सरकारी जग्गा हडप्ने कुरामा मेरो कहिल्यै समर्थन रहन्नः लेखराज भट्ट

कैलालीको टीकापुरस्थित टीकापुर बहुमुखी क्याम्पसको जग्गा कब्जा र किनबेच काण्डमा आफू नजोडिएको भट्टको दाबी छ।

काठमाडौँ– नेकपा एमालेका सचिव लेखराज भट्टले कुनै पनि बहानामा सरकारी जग्गा हडप्ने कुरामा आफ्नो कहिल्यै समर्थन नरहने बताएका छन्। उनले कैलालीको टीकापुरस्थित टीकापुर बहुमुखी क्याम्पसको जग्गा कब्जा र किनबेच काण्डमा आफू कतै नजोडिएको दाबीसमेत गरेका छन्।

उकालोमा प्रकाशित टीकापुर जग्गा काण्डसम्बन्धी विस्तृत खोज रिपोर्टमा आफ्नो नाम र तस्वीर प्रकाशित भएकोमा ध्यानाकर्षण भएको उल्लेख गर्दै उनले भनेका छन्, “गरिब, बिपन्न र अव्यवस्थित बसोबासीका लागी राज्यले उचित बासको व्यवस्था गर्नुपर्छ भन्ने कुरामा मेरो पुरानै अडान हो।”

लेखराज भट्टको खण्डन :
उपरोक्त विषयमा २०८२ असार ३ गते उकालोमा दिपा दाहालले लेखेको ‘टीकापुरको ३०० बिघा सरकारी जग्गा किनबेच काण्डः माओवादी नेता अघिअघि’ शीर्षकको समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। समाचारको एउटा अनुच्छेदमा जग्गा काण्डमा मेरो पनि समर्थन रहेको उल्लेख गरिएको हुँदा उक्त कुराप्रति मेरो असहमति रहेको छ। घटना विवरण अनुसार कहिँकतै मेरो संलग्नता देखिए वा पत्ता लागे सत्यतथ्य के हो भन्ने बुझ्न कम्तीमा पनि मसँग बुझ्नुपर्थ्यो। तर पत्रकार आचारसंहिताको धर्म पनि बिर्सेर मेरो रायबिना नाम जोडेर फोटोसहित समाचार प्रकाशन गरेकोप्रति आपत्ति छ। टीकापुर जग्गाकाण्डमा मेरो समर्थन वा संलग्नता रहेको कुरा पुष्टि हुने कुनै बलियो आधार प्रमाण नराखी सोलोडोलोमै मेरो नाम र तस्वीर प्रकाशन गर्ने कुराले आममानिसमा भ्रम मात्रै फैलाएको छैन, मेरो राजनीतिक जीवनमै बिनाकारण धब्बा लाउने दुष्प्रयाससमेत भएको महसुस गरेको छु।

कुनै पनि बहानामा सरकारी जमिन हडप्ने कुरामा मेरो कहिल्यै पनि सहयोग र समर्थन रहेन, रहन्न पनि। तर गरिव, बिपन्न र अव्यवस्थित बसोबासीका लागि राज्यले उचित बासको व्यवस्था गर्नुपर्छ भन्ने कुरामा मेरो पुरानै अडान हो। तसर्थ मेरो जानकारीमै नभएको यो जग्गा काण्डको समाचारको कभर फोटोमै मेरो फोटो समावेश गर्दा आम जनमानसमा उक्त फोटोले भ्रम फैलिन सक्ने भएकोले खण्डन गरिदिन आग्रह गर्दछु।