विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। 

काठमाडौँ– देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो सबै प्रदेशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी स्थानमा आंशिक बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। 

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक-दुई स्थानमा भारी वर्षासमेत हुने महाशाखाले जनाएको छ। 

यसैगरी, राति देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। 

कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।