रूपचन्द्र विष्ट: एउटा ज्याद्रो इमानदार

उहाँको मृत्युमा शंख बजेन। मृत्यु संस्कारमा पुरोहित राखिएन। छोरा र भाइ हुँदाहुँदै शवमा कमरेड सोनामले दागबत्ती दिनुभयो। मकवानपुरबाट बस–ट्रक रिजर्भ गरेर काठमाडौँ गएकाहरू शवयात्रामा सहभागी हुनै पाएनन्।

स्कुले केटाकेटी हुँदै ताकाको कुरा हो। मामाहरू सबै रूपचन्द्र विष्टको ‘थाहा’ आन्दोलनमा सहयात्री र सहकर्मी भएर हिँड्नु भएको थियो। बालबच्चा र लोग्ने मान्छेको सर्टको भित्रपट्टि एउटा कुटको टुक्रा हाल्ने र बाहिरबाट फलामको चाल्नुजस्तो पाता टाँस्दै ब्रसले रातो इनामेल पोतिहाल्ने गर्नुहुन्थ्यो। सर्टको अग्रभागको गोजीनेर ‘थाहा’ लेखिन्थ्यो। त्यतिखेर सबैको छातीमा रातो टलक्क टल्कने ‘थाहा’ हुन्थ्यो। सरकारी स्कुलको विद्यार्थी-पोसाक (नीलो आकाशे रङको सर्ट)मा ‘थाहा’ लेखिदिनु भयो मामा राधाकृष्ण बर्तौलाले।

त्यो सर्ट लगाएर स्कुल गएको दिन सर (नाम नभनौँ) ले दुई थप्पड हान्नु भयो। ‘‘तँ रिजाल कम्युनिस्ट भइस्, के थाहा छ तँलाई कम्युनिस्ट भनेको?’’ भन्दै कान रातो हुने गरी सरले लगाएको चड्कन अति अप्रत्याशित थियो। कक्षा ४ मा पढ्थेँ। यसरी पिटाइ खाइने कल्पनै थिएन। अर्को, म कक्षा नेता थिएँ। पढाइमा प्रथम हुनेले कक्षाको कमान्ड गर्नुपर्ने भएकाले मेरो छुट्टै इज्जत थियो। तर यसरी थाहा लेखेकै कारण पिटाइ खाएर कान रातो पार्दै आउँदासम्म राजनीति बुझेको थिइनँ। के रहेछ थाहा र को रहेछन् रूपचन्द्र भन्नेबारे अब बुझ्न खोजेँ। बुबा पनि रूपचन्द्र विष्टको अनुयायी हुनुहुन्थ्यो। त्यतिखेर कमल थापा र रूपचन्द्रको जगजगी रहेछ। भर्खर देशमा बहुदल आएको थियो। पञ्चायत पक्षधरलाई रूपचन्द्र विष्टको थाहा अभियान निस्तेज पार्नु थियो, पञ्चायत ठिक छ भन्नेहरू कमल थापाका पछि थिए। पिट्ने सर कताको हुनुहुन्छ भनेर बुझिहाल्नु भयो होला! 

धेरै याद छैनन्। तर एउटा अग्ला, सग्ला र जनतालाई विपक्षी नेताहरूले पढाएको ‘पग्ला (पागल)’ अनुहार थिए रूपचन्द्र विष्ट। राष्ट्रिय पञ्चायतका सदस्य हुँदै गाउँघरका झुत्रेझाम्रेकहाँ पुगेर राजनीतिक चेत जगाउने अभियन्ताका थिए रूपचन्द्र। उनीबारे धेरै लेख आएका छन्। पछिल्लो समय साथी जागृत रायमाझीले चलचित्र नै बनाउँदै हुनुहुन्छ। रूपचन्द्र विष्ट, दामन, नेपालको ‘रुदाने’ (रूपचन्द्र दामन नेपाल), ‘जसरु’ (जनमुखी सहकर्मी रूपचन्द्र), स्वरूपेलगायत नामबाट रूपचन्द्रले मकवानपुरका जनता जगाउँदै हिँड्नु भएको थियो। 

