थाइल्यान्डका प्रधानमन्त्री सिनावात्रा निलम्बित

मंगलबार संवैधानिक अदालतले कम्बोडियासँगको कूटनीतिक विवादमा सिनावात्रामाथि छानबिन शुरू गर्दै निलम्बन गरेको छ।

थाइल्यान्डका प्रधानमन्त्री पेटोङटार्न सिनावात्रा निलम्बित भएकी छन्। मंगलबार संवैधानिक अदालतले कम्बोडियासँगको कूटनीतिक विवादमा उनीमाथि छानबिन शुरू गर्दै निलम्बन गरेको हो।

“संवैधानिक अदालतले ७–२ को बहुमतले प्रतिवादीलाई जुलाई १ देखि आफ्नो निर्णय नगरेसम्म प्रधानमन्त्रीको दायित्वबाट निलम्बन गर्छ,” विज्ञप्तिमा भनिएको छ।

३८ वर्षीया सिनावात्रालाई उनका बुबा एवं पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राले शाही मानहानिको आरोपमा फौजदारी अदालतको सामना गर्नुपरेको दिन नै झट्का लागेको छ।

कम्बोडियासँग लामो समयदेखि चलिरहेको क्षेत्रीय विवाद मे महिनामा सीमापार झडपमा परिणत हुँदा एक कम्बोडियाली सैनिकको मृत्यु भएको थियो।

उक्त तनावबारे कम्बोडियाका पूर्वनेता हुन सेनसँग टेलिफोन वर्ताका सिनावात्राले हुन सेनलाई ‘काका’ भनेको र एक थाई सैन्य कमान्डरलाई आफ्नो ‘प्रतिद्वन्द्वी’ भनेर उल्लेख गरेको अडियो बाहिरिएको थियो।

त्यसपछि सिनावात्रा विवादमा तानिएकी थिइन्। सांसदहरूले उनलाई कम्बोडियासामु झुकेको र सेनालाई कमजोर बनाएको आरोप लगाएका थिए। (रासस/एएफपी)