मिर्मिरेमा पुगिएको पोखरा

सोचेँ– सुन्दर पोखरालाई आजीवन मनमा साँचिराख्ने योभन्दा सुन्दर अनुभूति अरू के नै हुन सक्छ र? मनमा प्रश्न खेल्न थाले–यो समयमा कसलाई फोन गर्नु?

जति बेला बहुप्रतीक्षित सगरमाथा संवादको अन्तिम तयारीमा नेपाल सरकार जुटेको थियो, त्यसैताका नेपाल प्रेस युनियनले जलवायुसँग सम्बन्धित त्यस्तै प्रकृतिको अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गरेको थियो। अन्तर्राष्ट्रिय मुद्दा बनेको जलवायु संकट र न्यायका विषयमा बहस शुरू गर्दै युनियन अन्तर्राष्ट्रिय तहमा यस मुद्दाबारे नेपाली पत्रकारको गाम्भीर्यबारे विश्वलाई स्पष्ट सन्देश दिन सफल रह्यो पनि।  

सन्दर्भ हो, युनियनले जलवायु परिवर्तनले पारेको असरबारे विश्व चेतना जागृत गर्न आयोजना गरेको लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया सम्मेलनका क्रममा पोखरा जाँदाको। युनियनले नयाँ वर्ष २०८२ को आगमनसँगै वैशाखको २७ देखि ३० गतेसम्म यो सम्मेलन आयोजना गरेको थियो। काठमाडौँदेखि पोखरा, जोमसोम र मुक्तिनाथ हुँदै लोमान्थाङसम्म पुगी विभिन्न सत्रमा आयोजना गरिएको यो सम्मेलन संरचनाका दृष्टिले निकै अभिनव र महत्त्वपूर्ण थियो। यस्तो संरचनामा नेपालमा विरलै मात्र कुनै कार्यक्रमको आयोजना हुने गरेको पृष्ठभूमिमा युनियनले अन्तर्राष्ट्रिय स्तरको कार्यक्रमको आयोजन गर्नु राम्रो हो।

कहिलेकाहीँ उद्देश्यपूर्ण कुराइ पनि समयको पर्खाइका कारण पट्यारलाग्दो भइदिन्छ। धेरैपछि यस्तै अवस्था बेहोर्नुपर्‍यो। कुर्न त मन थिएन तर नकुरी धरै पाइएन। कुर्नु बाध्यतामा बदलिएपछि मन त्यसै त्यसै खिन्न हुनुलाई कसरी अस्वाभाविक मान्ने?    

आयोजनाको पहिलो दिन (वैशाख २७ गते) काठमाडौँमा उपराष्ट्रपति रामसहायप्रसाद यादवद्वारा नेपाल, भारत, बांग्लादेश, भुटान, बुल्गेरिया र अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आइएफजे)का प्रतिनिधिको उपस्थितिमा कार्यक्रमको समुद्घाटन भयो। कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको उपस्थिति रह्यो। उद्घाटन सत्रपछि डा. हरि शर्माले संयोजन गरेको लोकतन्त्र, राजनीतिक दल, नागरिक समाज र पत्रकारिता विषयको संवाद रोचक थियो। प्राविधिक सत्रमा पूर्व मन्त्रीहरू दिलेन्द्रप्रसाद बडु, पार्वत गुरुङ, रेखा शर्मा र बुल्गेरियाका प्रतिनिधि वासिल सोतिरोभले विचारोत्तेजक धारणा प्रस्तुत गर्दै जलवायु परिवर्तनबारे लोकतन्त्रमा राजनीतिक दल, नागरिक समाज र पत्रकारिताको भूमिका महत्त्वपूर्ण हुनेमा जोड दिए। सत्रको निष्कर्ष थियो–जलवायु परिवर्तनका कारण विश्व समस्याग्रस्त बनिरहेको छ र यो पुस्ताले भावी पुस्तालाई यथास्थितिमै भए पनि प्रकृतिको हस्तान्तरण गर्न सम्भव छझैँ देखिँदैन, त्यसबारे गम्भीर हुनु जरुरी छ।    

काठमाडौँमा सम्पन्न पहिलो सत्रको समापनपश्चात् भोली आयोजन हुने सत्रहरूमा सहभागी हुन हामी पोखरा प्रस्थान गरिरहेका थियौँ। कतिपय व्यक्तित्व कि त आजै अथवा भोली बिहान हवाइजहाजमार्फत पोखरा जाने कार्यक्रम थियो तर हामीले गाडी यात्रा रोजेका थियौँ। गाडीमा पत्रकारहरू कृष्ण आचार्य, विश्वमणि पोखरेल, खगेन्द्र खत्री, झपेन्द्र गैरे, राकेश वश्याल, सरोज धिमाल, मेरा छोरा आदित्येन्द्र, प्रेस युनियनका अध्यक्ष शिव लम्सालजीका पुत्र सेफियन्स र उनका पाँच जना साथीसँगै थियौँ।

