इरानमा अमेरिकी आक्रमणपछि क्षेत्रीय द्वन्द्वको डर, संयमित हुन अन्तर्राष्ट्रिय समुदायको अपिल

इरानमाथिको अमेरिकी आक्रमणले तेहरानसँग इजरायलको युद्ध व्यापक क्षेत्रीय द्वन्द्वमा परिणत हुन सक्ने आशंकालाई बढावा दिएको छ। आक्रमणपछि विभिन्न देशहरूले कूटनीति र सावधानी अपनाउनका लागि आग्रह गरेका छन्।

इरानमाथिको अमेरिकी आक्रमणले तेहरानसँग इजरायलको युद्ध व्यापक क्षेत्रीय द्वन्द्वमा परिणत हुन सक्ने आशंकालाई बढावा दिएको छ। 

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले दुई हप्ताभित्र यसमा संलग्न हुने वा नहुने बारे निर्णय गर्ने बताइरहेका बेला वासिंटनले इजरायलको अभियानमा आइतबार बिहान आफूलाई प्रवेश गरायाे। इरानका तीन वटा आणविक केन्द्रमा बमबारी गर्‍यो। तर त्यसबाट भएको क्षतिको विवरण भने आइसकेको छैन।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आणविक केन्द्रमा अमेरिकाले गरेको आक्रमणका लागि बधाई दिएका थिए। नेतन्याहूले एक भिडियो सन्देशमा भनेका छन्, “बधाई छ राष्ट्रपति ट्रम्प। संयुक्त राज्य अमेरिकाको भयानक र धार्मिक शक्तिको साथ इरानको आणविक सुविधाहरूलाई लक्षित गर्ने तपाईंको साहसिक निर्णयले इतिहास परिवर्तन गर्नेछ।”

उक्त अमेरिकी आक्रमणपछि आफ्नो पहिलो सार्वजनिक अभिव्यक्तिमा इरानी विदेशमन्त्री अब्बास अराघचीले अमेरिकालाई अन्तर्राष्ट्रिय कानून उल्लंघन गरेको आरोप लगाएका थिए। साथै उनले अमेरिकाको यस आक्रमणलाई अत्यन्तै घृणित भएको भन्दैर यसका दीर्घकालीन परिणामहरू देखिने बताए। 

उनले सामाजिक सञ्जाल पोस्टमा लेखेका छन्, "इरानले आफ्नो सार्वभौमसत्ता, हित र जनताको रक्षा गर्न सबै विकल्पहरू सुरक्षित राख्छ।"

यसअघि इरानले इजरायली आक्रमणमा अमेरिका सहभागी भएमा प्रतिकार गर्ने प्रतिबद्धता जनाएको थियो। कतिपयले कमजोर इरानले आत्मसमर्पण गर्ने वा विद्रोही रहने र खाडी क्षेत्रमा छरिएर रहेका अमेरिकी लक्ष्यमा आक्रमण गर्न थाल्ने हो कि भन्ने प्रश्न उठाएका छन्। तर अहिलेसम्म इरानले त्यहाँ आक्रमण गरेको छैन। इजरायलमा भने आक्रमणलाई तीव्र पारेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

इरानी आक्रमणलाई प्रतिरोध गर्दै इजरायली रक्षा प्रणाली। तस्वीर: एपी

अमेरिकी आक्रमणपछि इरानको छिमेकी राष्ट्र, युरोप र एशियाली मुलुकका नेता तथा सरकारका प्रतिनिधि र अधिकारीहरूको प्रतिक्रिया आएको छ। संयुक्त राष्ट्रसंघले आक्रमणका कारण खाडी क्षेत्र र विश्वका लागि विनाशकारी परिणाम आउन सक्ने जनाउँदै समस्याको सैन्य समाधान नभई कूटनीतिक बाटो अपनाउन सम्बन्धित देशहरूसँग आग्रह गरेको छ।  संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले संयुक्त राज्य अमेरिकाले बल प्रयोग गरेकोमा आफू गम्भीर रूपमा चिन्तित भएको बताए।

“यो द्वन्द्व द्रुत गतिमा नियन्त्रणबाहिर जान सक्ने खतरा बढ्दै गएको छ, यसले नागरिक, खाडी क्षेत्र र विश्वका लागि विनाशकारी परिणाम ल्याउनेछ,” उनले सामाजिक सञ्जाल एक्समा जारी गरेको विज्ञप्तिमा भनिएको छ। साथै उनले सैन्य आक्रमण समस्याको सही समाधान नभएर अबको एक मात्र बाटो कूटनीति भएको बताएका छन्।

छिमेकी देश लेबनानका प्रधानमन्त्री नवाफ सलामले द्वन्द्वबाट सम्भावित क्षेत्रीय प्रभावबाट टाढै रहनुपर्ने बताएका छन्। सलामले एक्समा गरेको एक पोस्टमा लेखेका छन्, “लेबनान कुनै न कुनै तरिकाले चलिरहेको क्षेत्रीय टकरावमा तानिएको छ। हाम्रो लागि सर्वोच्च राष्ट्रिय हितलाई कडाईका साथ पालना गर्नु र युद्धको प्रभावबाट देशलाई जोगाउनु आवश्यक छ।”