हामी स्कुल जाँदा रूपचन्द्र विष्टको आमसभा भनेपछि धेरै स्थानीयहरू भेला हुन्थे तर आम चुनावमा भोट आउँथ्यो ७३। फेरि पनि विष्टले पचासको दशकसम्म नेपाली राजनीतिमा जनता र दुखियाका पक्षमा आफ्नो अडान कायम राख्नु भयो। उहाँको दर्शन, सोच्ने शक्ति र शारीरिक बनौटबारे फिल्म बनाउने क्रममा रूपचन्द्र विष्टकी पत्नी उमा शाह भेटेपछि साथी जागृत रायमाझी सुनाउनुहुन्थ्यो, ‘‘रूपचन्द्रबारे जे पढियो, सुनियो, हेरियो, यो त सिंगो रूपचन्द्रको १० प्रतिशत पनि रहेनछ।’’ रूपचन्द्र हुँदै उनीबाट अलग भएर बस्नु भएकी पत्नीलाई रायमाझीले निकै मेहनत गरेर भेटेपछि रूपचन्द्रको विशाल चैतन्य-काया र हुलिया सुनेर रायमाझी भन्नुहुन्थ्यो, ‘‘पछि हिन्दीमा डब हुने जब्बर मराठी फिल्मका नायकभन्दा अजिबका पात्र रहेछन् रूपचन्द्र, सबै चरित्र छायामा पारिएको रहेछ, फिल्ममा फेरि यो विषय उतार्न हामीलाई पनि कठिन भइरहेको छ।’’

हो, यिनै रूपचन्द्रको हिजो (असार ७) गते स्मृति दिवस हो। कम्युनिस्टहरू जन्मदिन होइन, स्मृति दिवस मनाउँछन् भनेर पढियो। बाल हृदयमा बसेका र सञ्चारमा नआएका कैयौँ समाजका बान्की छन्, जसले हामीलाई समाजमा यस्ता पात्र पनि थिए भनेर तरंगित पार्नेछ।

अहिलेको खराब राजनीतिक आचरणभन्दा बिलकुल फरक हुनुहुन्थ्यो रूपचन्द्र विष्ट। जनतालाई भातभन्दा माथि उठ्न नसकेको भन्दै ‘भाते’ भन्नु हुन्थ्यो। राजाका वफादार राजनीतिज्ञ तुलसी गिरीलाई समेत ‘तँ’ भन्नुहुने रूपचन्द्रले मोदनाथ प्रश्रित र अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भने ‘तपाईँ’ भन्नु भएको उहाँका सहकर्मीहरू सुनाउनुहुन्छ। साँच्चै जनताका लागि केही गर्न चाहने रूपचन्द्रले २०३७ सालअघि नै संविधानसभा माग्नु भएको थियो, जुन पछि नेकपा माओवादीले शान्ति प्रक्रियामा आउने बेला गोलमेच थपेर संविधान सभा भनेको थियो। 

उत्तरी मकवानपुरको दामनका रूपचन्द्र शिक्षावादी र जनवादी नेताका रूपमा क्रियाशील हुनुभयो। बाबु पदमबहादुर विष्ट र आमा चित्रकुमारीबाट १९९० पुस २६ गते सम्भ्रान्त सैनिक परिवारमा जन्मनु भएका रूपचन्द्र विष्ट भाङ्राका ह्वार्लाङह्वार्लाङ हुने कपडा लगाएर आम जनताझैँ हुलियामा हिँड्न मन पराउनु हुन्थ्यो र विरोधीहरू उहाँलाई ‘पागल’ भन्थे। 