दिउँसो करिब तीन बजे होटेल हिमालय, ललितपुरको प्रागंणबाट प्रस्थान गर्दा हामीलाई संयोजन गर्ने जिम्मेवारी युनियनका उपाध्यक्ष ऋषिकान्त पौडेलले निर्वाह गरेका थिए। म रहेको गाडीको नेतृत्वका लागि जिम्मेवारी पाइए अनुरूप नै आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्ने प्रयत्न गरेँ। तर सबै कुरा सोचेअनुसार हुँदैन। यात्रामा निस्केपछि प्रत्येक यात्रीले सम्भावित अनपेक्षित अवस्था आत्मसात् गर्न तयार हुनुपर्छ। यस्ता अवस्थाका लागि मानसिक रूपमा तयार भइएन भने दुख र पीडाको थप कारण यात्रा बन्न सक्छ।

कलंकी पुगेपछि हामी थानकोटको बाटो नभई सीतापाइला हुँदै रामकोट, धार्केको बाटो हुँदै यात्रा गर्ने निष्कर्षमा पुग्यौँ। हाम्रो निर्णयसँग गाडी चालक सहमत देखिए। सीतापाइलाबाट करिब २५ किलोमिटरको दुरीमा अवस्थित छ धार्के। सडक पनि अहिले राम्रो र गाडीको भिडभाड पनि नहुने सोचका आधारमा हाम्रो यो निर्णय गलत थिएन। करिब करिब आधा काठमाडौँ र आधा धादिङ जिल्लामा पर्ने यो बाटो पछिल्लो दिनमा राजधानी प्रवेश गर्ने र बाहिरिने वैकल्पिक बाटोका रूपमा लोकप्रिय भइरहेको छ। स्थानीय गाउँले र कृषकका लागि वरदान बनेको यो सडक स्थानीय कृषि उपज बजारसम्म पुर्‍याउने अत्यन्त प्रभावकारी माध्यम बनेको छ। बाटोमा पर्ने खेतमा झुलेका कृषि उत्पादन र अन्य प्राकृतिक दृश्य हेर्दै अगाडी बढ्यौँ हामी। धार्के बजारमा, पृथ्वी राजमार्गमा जोडिने ठाउँमा यो सडकको धार्केतिरको मुख थोरै साँघुरो हुनुबाहेक यसमा अन्य कुनै समस्या छैन। मुख सानो भएकाले अलि ठुला सवारी साधन भने यो बाटोमा आवतजावत गर्न कठिन नै छ।

हाम्रो गाडी धार्के चोकबाट थोरैमात्र अगाडी पुगेको थियो, त्यसलाई थाक्रे भनिन्छ क्यारे! बीच सडकमा गाडी बिग्रियो। गेयर जाम भएछ। गाडी चालकले धेरै प्रयास गरे तर बनेन। शायद उनी चालक मात्र थिए, गाडीको मेकानिकल विषयबारे उनलाई थोरै पनि जानकारी थिएन। उनले फोनबाट कसैसँग लामै गफ गरेर सल्लाह त मागे तर कार्यान्वयन गर्न सकेनन्। हाम्रो गाडी यहाँ पुग्दा दिउँसोको करिब चार बजेको थियो। म, यात्राका लागि समन्वय गरिरहेका युनियन उपाध्यक्षद्वय जीवन भण्डारी र ऋषिकान्त पौडेलसँग निरन्तर सम्पर्कमा थिएँ। उनीहरू हामीभन्दा पछाडि नै थिए। हाम्रो गाडी बीच बाटोमै अडिएका कारण राजमार्गमा दुईतर्फी जाम बढ्न थालेको अनुभव गर्‍यौं, तर हामी के नै गर्न सक्थ्यौं? हाम्रो चालकले जति प्रयास गरे पनि उपलब्धि प्राप्त भएन। घडीको सुईले कुर्ने कुरो भएन। पाँच बजिसकेको थियो। यति बेरसम्म जीवन भण्डारीको नेतृत्वमा पछाडि रहेको बस पनि त्यहाँ आइपुगेको थियो। हाम्रो गाडीका कारण बस रोकिनुपर्ने कारण थिएन। हाम्रो सल्लाहपछि जीवनको नेतृत्वमा रहेको बस त्यहाँबाट प्रस्थान गर्‍यो। यहाँसम्मका हाम्रा सहयात्री सेफियन्स र उनका साथी पनि त्यही बसमा गए। हाम्रो समूहको आकार अब साँघुरिएको थियो। बाँकी रहेका हामी त्यहीँ कुराइमा पर्‍यौँ।

