इरानी सुरक्षा निकाय र इभिन जेल लक्षित इजरायली हवाई आक्रमण

इजरायलले युद्धको एघारौँ दिनमा इरानको राजधानी तेहरानस्थित इरानी सेनाको संरचना, बासिज मिलिसियाको कमान्ड केन्द्र, इभिन जेल र फोर्डो युरेनियम समृद्धिकरण केन्द्रमा शक्तिशाली हवाई आक्रमण गरेको छ।

युद्धको एघारौँ दिनमा इजरायलले इरानको राजधानी तेहरानमा लक्षित गर्दै हालसम्मकै सबैभन्दा शक्तिशाली हवाई आक्रमण गरेको छ। सोमबार भएको यस आक्रमणमा इरानी सेनाको संरचना, घरेलु बासिज मिलिसियाको कमान्ड केन्द्र, राजनीतिक बन्दी राखिने प्रसिद्ध इभिन जेल र तेहरानको दक्षिणतर्फ पर्वतीय क्षेत्रमा अवस्थित फोर्डो युरेनियम समृद्धिकरण केन्द्रलाई निशाना बनाइएको छ।

इजरायली रक्षामन्त्री इस्राएल कात्जले यस कारबाहीलाई ‘अभूतपूर्व बल प्रयोगसहित शासनको नियन्त्रण संरचनामाथिको प्रहार’ भनी वर्णन गरेका छन्।

इजरायली सेनाले एक वक्तव्यमार्फत जनाएअनुसार, आक्रमणको मुख्य उद्देश्य इरानमा आन्तरिक सुरक्षाको निगरानी तथा शासनको स्थायित्व सुनिश्चित गर्ने काममा संलग्न संरचनालाई निस्तेज पार्नु हो।

फोर्डो केन्द्रमा भएको आक्रमणको उद्देश्य त्यसको ‘पहुँच मार्गलाई अवरुद्ध गर्नु’ रहेको बताइएको छ, जहाँ अघिल्लो दिन संयुक्त राज्य अमेरिकाले 'बंकर बस्टर' बम प्रयोग गरी आक्रमण गरिसकेको थियो। अमेरिका र इजरायल दुवैले इरानको आणविक कार्यक्रमलाई सम्भावित खतराका रूपमा हेरेका छन्।

इरानी स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणबाट अहिलेसम्म ४०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ। यता, इरानका आक्रमणले इजरायलमा २४ जनाको ज्यान गएको पुष्टि भएको छ।

तेहरानमा आक्रमणपछि विद्युत् आपूर्ति प्रणालीमा असर परेको र केही समयका लागि विद्युत् अवरोध भएको इरानी सञ्चारमाध्यमले जनाएका छन्। इजरायलको राष्ट्रिय विद्युत् कम्पनीले पनि देशको दक्षिणी भागमा रहेको ‘रणनीतिक संरचना’ नजिक क्षति पुगेको जनाए पनि, स्थान र कारण भने खुलाएको छैन।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघिल्लो दिन इरानी आणविक संरचनामाथि गरिएको अमेरिकी आक्रमणले ‘पूर्णरूपमा नष्ट’ गरेको दाबी गरे पनि, केही अधिकारीहरूले वास्तविक असर मूल्यांकन गर्न अझै समय लाग्ने बताएका छन्।

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को आकस्मिक बैठकमा अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीका महानिर्देशक राफाएल ग्रोसीले फोर्डो स्थलमा क्षतिको प्रमाण देखिए पनि भूमिगत क्षति मूल्यांकन गर्न नसकिएको बताए। उनले आणविक संरचनामाथिको हतियारयुक्त आक्रमण कुनै पनि अवस्थामा हुनु नहुनेमा जोड दिए।

इरानी विदेशमन्त्री अब्बास अराघचीले अमेरिका र इजरायलका आक्रमणले आणविक कूटनीतिक पहलमा गम्भीर असर पार्ने चेतावनी दिँदै यस हस्तक्षेपले ‘शान्तिपूर्ण वार्ताको द्वार बन्द गर्न सक्ने’ टिप्पणी गरेका छन्।

यस घटनाक्रमसँगै अन्तर्राष्ट्रिय बजारमा प्रभाव देखिएको छ। प्रारम्भिक अवस्थामा तेलको मूल्य चार प्रतिशतभन्दा बढीले वृद्धि भए पनि दिनको उत्तरार्धमा केही घटेको छ।

चीनले दुवै पक्षलाई संयम अपनाउन आग्रह गर्दै क्षेत्रीय तनावले विश्व अर्थतन्त्रमा असर पार्न सक्ने चेतावनी दिएको छ। युद्ध अझ गम्भीर मोडमा जान सक्ने संकेत देखिँदै गर्दा, अमेरिकाले आफ्ना नागरिकलाई विश्वभर सतर्कता अपनाउन अनुरोध गरेको छ।

बहरेनस्थित अमेरिकी दूतावासले स्थानीय तनावका कारण केही कर्मचारीलाई अस्थायी रूपमा ‘टेलिवर्क’मा स्थानान्तरण गरिएको जनाएको छ।