२००७ देखि २०१० सालसम्म कम्युनिस्ट विद्यार्थी राजनीतिमा सक्रिय रूपचन्द्र विष्टले २०१० देखि २०१७ सालसम्म किसान र मजदुरको पार्टीमा क्रियाशील रहेर परिवारको सुखसयल आफैँले छाड्नुभएको थियो। २०२६ सालसम्म विद्यार्थी र किसान क्षेत्रमा क्रियाशील उहाँ २०२१ र २०२९ सालमा पालुङ गाउँ पञ्चायतमा जनपक्षीय प्रधानपञ्च हुनुभयो। २०२८ सालमा स्नातक कोटामा राष्ट्रिय पञ्चायत सदस्य हुनुभयो। २०२८ माघ १ गते चितवनबाट एक्कासि अलप हुनुभयो। भारतको काशी, गया, हरिद्वार, बम्बईमा पुगेर त्यहाँका जोगी/योगीहरूसित पूर्वीय दर्शनबारे छलफल, विमर्श गरी जोगीकै भेषमा कमण्डलु बोकी २०२९ सालको अन्त्यतिर मकवानपुर फर्कनुभयो। गाउँमा पण्डितहरू डाकेर उनीहरूकै अगाडि धार्मिक अन्धविश्वासको पर्दाफास गर्न थाल्नुभयो। तल्लो जात भन्दै युगौंयता अपमानित गरिएका समाजका वैज्ञानिक समुदायलाई डाकेर तिनकै सामुन्ने उनीहरूले सुन्नै नहुने भनिएको गायत्री मन्त्र र अर्थ सुनाउन थाल्नुभयो।

राष्ट्रिय पञ्चायत सदस्य रहँदै गिरफ्तारमा पर्ने उहाँ साँच्चैका कम्युनिस्ट नेता हुनुहुन्थ्यो। जनमुखी राजनीति र जबाफदेहितामा केन्द्रित उहाँबारे कैयौँ किम्बदन्ती अहिले पनि मकवानपुरका कुनाकन्दरामा सुनिन्छ। अहिले गाउँ पुग्ने नेतालाई गाउँको गन्ध सुहाउँदैन, उस्तै पर्दा एलर्जी हुन्छ। साँझ बास बस्न सदरमुकाम नै पुग्नुपर्छ। मिठा खानाका परिकार चाहिन्छ। तर रूपचन्द्र विष्ट गाउँ जाँदा उहाँलाई कुखुरा काटेर मासुभात खुवाउनुपर्छ भन्नेहरूले त्यही तातो भातले पुर्पुरो सेक्नुपर्थ्यो। ‘‘तैँ भाते खा’’ भन्दै मासुभात पकाएर सत्कार गर्न खोज्नेको टाउकोमै भात हालेर हिँड्नुहुन्थ्यो। सामान्य जनताले खाने खोलेफाँडोमै उहाँको मन जान्थ्यो।  

उहाँ पालुङको जनकल्याण माविमा प्रधानाध्यापक हुनुभयो र साँझ बिहान प्रौढ शिक्षा चलाउनु थाल्नु भयो। केही वर्ष अघिसम्म नेपाल सरकारले चलाउने अनौपचारिक शिक्षा (प्रौढकक्षा) उहाँकै अवधारणा थियो भन्दा फरक परेन। २०३८ र २०४३ सालमा मकवानपुरबाट तत्कालीन राष्ट्रिय पञ्चायतमा प्रतिनिधित्व गर्नु भएका विष्ट अहिलेका प्रधानमन्त्री केपी ओलीसँग पनि जेलमा हुनुहुन्थ्यो। प्रधानमन्त्री ओलीका शब्दमा विष्ट महान् मान्छे हुनुहुन्थ्यो। जीवनको विशेषता जनशैली र राजनीतिको विशेषता जनमुखी उहाँको पहिचान थियो। २०२९–३० सालमा रूपचन्द्र विष्टले थाहा आन्दोलन सुरु गर्नु भएको हो।