अनपेक्षित र अस्वाभाविक! तर हाम्रासामु अन्य कुनै विकल्प पनि त थिएन। हाम्रो चालकले हामीलाई जानकारी गराए–मैले काठमाडौँ फोन गरेर मेकानिक बोलाएको छु। उनी त्यहाँबाट हिँडिसकेका छन्। अब बढीमा एक घण्टामा आइपुग्छन्। हामीले घडी हेर्यौं, साढे पाँच बजिसकेको रहेछ। सोच्यौँ, ठिकै छ त, एक घण्टा लागेछ भने पनि सात बजेसम्म त यहाँबाट प्रस्थान गर्न सकिएला नि। यति सोच्दै हामी चिया खाँदै कुर्ने मनसायले नजिकै रहेको होटेल रियामा बस्यौं। करिब साढे सात बजेतिर मेकानिक आएको हामीले जानकारी पायौं। उफ्! पाँच घण्टा लामो कुराई। सोच्दै अत्यास लाग्ने। गाडी मर्मत गरेर त्यहाँबाट प्रस्थान गर्दा रातको करिब नौ बजेको थियो। मलाई लाग्यो,  गाडी चलाउन जानेर मात्र हुँदो रहेनछ थोरै मेकानिकल ज्ञान पनि आवश्यक पर्दो रहेछ। होइन भने त यसै कारण पनि लामो दुरीको यात्रामा अलपत्र पर्न सकिने रहेछ। अर्को कुरा, राजमार्गमा छोटो दुरीमा गाडी मर्मत केन्द्र (वर्कशप) आवश्यक छ। धार्के वा थाक्रेमा वर्कसप भएको भए शायद हामीले अनाहकमा पाँच घण्टा कुर्नुपर्ने थिएन। 

हामी रिया होटेलमा बसेका बेला युनियनका कोषाध्यक्ष माधव धिताल (साइनोले उनी मेरा भाञ्जा हुन्), ऋषिकान्त र खिला कार्कीले हाम्रो खोजखबर गरेका थिए। अलगै गाडीमा सवार उनीहरूले हामीलाई आफूहरू चुम्लिङटारस्थित होटेल सिद्धार्थमा कुर्ने जनाउ दिँदै गाडी बनेपछि त्यहीँ आउन भनेका थिए। हाम्रो गाडी बनेपछि मैले पहिलो फोन माधव, ऋषि र खिलालाई नै गरेको थिएँ। 

यो राजमार्ग काठमाडौँलाई बाँकी नेपालसँग जोड्ने मुख्य मार्ग हो। तर बाटो राम्रो छैन। मर्मत र विस्तारका नाममा निकै भयो यो बाटोले दुर्दशा भोगेको तर निकट भविष्यमै समस्या समाधान हुने कुनै छाँट छैन। करिब दुई घण्टापछि हाम्रो गाडी चुम्लिङटारस्थित होटेल सिद्धार्थको प्रांगणमा थियो। धिताल, कार्की र पौडेलका अतिरिक्त यहाँ पहिलेदेखि नै पत्रकार तेजप्रकाश पण्डित, रमेश तुफान, अनुज पत्रकार नारायण अधिकारीलगायत थिए। हाम्रो समूह पनि थपियो। हामीले त्यहाँ खाजा खायौं। अबेर साँझको खाजा विशेष हुनु स्वाभाविकै थियो। हामी अपवाद हुनुपर्ने कुनै कारण थिएन।

हामी त्यहाँबाट प्रस्थान गर्दा करिब साढे बाह्र बजेको थियो। मुग्लिङपछि पुल तरेर हाम्रो गाडी अब गण्डकी प्रदेश प्रवेश गरेको थियो। आँबु खैरेनीसम्मको बाटो केही समस्याग्रस्त भए पनि आँबुपछिको बाटो गण्डकी प्रदेशको विकासको गतिबारे अनुमान गर्न पर्याप्त थियो। पोखरासम्म बनिरहेको चार लेनको बाटोको धरै अंशले पूर्णता पाएको छ। रातको समय भएकाले दृश्य त धेरै अवलोकन गर्न पाइएन तर सडकमाथिको गाडीको गुडाइले राम्रै अनुभूति भइरहेको थियो। 

