पीएसजीमै बस्न राजी भए मेस्सी

१८ महिनादेखि पीएसजीसँग आबद्ध रहेका स्टार फरवार्ड लिओनल मेस्सी २०२४ सम्म सोही क्लबमा रहने भएका छन्।

तस्वीरः पञ्च

अर्जेन्टिनालाई तेस्रोपटक विश्व च्याम्पियन बनाएका स्टार फरवार्ड लिओनल मेस्सीले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)सँग सन् २०२४ सम्मको सम्झौता गर्ने भएका छन्। 

योसँगै क्याटलान क्लब बार्सिलोना पुनः फर्किने उनको सम्भावना तत्कालका लागि स्थगित भएको छ। पीएसजीसँग मेस्सीको सम्झौता आगामी समरमा सकिँदैछ। उनी पछिल्लो १८ महिनादेखि पीएसजीसँग आबद्ध छन्।

अर्जेन्टिनालाई विश्व च्याम्पियन बनाएपछि बार्सिलोना क्लबका अध्यक्ष जोन लापोर्टाले मेस्सीलाई बार्सिलोना फर्काउन चाहेको कुरा सार्वजनिक भएको थियो। 

त्यसपछि मेस्सी पुनः बार्सिलोना फर्किने समाचारहरू प्रकाशित हुँदै आएका थिए। तर, अब मेस्सीले पीएसजीसँग सन् २०२४ सम्मको सम्झौता गर्ने भएका छन्।

यसको मुख्य कारण च्याम्पियन्स लिगको दौडमा पीएसजीको अस्तित्व नै हो। पीएसजीसँगको सम्बन्धले च्याम्पियन्स लिगको विजेता बन्ने उनको सपना फेरि एकपटक साकार पार्न सक्छ। यही कारणले गर्दा उनले २०२४ सम्म क्लबसँग सम्झौता गर्न लागेका हुन्। मेस्सी बिदाबाट फर्केपछि सम्झौता हुने बताइएको छ।

मेस्सीले पीएसजीसँग थप सम्झौता गर्नुको अर्थ उनी बार्सिलोनामा आबद्ध हुन सक्दैनन् भन्ने होइन। उनी २०२४ पछि बार्सिलोना जान सक्ने सम्भावना छ। "हामी पक्कै पनि उनलाई एक न एक दिन क्लबमा फर्काउने छौँ", लापोर्टा भन्छन्।

-एजेन्सीको सहयोगमा