिए।

दक्षिण अफ्रिकाका लागि कागिसो रबाडा र एनरिच नोर्त्याले १/१ विकेट लिए। पहिलो दिन दक्षिण अफ्रिकाले पहिलो इनिङ्समा १८९ रन बनाएको थियो।

वार्नरले १ हजार ८९ दिनपछि शतक बनाएका हुन्। यो वार्नरको २५औँ टेस्ट शतक हो। वार्नरले ३ जनवरी २०२० मा न्युजिल्यान्डविरुद्ध सिड्नी मैदानमा शतक बनाएका थिए।

योसँगै वार्नरले ८ हजार रन पूरा गरेका छन्। उनी अस्ट्रेलियाका लागि सर्वाधिक रन बनाउने आठौँ खेलाडी बनेका छन्। उनी घरेलु मैदानमा ५ हजार रन बनाउने पाँचौँ अस्ट्रेलियाली ब्याट्सम्यान पनि बनेका छन्। मेलबर्नमा १००औँ टेस्ट खेल्ने उनी तेस्रो ब्याट्सम्यान हुन्। उनीअघि ब्रायन लारा र सौरभ गांगुलीले मेलबर्नमा आफ्नो १००औँ टेस्ट खेलेका थिए।