कोरियाबाट ल्याइएका शुद्ध नस्लका गाई किसानलाई वितरण

हेफर इन्टरनेशनलको पहलमा नेपाल ल्याइएका शुद्ध नस्लका ६३ वटा गाई र बहर सिन्धुलीका किसानलाई हस्तान्तरण गरिएको छ।

काठमाडौँ- दक्षिण कोरियाबाट शतप्रतिशत शुद्ध नस्लका गाई नेपालमा किसानहरूलाई वितरण गरिएको छ।

हेफर इन्टरनेशनल नेपालको पहलमा नेपाल सरकारको स्वीकृतिमा हेफर कोरियाबाट शतप्रतिशत शुद्ध नस्लका गाई नेपालमा ल्याएर कमलामाई नगरपालिका सिन्धुलीका किसानलाई वितरण गरिएको हो। 

दक्षिण कोरियाबाट दुईपटक गरेर होलिस्टिन फ्रिजनका ६ वटा बाच्छा र ५७ वटा कोरली गाई गरी ६३ वटा कोरली गाई र बहर नेपाल ल्याएर वितरण गरिएको हो। 

हेफरका अनुसार अझै होलिस्टिन फ्रिजनका २२ वटा कोरली गाई आउन बाँकी छ। हेफर कोरियाबाट प्राप्त गाई पुस ७ गते नै कोरिया सरकारको तर्फबाट नेपाल सरकारलाई हस्तान्तरण गरी नेपाल सरकारले पौष ९ गते कमलामाई नगरपालिका सिन्धुलीलाई हस्तान्तरण गरी गाई सिन्धुली पुर्‍याएको छ।

उत्पादनको हिसाबले कोरियाका टप (परीक्षण भएका) २ वटा बहर पनि केही दिनपछि आउने हेफरले बताएको छ। 

नेपालमा पहिलो पटक शुद्ध नस्लका धेरै गाई आएको हेफरले बताएको छ। हेफर इन्टरनेशनल नेपालका भेटनरी डाक्टर भोला श्रेष्ठले नेपाली स्थानीय गाईलाई विस्थापित गर्ने नभई नस्ल सुधार गरी संरक्षण गर्ने उद्देश्यले गाईहरू ल्याएको बताए। उनले दक्षिण कोरियाबाट ल्याएका शतप्रतिशत शुद्ध नस्लका गाई नस्ल सुधारको लागि ल्याएको बताए। 

त्यस्तै, नेपालको स्थानीय गाईको संरक्षण गर्ने काम नेपाल कृषि अनुसन्धान परिषद् पशु सेवा विभागले गरिरहेको उनले बताए। नेपालमा रहेको ७३ लाख गाई मध्ये करिब २० प्रतिशत मात्रै गाई उन्नत जातका रहेको उनको भनाइ छ। डा.श्रेष्ठले नस्ल सुधारका लागि विदेशबाट गाई ल्याउँदैमा स्थानीय प्रजातिका गाई लोप नहुने जिकिर गरे। 

उनले स्थानीय गाई लोप हुन नदिनको लागि राष्ट्रिय पशु प्रजनन तथा आनुवंशिक अनुसन्धान केन्द्र र पशु सेवा विभागले स्थानीय गाईको आनुवंशिक स्रोतहरूको संरक्षण गरी नस्ल सुधारको काम समेत गरिरहेको बताए। नेपालमा दूध उत्पादन बढाउन आवश्यक रहेको भन्दै उनले शुद्ध नस्ल भएका उत्पादन क्षमता बढी भएका गाई ल्याएको बताए। 

दूधको उत्पादकत्व बढाउन वंशाणुगत क्षमता तथा आहारा,स्वास्थ्य र पालनपोषणमा भर पर्ने बताए। उनले कोरियाबाट आएका गाई जेनेटिक रूपमा उच्च उत्पादकत्व भएका बहरलाई न्युक्यलेस हटको रूपमा स्थापना गरेर उत्पादन बढाउने उद्देश्य रहेको उनको भनाइ छ। 

डा.श्रेष्ठले नस्ल राम्रो भएको गाई ल्याएर पालनपोषण नेपालमा भएको गाईको भन्दा पनि नराम्रो हुने भन्दै किसानलाई तालिम समेत दिएको बताए। 

उनले कोरियन गाई पाल्नको लागि सिन्धुलीका किसानलाई समूहमा आबद्ध गरेर गाई वितरण गरिएको बताए। 

किसानहरूलाई उन्नत गाई पाल्ने प्रविधि,स्वच्छ दूध उत्पादन प्रविधि र आहारा व्यवस्थापनको बारेमा तालिम दिएको बताउँदै डा. श्रेष्ठले हेफरले कोरियन गाईको हेरचाहको लागि सिन्धुलीमा दक्ष भेटनरी डाक्टर खटाउने बताए। 

उनले बर्दिबासदेखि बिपी राजमार्ग डेरी पकेट एरिया बन्न नसक्ने आधार मानेर,सिन्धुलीका किसानको उत्साह देखेर,नगरपालिकाको प्राविधिक सहयोग र सिन्धुलीबाट तराई र काठमाडौँको बजारमा सहज रूपमा दूध पुग्नसक्ने देखेर सिन्धुली छनोट गरिएको बताए। सिन्धुली नै सबैभन्दा उपयुक्त नभए पनि किसानहरूको उत्साहको कारण पनि छनोट गरिएको उनको भनाइ थियो। 

गाईहरूलाई आवश्यक पर्ने शुद्ध नस्लको सिमेन (वीर्य) पनि कोरियाबाटै प्राप्त भएको छ। यी गाईहरू क्षमता ८ देखि १६ हजार लिटर प्रतिबेत रहेको छ।