नेपाल प्रेस युनियन तनहुँको संयोजनमा भोजनको व्यवस्था शुक्लगण्डकीमा गरिएकोले  हाम्रो गाडी त्यहाँ रोकियो। साथीहरूले खाना खाए। मलाई भोक थिएन। नखाईकनै गाडीमा बसिरहेँ। हाम्रो गाडी पोखरा प्रवेश गर्दा बिहानको करिब साढे तीन बजेको थियो। काठमाडौँबाट प्रस्थान गरेको ठिक बाह्र घण्टापछि हामी पोखराको सडकमा गुडिरहेका थियौँ। अनिन्द्राका कारण थकित मानसिकतामा पोखराको पर्यटकीय आनन्दको अनुभूति सम्भव थिएन। यसअघि मैले पोखराको भ्रमण दिउँसो त धेरै पटक गरेको थिएँ, तर यो मिर्मिरे बिहानीमा सुन्दर पोखराको सुन्दर भ्रमणको अवसर भने मेरा लागि अनुपम छ।  

त्यसो त म धेरै पटक पोखरा आएको छु, तर यसरी बिहानी मिर्मिरेमा यहाँको यात्रा गर्ने अवसर यस अघि तीन पटक प्राप्त गरेको मलाई सम्झना छ। २०७८ सालमा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको आमन्त्रणमा यहाँ आउँदा बिहानको करिब छ बजेको थियो। त्यस बेला विराटनगरबाट यहाँसम्मको यात्रा गरेको थिएँ र पत्रकार नारायण शर्माले यात्राको व्यवस्थापन गरेका थिए। २०७९ को जेठमा पहिलो पटक मुक्तिनाथको यात्राका क्रममा हाम्रो गाडी मिर्मिरे बिहानीतिरै यहाँ आइपुग्दा हामी रोकिएका थिएनौँ। तर सबैभन्दा पहिले म पोखरा आएको २०४३ सालमा हो। म रारा बहुमुखी क्याम्पस, जनकपुरमा प्रवीणता प्रमाण तहको विद्यार्थी हुँदा शैक्षिक भ्रमणका सन्दर्भमा यहाँ आएको थिएँ। जनकपुरबाट बस यात्रा गर्दै यहाँ आइपुग्दा बिहानको करिब ५ बजेको मलाई झिनो सम्झना छ। यी सबैमा सबैभन्दा महत्त्वपूर्ण यस पटकको यात्रा रहेको छ भन्ने मेरो ठम्याई हो। 

मिर्मिरेमा लेकसाइडको भ्रमणको अनुभूति विशेष छ। पोखरा सामान्यता सुत्दैन भन्ने भनाई छ, तर यो समय शायद विश्रामको थियो। सडक किनारका बत्ती त सबै बलेका थिए, तर सडकमा मानिस भने थिएनन्। यही लेकसाइडको कुनै होटेलमा मेरो र छोराको बस्ने व्यवस्था छ भन्ने मलाई जानकारी दिइएको थियो। तर रातको समयमा होटेल खोज्नै कठिन। बिहानको करिब साढे चार बज्दा आकाशमा तारा टिलपिल गर्दैथिए्। मानौं, उनीहरू मसँग अब एक छिनपछि विश्राममा जाने अनुमति मागिरहेका थिए। कसै गरी होटेलसम्म त पुगियो। होटलको मूलद्वारमा उभिएर निकै बेर घण्टी बजाएँ। कुनै जवाफ आएन। एक छिन छेवैको सडक बत्ती मुनी आएर बसेँ। एक छिनपछि होटेलभित्रबाट एक जना भाइ बाहिर आए। उनीसँग कुरा भयो र थाहा भयो, मलाई भनिएको कोठामा अरू नै कोही बसिसकेका रहेछन्। ला ! पर्नु फसाद परिहाल्यो नि! ती भाइले होटेलको सबैभन्दा माथिको टहरोको एउटा कोठातर्फ संकेत गर्दै भने–अब अर्को विकल्प छैन सर। बिहान भइसक्यो, अब सुत्न त के सुत्नुहुन्छ? त्यहीँ गएर नित्य क्रिया सम्पन्न गर्नुस्। 

अब साँच्चै मेरासामु कुनै विकल्प थिएन। सोचेँ– सुन्दर पोखरालाई आजीवन मनमा साँचिराख्ने योभन्दा सुन्दर अनुभूति अरू के नै हुन सक्छ र? मनमा प्रश्न खेल्न थाले–यो समयमा कसलाई फोन गर्नु? कसलाई खोज्नु? बरु एक छिन यहीँ पल्टिनु बेस।