यमनको हुथी र प्यालेस्टिनको हमास दुवै विद्रोही समूहले अमेरिकी आक्रमणको निन्दा गरेका छन्। हुथी विद्रोहीले ‘यहुदी र अमेरिकी आक्रमण’ विरुद्धको लडाइँमा इरानलाई समर्थन गर्ने प्रतिबद्धता जनाएका छन्। हुथी पोलिटब्युरोले आइतबार एक विज्ञप्ति जारी गर्दै मुस्लिम राष्ट्रहरूलाई ‘जिहाद र प्रतिरोधको विकल्पलाई यहुदी–अमेरिकी अहंकारविरुद्ध एक मोर्चाको रूपमा’ सामेल हुन आह्वान गरेको छ। हमास र हुथीहरू इरानको तथाकथित ‘प्रतिकार’ को हिस्सा हुन्, यमनदेखि लेबनानसम्म फैलिएको इरान समर्थक सशस्त्र समूहहरूको समूहहरूले वर्षौंसम्म इरानलाई यस क्षेत्रमा पर्याप्त शक्ति प्रदान गर्दै आएका छन्। 

रुसको विदेश मन्त्रालयले इरानमाथि भएको अमेरिकी आक्रमणको कडा शब्दमा निन्दा गरेको छ। “एउटा सार्वभौम राष्ट्रको भूभागलाई क्षेप्यास्त्र र बम आक्रमणको अधीनमा राख्ने गैरजिम्मेवार निर्णय, जुनसुकै तर्कका साथ प्रस्तुत गरिए पनि, अन्तर्राष्ट्रिय कानून, संयुक्त राष्ट्र संघको बडापत्र र संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्तावहरूको स्पष्ट उल्लंघन गर्दछ,” मन्त्रालयले आफ्नो विज्ञप्तिमा भनेको छ।

रुसले आक्रामकताको अन्त्य गर्न र परिस्थितिलाई राजनीतिक र कूटनीतिक बाटोमा फर्काउनको लागि परिस्थिति सिर्जना गर्न थप प्रयासहरूको लागि आह्वान गरेको छ।

इराकले आफ्नो छिमेकी इरानको आणविक केन्द्रमाथि अमेरिकी आक्रमणले मध्यपूर्वको शान्ति र स्थिरतालाई खतरामा पार्ने चेतावनी दिएको छ। इराक सरकारका प्रवक्ता बासिम अलवाडीले भने, “यो सैन्य वृद्धि मध्यपूर्वको शान्ति र सुरक्षाका लागि गम्भीर खतरा हो र यसले क्षेत्रीय स्थिरताका लागि गम्भीर खतरा उत्पन्न गरेको छ।

 

न्युजिल्यान्डका विदेशमन्त्री विन्स्टन पिटर्सले सबै पक्षलाई वार्तामा फर्कन आग्रह गरेका छन्। राष्ट्रपति ट्रम्पको कदमलाई न्युजिल्याण्डले समर्थन गरेको छ कि छैन भन्नेबारे उनले केही बताएका छैनन्। तीन पटक विदेशमन्त्री बनेका उनले यो संकट आफूले सामना गरेको अहिलेसम्मकै सबैभन्दा गम्भीर संकट भएको बताएका छन्।

चीनको राज्य सञ्चालित सञ्चार माध्यम सीजीटीएनले अमेरिकाले ’इरानमा कतै उसले इराकमा गरेको गल्ती दोहोर्‍याइरहेको त होइन’ भनी अमेरिकाको आक्रमणले ट्रम्प स्वयंलाई अफ्ठ्यारोमा पार्नसक्ने संकेत गरेको छ। चिनियाँ सरकारी मिडिया सीजीटीएनले लेखेको छ, “अमेरिकी आक्रमणले खतरनाक मोडलाई संकेत गरेको छ।” 

शुक्रबार तेहरानस्थित आफ्नो दूतावास बन्द गरेको अस्ट्रेलियाले द्वन्द्वको कूटनीतिक अन्त्यका लागि दबाब दिएको छ। “इरानको आणविक र ब्यालेस्टिक क्षेप्यास्त्र कार्यक्रम अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाका लागि खतरा भएको कुरामा हामी स्पष्ट छौं,” एक सरकारी अधिकारीले लिखित वक्तव्यमा भनेका छन्, “अब शान्तिको समय हो भन्ने अमेरिकी राष्ट्रपतिको भनाइलाई हामी ध्यान दिन्छौं।”

इरानको आणविक केन्द्रहरूमा अमेरिकी हवाई आक्रमणपछि कतारले पनि गम्भीर परिणाम भोग्नुपर्ने डर व्यक्त गरेको छ। विदेश मन्त्रालयले त्यस क्षेत्रमा हालको खतरनाक वृद्धिले क्षेत्रीय र अन्तर्राष्ट्रिय दुवै स्तरमा विनाशकारी परिणाम निम्त्याउन सक्ने चेतावनी दिएको हो।

यस्तै, बेलायत, इयू र इराक, साउदी अरब लगायत मुलुकले आक्रमणले मध्यपूर्वमा अस्थिरता ल्याउनसक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्। संयमता अपनाउन, तनाव कम गर्न र थप तनाव बढ्न नदिन हरसम्भव कूटनीतिक प्रयास गर्नुपर्ने आवश्यकतामा यी देशले जोड दिएको छ।

युरोपेली संघका शीर्ष कूटनीतिज्ञ काजा कल्लासले तनाव कम गर्न र वार्तामा फर्कन आह्वान गरेका छन्। 

“म सबै पक्षलाई पछि हट्न, वार्ताको टेबुलमा फर्कन र थप तनाव रोक्न आग्रह गर्दछु,” कल्लासले एक्समा लेखेका छन्, “इरानलाई आणविक हतियार विकास गर्न दिनु हुँदैन र ईयूका विदेशमन्त्रीहरूले सोमबार स्थितिबारे छलफल गर्नेछन्।”