मृत्युपछि सामाजिक सञ्जाल खातालाई स्मरणीय राख्ने वा मेटाउने विकल्पहरू भए पनि नेपालमा यसको प्रयोग कम देखिन्छ। किन आवश्यक छ त डिजिटल व्यवस्थापन?
काठमाडौँ– फेसबुकमा पुराना तस्वीर, इन्स्टाग्राममा रमाइला पल, ह्वाट्सएपमा महत्त्वपूर्ण कुराकानी— यी सबै हाम्रो डिजिटल पहिचानका अंश हुन्। के हामीले कहिल्यै सोचेका छौँ, हाम्रो मृत्युपछि यी डिजिटल सम्पत्तिको व्यवस्थापन कसरी हुन्छ?
यो प्रश्न हामीमध्ये धेरैको मनमा उठ्न सक्छ, किनभने विश्वभर दैनिक लाखौँ मानिसको मृत्यु हुन्छ र तीमध्ये धेरै सामाजिक सञ्जाल प्रयोगकर्ता पनि हुन्छन्। अनि उनीहरूको जीवनको ठूलो हिस्सा सामाजिक सञ्जालमा कैद भएको हुन्छ।
हाल विश्वको जनसंख्या करिब ८.४ अर्ब छ, जसमध्ये करिब ५.२४ अर्ब (६२.३ प्रतिशत) सामाजिक सञ्जाल प्रयोगकर्ता छन्। मेटाले मात्रै सन् २०२५ को पहिलो त्रैमासमा आफ्ना मुख्य एप फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप र म्यासेन्जरमा दैनिक ३.४३ अर्ब प्रयोगकर्ता पुगेको जनाएको छ। विभिन्न अनुसन्धानअनुसार दैनिक औसत एक लाख ५० हजार मानिसको मृत्यु हुन्छ। यदि ६२.३ प्रतिशतको अनुपात कायम रहने हो भने, दैनिक करिब ९३ हजार ४५० सामाजिक सञ्जाल प्रयोगकर्ताको मृत्यु हुने अनुमान गर्न सकिन्छ। यद्यपि, यो संख्या कम पनि हुन सक्छ।
मृत्युपछि तपाईंको सामाजिक सञ्जाल खाताको व्यवस्थापन कसरी हुन्छ र यसका लागि के–के विकल्प उपलब्ध छन् त?
मेटाअन्तर्गतका फेसबुक, इन्स्टाग्राम, म्यासेन्जर र ह्वाट्सएपजस्ता प्रमुख एपले प्रयोगकर्तालाई मृत्युपछि आफ्नो डिजिटल सम्पत्ति व्यवस्थापन गर्ने विकल्प दिएका छन्। मेटा कम्पनीमा कार्यरत सामाजिक सञ्जालविज्ञ रवि सिंघलका अनुसार मेटाले फेसबुक र इन्स्टाग्राममा स्मरणीय खाता बनाउने र खाता हटाउने सुविधा दिएको छ।
“जब कुनै व्यक्ति बित्छन्, उनको फेसबुक खाता मेमोरिलाइज्ड वा डिलिट गर्न सकिन्छ,” सिंघल भन्छन्, “मानिस जीवित हुँदा लिगेसी कन्ट्याक्ट वारिस सेट पनि गर्न सकिन्छ।”
स्मरणीय खाता भन्नाले प्रोफाइल सक्रिय नहुने, तर स्मृतिको रूपमा राखिने खाता हो। यस्तो खातामा ‘स्मरण’ भन्ने ‘ट्याग’ देखिन्छ। साथीहरूले त्यसमा पुराना पोस्ट हेर्न सक्छन् र मृतकको सम्झनामा सन्देश लेख्न सक्छन्। तर कोही पनि त्यस खातामा प्रवेश गर्न वा पोस्ट गर्न सक्दैनन्। यो सुविधा मृतकका साथी र परिवारका लागि शोक मनाउने र सम्झना बाँड्ने एउटा माध्यम बन्न सक्छ।
