नेपालसँग लाओस ९–० गोल अन्तरले पराजित

नेपालले एएफसी महिला एशिया कप छनोटमा लाओसलाई ९-० ले पराजित गर्दा कप्तान सावित्रा भण्डारी 'साम्बा'ले एक्लै चार गोल गरिन्।

काठमाडौँ– उज्वेकिस्तानमा जारी एएफसी महिला एशिया कप छनोटअन्तर्गत आइतबार भएको खेलमा नेपालले लाओसमाथि ९–० गोल अन्तरको प्रभावशाली जित निकालेको छ। यो जितमा नेपाली टोलीले पहिलो हाफमा दुई तथा दोस्रो हाफमा सात गोल गरेको थियो।

यस खेलमा पहिलो पटक कप्तानको जिम्मेवारी सम्हालेकी सावित्रा भण्डारी ‘साम्बा’ले एक्लै चार गोल गर्दै उत्कृष्ट प्रदर्शन गरिन्। उनले पहिलो हाफमा एक गोल गरेकी थिइन् भने दोस्रो हाफमा थप तीन गोल थपेर ह्याट्रिकसहित चार गोल पूरा गरिन्। साम्बा नेपाली महिला फुटबल टोलीको ११औँ कप्तान पनि बनेकी छिन्।

साम्बाको चार गोलबाहेक अनिता बस्नेत, अनिता लिम्बू, लक्ष्मी कुमारी घिसिङ र अनिता केसीले एक-एक गोल गर्दै नेपालको फराकिलो जित सुनिश्चित गरे। साथै, एक गोल नेपालले उपहारस्वरूप पाएको थियो।

नियमित कप्तान तथा गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बालाई आइतबारको खेलमा आराम दिइएको थियो। नेपाल रहेको समूह ‘एफ’मा लाओसका साथै आयोजक उज्वेकिस्तान र श्रीलंका पनि रहेका छन्।

नेपालले अब आफ्नो दोस्रो खेल जुलाई २ मा श्रीलंकासँग खेल्ने छ।