विष्णुमती करिडोर क्षेत्रका अनधिकृत संरचना हटाउँदा काठमाडौँ महानगरका कर्मचारीले फेला पारेको शंखधर साख्वाको मूर्ति पूरातात्त्विक महत्त्वको नभएको संस्कृतिविद्हरूले बताएका छन्।
काठमाडौँ– गएको पुस १० गते बिहान कालीमाटीस्थित विष्णुमती करिडोर क्षेत्रमा काठमाडौँ महानगरपालिकाका नगर प्रहरी खटिएका थिए। उक्त करिडोर क्षेत्रमा बनेका अनधिकृत संरचना हटाउन महानगर सक्रिय भएको थियो। परोपकार पुलमुनि रहेको एक अनधिकृत संरचना हटाउने क्रममा नगर प्रहरीले एउटा प्रस्तरको मूर्ति भेट्टायो।
हातमा शंख लिएको उक्त प्रस्तरको मूर्ति शंखधर शाख्वाको भएको अनुमान छ। मूर्तिलाई हाल आफ्नै कार्यकक्षमा राखेको काठमाडौँ महानगर प्रहरी प्रमुख एसपी राजु पाण्डेले बताएका छन्।
काठमाडौँका विभिन्न सार्वजनिक तथा निजी क्षेत्रमा बनाइएका अनधिकृत संरचना हटाउने क्रममा पटकपटक विवादमा मुछिएको महानगरपालिकालाई यो घटनाले टेवा मिलेको छ। महानगर प्रहरी प्रमुख पाण्डे भन्छन्, “हामी ड्युटीमा खटिएको बेला उक्त मूर्ति फेला पारेका हौँ। मूर्ति पुलमुनि रहेको टहरा भत्काउने क्रममा भेटिएको हो। यसअघि हामीले त्यहाँ रहेका एक जना बूढा मान्छे र गाईगोठ हटाएका थियौँ।”
ती वृद्धले उक्त मुर्ति लामो समयदेखि त्यही स्थानमा रहेको जवाफ दिएको पाण्डे बताउँछन्। महानगरपालिकाले उक्त मूर्ति पुरातत्व विभागलाई दिने उनले जानकारी दिए। “मूर्ति पुरातत्व विभागमा दिन मेयरज्यूको निर्देशन छ। स्थानीयसँगको समन्वयमा मूर्तिको उचित व्यवस्थापन विभागले गर्नेछ। यसबाहेक मूर्तिको विषयमा अन्य केही भन्नु छैन”, उनले भने।
विभागलाई हालसम्म उक्त मूर्तिको विषयमा कुनै प्रकारको पत्राचार नभएको विभागका प्रवक्ता रामबहादुर कुँवर बताउँछन्।
नेपाल हस्तकला महासंघका उपाध्यक्षसमेत रहेका प्रस्तरविज्ञ प्रताप शाक्य उक्त मूर्ति महत्वपूर्ण नरहेको बताउँछन्। उनी भन्छन्, “मूर्तिको सौन्दर्य खासै छैन। प्रतिमा लक्षण पनि नरहेको कारण पुरातात्विक महत्व नरहेको मान्न सकिन्छ।”
उक्त मूर्ति १५–२० वर्षभन्दा पुरानो नभएको अभियन्ता अनिल तुलाधर बताउँछन्। “मूर्ति भेटिनु आफैमा सकारात्मक समाचार हो। तर, यहाँ सयाँै वर्ष पुराना मूर्ति हराएका छन्। बुंगमतीमा हराएको मूर्तिका विषयमा म अध्ययन र लेख गर्दै आएको छु”, तुलाधर भन्छन्, “अहिलेसम्म २०–३० वटा मूर्ति बुंगमतिबाट हराइसके, त्यस विषयमा स्थानीय तहको पहल देखिँदैन।”
भेटिएको मूर्ति कुनै समय त्यहाँ रहेको शंखधर उद्यानको हुनसक्ने सम्पदा अभियन्ता यादवलाल कायस्थले आफ्नो फेसबुक पेजमा उल्लेख गरेका छन्। यस्ता सामान्य मूर्तिलाई विभागमा हस्तान्तरण गर्नु नपर्ने उनले जनाएका छन्। विभागमा हस्तान्तरण गर्नेभन्दा पनि जुन उद्यानमा थियो त्यहीँ राख्नुपर्ने अभियन्ताहरूको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