यदि परिवारका सदस्य वा कानूनी प्रतिनिधिले चाहेमा खाता पूर्णरूपमा मेटाउन पनि सक्छन्। यसका लागि मृत्यु प्रमाणपत्र अनिवार्य हुन्छ र केही अवस्थामा कानूनी अधिकार प्रमाण पनि देखाउनुपर्ने हुन्छ।
मेटाले ‘लिगेसी कन्ट्याक्ट’ सेट गर्ने सुविधा पनि दिएको छ। विश्वसनीय व्यक्ति (जस्तै: साथी वा परिवारको सदस्य) लाई प्रयोगकर्ताले आफ्नो मृत्युपछि आफ्नो खाता व्यवस्थापन गर्न अनुमति दिन्छन्। लिगेसी कन्ट्याक्टले मृतकको प्रोफाइल फोटो अपडेट गर्न, नयाँ साथीका अनुरोध हेर्न वा पोस्टमा ट्याग गरिएका फोटो हटाउनेजस्ता सामान्य काम गर्न सक्छन्। तर उनीहरूले नयाँ पोस्ट गर्न वा निजी सन्देश हेर्न सक्दैनन्। यदि परिवारले खाता पूर्णरूपमा हटाउन चाहे, लिगेसी कन्ट्याक्टले फेसबुकमा रिपोर्ट बटन थिचेर र आवश्यक कागजात अपलोड गरेर प्रक्रिया शुरू गर्न सक्छन्।
म्यासेन्जर फेसबुकसँग जोडिएको हुनाले, फेसबुक खाता स्मरणीयमा राखिएपछि म्यासेन्जर पनि निष्क्रिय हुन्छ भने, खाता हटाइएमा म्यासेन्जर पनि हट्छ। ह्वाट्सएपको हकमा सिम कार्ड निष्क्रिय भयो भने, खाता पनि बिस्तारै निष्क्रिय हुँदै जान्छ।
नेपालमा अभ्यास
सिंघलका अनुसार, नेपालमा अधिकांश अवस्थामा मृत्युपछि सामाजिक सञ्जाल खाताको व्यवस्थापनमा खासै ध्यान दिइँदैन। खाता यथावत् रहन्छन् र स्मरणीय बनाउने वा मेटाउने चलन खासै छैन। धेरैजसो प्रोफाइललाई सम्झनाको रूपमा उपयोग गर्ने गरिएको छ।
“हामीले यसबारे सोच्नुपर्छ। किनभने हामी डिजिटल दुनियाँमा बाँचिरहेका छौँ। मृत्युपछि आफ्नो डिजिटल पहिचान के हुने भनेर पहिले नै सोच्नु र परिवारलाई जानकारी दिनु आजको समयमा धेरै जरुरी छ,” सिंघल भन्छन्।
मेटाले सामान्यतया प्रयोगकर्ताको मृत्यु भएको सार्वजनिक रूपमा पुष्टि हुने जानकारी नभएसम्म वा परिवारबाट अनुरोध नआएसम्म कुनै पनि खातामा कारबाही गर्दैन। सार्वजनिक व्यक्तित्व (सेलिब्रेटी, राजनीतिज्ञ, आदि) जसको निधन भएको जानकारी सार्वजनिक रूपमा प्रमाणित हुन्छ, त्यस्ता अवस्थामा मात्र मेटाले आफैँ खातामा कारबाही गर्न सक्छ।
सिंघलको अनुमानअनुसार हरेक दिन करिब १९ हजार फेसबुक प्रयोगकर्ताको निधन हुन्छ। यसअनुसार वर्षमा करिब ६.९ लाख खाता स्मरणीयमा जान्छन् वा मेटिन्छन्। “अध्ययनअनुसार, सन् २०५० पछिसम्म फेसबुकमा मृत व्यक्तिका खाता जीवित प्रयोगकर्ताको भन्दा धेरै हुने सम्भावना छ। २१०० सम्म अमेरिकामा मात्रै २७ करोडभन्दा बढी मृत प्रयोगकर्ताको खाता हुने अनुमान छ,” सिंघलले भने।
अन्य सामाजिक सञ्जालमा के छ व्यवस्था?