उहाँका सहकर्मीहरूले चट्टान, भित्ता, पर्खाल, रूखदेखि खाली कागज र चुरोटको बट्टा हुँदै लुगाकपाडमा समेत ‘थाहा’ लेखेर यो अभियानलाई मकवानपुरमा अमर बनाए। ‘थाहा’ नेपाली छाप्रामा पुगेको पहिलो दार्शनिक आन्दोलन भयो। थाहा आन्दोलनको सार रुखो बोली र ठाडो आग्रह हो। हामीले सबै विषय थाहा पाउनुपर्छ र जागरूक हुनुपर्छ भन्ने हो। २०२१ सालमा दामन र पालुङ गाउँ पञ्चायत मिलाएर रूपचन्द्रले गाउँ विकास समिति बनाएपछि 'विकास घर'बाट कामकाज हुन्थ्यो। त्यो घर अहिले पनि पालुङमा छ। स्थानीयबाट विकास करको नियम चलाउने रूपचन्द्र हुनुहुन्थ्यो। एक धार्नी आलु बेच्दा ५ पैसा विकास कर तिर्नुपर्थ्यो स्थानीयले। 

त्यो कर कहाँ खर्च हुन्छ भनेर दिनदिनै विकास घरको सूचनापाटीमा विवरण टाँस हुन्थ्यो, अहिलेजस्तो सूचनाको हक भनेर राज्यसँग सूचना माग्नै पर्थेन। उहाँले विद्यालयमा प्रधानाध्यापक हुँदा देशभर चल्ने चक्रपाणि चालिसेको राजस्तुतिको 'राष्ट्रिय गान' होइन, आफ्नै राष्ट्रिय गान लागू गर्नु भएको थियो। उहाँको गान मकवानपुरका एक सय विद्यालयमा लागू भएको थियो। तीन दशक मकवानपुरमा थाहा आन्दोलन चल्यो। 

शासनमा ‘निष्पक्ष सक्रियताको अभ्यास’ नै थाहाको शाब्दिक अर्थ हो। जनतामा चेतना सम्पन्न रूपान्तरण र राजनीतिक तथा सामाजिक जागरण यसको उद्देश्य हो। उहाँ भन्नु हुन्थ्यो, ‘‘मान्छेहरू एक थाल भात, एक अँगालो लोग्ने-स्वास्नी र कुखुरा बाख्रा भन्दा माथि उठ्नै सकेनन्।’’ 

जनतालाई आफ्ना पर्चा निःशुल्क नबाँड्ने रूपचन्द्र विष्टका अनेक बान्की छन्। एक पटक मकवानपुरको कुनै एउटा गाउँमा आमसभा भयो। त्यहाँ छानामा माइक राखेर सबैलाई भाषण सुनाउन खोजियो। सहकर्मी एकराज उप्रेतीले माइक फर्काएको उहाँलाई मन परेन। माइक कता फर्काउने भन्नेबारे गलफती भयो, विष्टले आक्रमणै गरे। उप्रेती सुनाउनु हुन्छ, ‘‘यस्तो व्यवहारले पनि तपाईंको पछि कोही लाग्छ भनेर म हिँडेँ।’’ रूपचन्द्रको आशयचाहिँ जुन गाउँका मान्छे आएका छैनन्, तिनले माइकमा सुनुन् र आएकाले त त्यहीँ नै भाषण सुनिहाल्छन् भन्ने थियो।  पछि मात्र विष्टको आशय बुझेको उप्रेती सुनाउनु हुन्छ।

