पोखरामा आयोजित नेपाल लिट्रेचर फेस्टिबल सम्पन्न भएको छ। गजलकार प्रदीप रोदनको विशेष प्रस्तुतिसँगै महोत्सव सोमबार साँझ सम्पन्न भएको हो।
‘कहिलेकाहीँ यसरी पनि रहर पुग्छ
एक प्रेमी सपनामा प्रेमिकाको घर पुग्छ’
गजलकार प्रदीप रोदन सोमबार साँझ पोखरामा गजल सुनाउँदै थिए। उता सिंहदरबारमा नवगठित मन्त्रिपरिषद्को बैठक बस्दै थियो। सपनामा भुलिरहेको प्रेमीको मनादेशलाई गजलको पहिलो शेरमा उतारेका रोदनले दोस्रो शेरमा भने राजनीतिकर्मीमाथि झटारो हान्न भ्याए।
‘बा, उनीहरू कसरी पुग्छन् सरकारमा
बाबु, जसरी आँखामा कसिंगर पुग्छ’
फेवा किनारको बाराहीघाटमा आयोजित छ दिन लामो साहित्य महोत्सवको मैजारो रोदनका गजल सँगसँगै भयो। आधा घण्टा महफिलमा जमेका रोदनले आफ्ना चर्चित गजल पोखरेली साहित्यप्रेमीमाझ सुनाए।
‘जसले जोगायो उसैका लागि फूल मर्न सक्दैन
काँडाले चाहेर पनि आफैँलाई कोर्तन सक्दैन
प्रेमिकाको सल र मफलर पासो बन्न सक्ला
आमाको पछ्यौराले यस्तो पाप गर्न सक्दैन
हर साँझ गिलासमा सराब भर्न सक्छ छोरो
बा–आमाको ओँठमा हाँसो किन भर्न सक्दैन’
विषय गाम्भीर्यता, समयचेत, जीवनको मूल्यबोध र समाज चित्रणका दायरामा रोदन उत्कृष्ट गजल लेख्न सक्ने प्रतिभा हुन्। ‘रोदन महफिल’ नाम दिइएको उक्त कार्यक्रमका प्रस्तोता अमृत सुवेदीले रोदनले नेपाली गजललाई नयाँ उचाइ दिएको बताए।
“उहाँ आफूमात्र चर्चाको शिखरमा पुग्नुभएको छैन, गजललाई पनि उचाइ दिनुभएको छ”, सुवेदीले भने। गोरखामा शिक्षण पेशा गरिरहेका रोदन समकालीन नेपाली साहित्यमा अब्बल गलजलकारका रूपमा चिनिन्छन्। आयोजक ‘बुकवर्म फाउण्डेशन’ले दुई वर्षअघि पोखरामै भएको साहित्य महोत्सवमा पनि उनलाई उभ्याएको थियो।
रोदनको गजल प्रस्तुतिसँगै दशौँ संस्करणको साहित्य महोत्सव सकिएको आयोजक सदस्य केशवशरण लामिछानेले बताए। सोमबार चलेका दसवटा सत्रमा रानजीतिज्ञदेखि कवि, लेखकसम्मले अन्तरसंवाद गरेका थिए।
‘राजनीतिमा समाजको ऐना’ सत्रमा नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा प्रस्तुत भएका थिए। अन्य सत्रमा संघीयता, अर्थतन्त्र, गीतमा आञ्चलिकता, रैथाने उत्पादन इत्यादि विषयमा छलफल गरिएको थियो।
गत बुधबार कवि नवराज पराजुली र गायक उज्जवल सागरको प्रस्तुतिबाट शुभारम्भ भएको महोत्सव गजलकार रोदनको प्रस्तुतिसँगै समापन भएको हो। महोत्सवमा देश–विदेशका कवि, लेखक, राजनीतिज्ञ, कलाकार, सङ्गीतकर्मीलगायत गरी दुई सय बढी विशिष्ट व्यक्ति सहभागी थिए।
पचास बढी सत्रमा सम्बन्धित क्षेत्रका ज्ञाता र विषय विज्ञले कला, साहित्य, संगीत, चलचित्र, राजनीति, अर्थतन्त्र, खेलकुद, पर्यावरण, प्राणी जगतलगायत विषयमा बहस र संवाद गरेका थिए।
अर्थशास्त्री प्रा डा अच्युत वाग्लेको आउँदो दशको नेपालमाथिको विद्वत प्रवचनदेखि पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको ‘राजनीति बाहिरको जीवन’सम्मका सत्रले महोत्सवलाई बहुआयाम र रोचकता प्रदान गरेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