मेटाबाहेक अन्य सामाजिक सञ्जाल प्लेटफर्ममा पनि मृत्युपछिको खाता व्यवस्थापनका लागि फरक-फरक नीति छन्। एक्स (पहिलेको ट्विटर) मा स्मरणीय खाता बनाउने सुविधा छैन। मृतकका निकट परिवार वा कानूनी प्रतिनिधिले मात्र खाता हटाउन अनुरोध गर्न सक्छन्। यसका लागि मृत्यु प्रमाणपत्र र सम्बन्ध प्रमाणको आवश्यकता पर्छ। एक्सले कसैलाई पनि खातामा पहुँच दिँदैन र खाता मेटाइसकेपछि ट्विट र सन्देश प्राप्त गर्न सकिँदैन।
टिकटकमा सार्वजनिक रूपमा स्मरणीय खातासम्बन्धी नीति छैन। परिवारले कानूनी कागजातसहित खाता मेटाउन अनुरोध गर्न सक्छन्। यदि यसो गरिएन भने, खाता र सामग्री दृश्यमा रहन्छ। भिडियो नहटाएसम्म अनलाइनमै रहन्छन्।
स्नापच्याटमा पनि स्मरणीय खाता बनाउने सुविधा छैन। परिवारले प्रमाणसहित खाता बन्द वा मेटाउन सक्छन्। यसमा सामग्री छोटो अवधिका लागि मात्र रहन्छ, तर खाता नहटाएसम्म प्रोफाइल रहिरहन्छ।
युट्युब गुगल खातासँग जोडिएको हुनाले गुगलका सेटिङ लागू हुन्छन्। मृत्युपछि परिवारले खाता बन्द गर्न वा सामग्री पहुँच गर्न अनुरोध गर्न सक्छन्। यसका लागि कानूनी कागजात र प्रमाणीकरण आवश्यक पर्छ।
लिंकडइनले मृतकको खाता स्मरणीय बनाउने वा बन्द गर्ने विकल्प दिन्छ। कुनै पनि व्यक्तिले मृतकका बारेमा रिपोर्ट गर्न सक्छन्, सामान्यतया मृत्युसम्बन्धी समाचार वा शोक विज्ञप्ति दिएर रिपोर्ट गर्न सकिन्छ।
किन आवश्यक छ डिजिटल व्यवस्थापन?
सिंघलका अनुसार, मृत्युपछि सामाजिक सञ्जाल खाता हटाउनु डिजिटल गोपनीयता, नैतिक जिम्मेवारी, र परिवारको मानसिक शान्तिका लागि आवश्यक छ। मृतकको खाता निष्क्रिय भए पनि अनलाइनमा सक्रिय रहन्छ भने ह्याकरले त्यसलाई नियन्त्रणमा लिन सक्छन्। यसबाट गलत पोस्ट, स्क्याम, स्पाम वा फेक आइडेन्टिटीको रूपमा प्रयोग हुन सक्छ।
मृतक व्यक्तिको सामाजिक सञ्जालमा धेरै निजी सन्देश, फोटो र जानकारी रहन सक्छन्। खाता सक्रिय नै रह्यो भने ती सामग्री ह्याक भई गलत प्रयोग वा डेटा चोरी हुने सम्भावना रहन्छ। मृतकको प्रोफाइल सक्रिय रहँदा परिवार, साथी र प्रियजनमा भावनात्मक रूपमा चोट पुग्न सक्ने भएकाले पनि इच्छाअनुसार डिजिटल खाताको व्यवस्थापन गर्नु महत्त्वपूर्ण हुने उनी बताउँछन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
