रौनकको शतकमा नेपालले भुटानलाई दियो ३५९ रनको लक्ष्य

नेपालका रौनक श्रीवास्तवले सर्वाधिक १६८ रन बनाए। १३२ बल खेलेका उनले १६ चौका र ५ छक्का प्रहार गरे। 

काठमाडौँ– मलेसियामा जारी एसीसी मेन्स यू१६ इस्ट जोन क्रिकेटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले भुटानलाई ३५९ रनको लक्ष्य दिएको छ। 

क्वालालम्पुरस्थित सेलांगर टर्फ क्लबमा टस जितेर पहिले ब्याटिङको निर्णय लिएको नेपालले निर्धारित ५० ओभारमा ५ विकेट गुमाउँदै ३५८ रन बनाएको हो। नेपालका रौनक श्रीवास्तवले सर्वाधिक १६८ रन बनाए। १३२ बल खेलेका उनले १६ चौका र ५ छक्का प्रहार गरे। 

जोय थापाले ६१, सिवान्श बजगाईंले ५४ तथा सुगम बुढाथोकीले ३५ रनको योगदान दिए। भुटानमा संगय दोर्जीले ३ विकेट लिए।

नेपालले यसअघि खेलेका तीनवटै खेल जितेको छ। पहिलो खेलमा सिंगापुरलाई ६ तथा दोस्रो खेलमा जापानलाई ९ विकेटले हराएको थियो। तेस्रो खेलमा इन्डोनेसियाविरुद्ध ३७० रनको जित दर्ता गरेको थियो।

समूह ‘ए’मा नेपालको ३ खेलमा ६ अंक छ। सिंगापुरको ४ खेलबाट ३ जितसहित ६ अंक छ। दुवै टोली सेमिफाइनलमा पुगिसकेका छन्।