ब्राजिलमा ‘हट एअर बेलुन’ दुर्घटना हुँदा ८ जनाको मृत्यु, १३ घाइते

ब्राजिलको सान्टा क्याटारिनामा २१ यात्रु बोकेको ‘हट एअर बेलुन’मा आगलागी हुँदा आठ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।

ब्राजिलको दक्षिणी सान्टा क्याटारिना राज्यमा करिब दुई दर्जन यात्रु बोकेको एउटा ‘हट एअर बेलुन’मा आगलागी हुँदा कम्तीमा आठ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। राज्यका गभर्नर जोर्गिन्हो मेलोले उक्त दुर्घटनाको पुष्टि गरेका हुन्।

ब्राजिलियन टेलिभिजनमा प्रसारित भिडियो फुटेजमा समुद्र तटीय शहर प्रैया ग्रान्डेमाथि आगो लागेको बेलुन जमिनमा खसिरहेको दृश्य देखिएको थियो। 

दुर्घटना हुँदा आकाशमा मौसम सामान्य नै रहेको बताइएको छ। २१ जना यात्रु बोकेको उक्त बेलुन दर्जनौँ मिटर उचाइबाट भुइँमा खसेको थियो।

यस दुर्घटनाको कारणबारे अनुसन्धान शुरू गरिएको छ। एटलान्टिक तटमा रहेको प्रैया ग्रान्डे हट एअर बेलुनबाट साहसिक यात्राका लागि ब्राजिलको एक लोकप्रिय गन्तव्य मानिन्छ।

यो केही दिनभित्रै ब्राजिलमा भएको दोस्रो घातक बेलुन दुर्घटना हो। एक साताअघि मात्रै दक्षिणपूर्वी साओ पाउलो राज्यमा भएको यस्तै बेलुन दुर्घटनामा एक महिलाको मृत्यु भएको थियो।