अहिलेका नेता मञ्चमा १५ मिनेट भाषण गर्छन्, २५ मिनेट फोटोसेसन गर्छन् र नेताको भाषणभन्दा बढी उद्घोषकले नेताको बखान गर्छन्। तर रूपचन्द्र उद्घोषकले ‘‘अब प्रमुख वक्ता ‘जसरु’ बोल्नुहुन्छ’’ भन्दा बढी बोले या फुँदा जोडेर विशेषण भरे प्रतिक्रिया जनाइहाल्नुहुन्थ्यो। एक पटक मकवानपुरको हाँडीखोलामा प्रजातान्त्रिक विचारधाराका ‘सदस्य बद्री’ भनिने बद्रीप्रसाद अर्याललाई विष्टले मुक्कै हान्नुभएछ। अर्याल विष्टका दमालीमात्रै नभई उनीझैं झर्रो लेखक थिए। मुक्का खाएकै रात सदस्य बद्रीले कविता लेख्नुभयो, छपाउनु भयो। त्यसपछि राष्ट्रिय पञ्चायतको बैठकमा रूपचन्द्र काठमाडौँ जानुभयो। सदस्य बद्रीको कविता-पर्चा त्यहाँ पुगेछ। रूपचन्द्रले सोल्टीमोडको आफ्नो घरको भित्तामा र राष्ट्रिय पञ्चायतको भवनबाहिर आफैँले टाँस्दै एकप्रति भित्र लगी विशेष समयमा ‘‘मेराबारे यस्तो पर्चा आयो’’ भन्दै वाचन गर्नुभएछ। यति मात्र होइन, केही दिनपछि मकवानपुरको हाँडिखोला आउँदा विष्टले सान्नानीटारमा उनै सदस्य बद्रीलाई ‘मेरो कुरा बुझ्ने भाते’ भन्दै बखान गर्नुभएछ। यो कुरा अहिले पनि किम्बदन्ती बनेर बसेको छ।

हामी स्कुल पढ्दा रूपचन्द्र विष्ट गाउँमा आमसभा लिएर आउँदा पहिला बालबालिकाहरूसँग अन्तरक्रियात्मक संवाद गर्नुहुन्थ्यो। जस्तो:

रूपचन्द्रः घरमा बिहान चाँडै को उठ्छ?
बालबालिका: आमा।
रूपचन्द्र: राति अबेर को सुत्छ?
बालबालिका: आमा।
रूपचन्द्रः सम्पत्ति कसका नाममा छ?
बालबालिका: बुबा।
रूपचन्द्रः अनि मान्छे बराबर भयो त?
बालबालिका: भएन।

यसरी रूपचन्द्रले समानताको मुद्दा त्यतिखेरै  सिर्जनात्मक ढंगले उठान गर्नुभएको थियो।

सहकर्मी एकराज उप्रेती सुनाउनु हुन्छ, ‘‘काठमाडौँमा राति बोरा बोकेर जुत्ता खोज्न पठाउनु हुन्थ्यो, रातभर जुत्ता खोज्ने, भोलिपल्ट जोडा मिलाउने र जनतालाई बाँड्ने काम लगाउनु हुन्थ्यो, जनतासँग पैसा छैन, जुत्ता लगाउने रहर पुरानोबाट पनि पूरा गरिदिनु पर्छ भन्ने उहाँको सोच थियो।’’ 

बहुदल आएपछि दल दर्ता गरेर २०४८ सालको निर्वाचनमा नेकपा जनमुखीका नाममा निर्वाचन लड्नु भएका उहाँको बहुदल कालको राजनीति सफल हुन सकेन। जुन वर्गको जागरणको लागि रूपचन्द्रले सारा जीवन अर्पित गर्नु भएको थियो, त्यही वर्गले रूपचन्द्रलाई चुनावमा जिताएनन्। २०४८ सालको चुनावमा नेकपा ‘जनमुखी’ को तर्फबाट चुनाव लड्नुभएका रूपचन्द्रको जमानत जफत भयो। २०४७ सालमा रूपचन्द्र सल्लाहकार रहेर खोलिएको नेकपा ‘जनमुखी’ पार्टी नेकपा एकता केन्द्रमा समाहित भयो।

सम्भवतः आफ्नै राजनीतिक सहकर्मीहरूका कारण  उहाँमा निराशा छायो। चिकित्सकले जे–जे नखानु भनेका थिए, त्यही खान थाल्नुभयो। सहयोगीलाई आफू मरेपछि आफ्नो लाशमा अबिर, माला नलगाउन, काजक्रिया नगर्न र लाशको राजनीति नगर्नु भन्ने सन्देश दिएका विष्टको मृत्यु २०५६ साल असार ७ गते ६६ वर्षको उमेरमा काठमाडौँमा भयो।

उहाँको मृत्युमा शंख बजेन। मृत्यु संस्कारमा पुरोहित राखिएन, धार्मिक संस्कार गरिएन। छोरा र भाइ हुँदाहुँदै उहाँको शवमा कमरेड सोनामले दागबत्ती दिनुभयो। मकवानपुरबाट पनि बस–ट्रक रिजर्भ गरेर काठमाडौँ गएकाहरू शवयात्रामा सहभागी हुनै पाएनन्।

मूल्यांकन मासिकमा श्याम श्रेष्ठले लेख्नु भएको छ, ‘‘राष्ट्रिय पञ्चायतको सदस्य हुँदा रूपचन्द्र विष्ट एक पटक पनि राम्रो रेस्टुरेन्टमा गएर खाएको देखिएन, लोकल ठर्राभन्दा राम्रो रक्सी किनेर खानु भएन, नयाँ कपडा किनेर कोट–पाइन्ट सिलाएको भेटिएन।’’ रेडक्रसले धरहरा र कमलाक्षतिर सस्तोमा बेच्ने लिलामे कोट पाइन्ट र सर्टमा देखिनुहुने रूपचन्द्र विष्ट ६३ रुपैयाँमा धरहरानिर किनिएको कोटले राष्ट्रिय पञ्चायत गुजार्नु भएको सहकर्मी रामनारायण बिँडारी बताउनुहुन्छ।

जीवनभर 'छाप्रे'हरूको जिन्दगी बदल्न आफू पनि छाप्रेकै हुलियामा रहेर महाप्रस्थान गर्नु भएका रूपचन्द्र विष्ट सैनिक-मेजरको छोरा हुनुहुन्थ्यो। ११ वर्षमै बुबासँग विद्रोह गरेर हिँड्नु भयो। सेनाको परिवार भएकाले काठमाडौँको सीताराम हाइस्कल पढ्नु भएका उहाँले मेजर बुबाबाट धम्की पाउनुभयो, ‘‘७ दिनभित्र या त घर छोड् या राजनीति छोड्।’’ सहकर्मीहरूका अनुसार, सायद त्यतिखेर रूपचन्द्र १४–१५ वर्षको हुनुहुन्थ्यो। सातौँ दिनमा उहाँले घरमा निधो सुनाउनु भयो र घर छोडेर हिँड्नु भयो। 

२००८ सालमा रूपचन्द्र काठमाडौँ जिल्लामा कम्युनिस्ट पार्टीको सदस्य हुनु भएको थियो। निर्मल लामा काठमाडौँ जिल्ला सेक्रेटरी हुँदा रूपचन्द्र दक्षिणी एरिया सेक्रेटरी भएको श्याम श्रेष्ठले मूल्यांकन मासिकमा लेख्नु भएको छ, ‘‘प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द र मरिचमान सिंहले रूपचन्द्रलाई मन्त्री पद र पैसाले किन्न प्रशस्तै प्रयत्न गरेका थिए। २०४० को दशकको सुरुतिर रूपचन्द्र नेपालमा दन्त्यकथाका नायकजस्तै हुनुभएको थियो। उहाँबारे थुप्रै कथा प्रचलित थिए, देशव्यापी रूपमा। प्रतिक्रियावादीका निम्ति रूपचन्द्र एक्लै पनि पन्छाउन मुस्किल चुनौतीको पहाडजस्तो हुनुभएको थियो।’’

छाप्राबस्तीमा चेतना जगाउने र परिवर्तन खोज्दाखोज्दै जीवन गुजार्नुभएका ज्याद्रो-इमानदार नेताप्रति भावपूर्ण श्रद्धाञ्जली।