यू१६ इस्ट जोन कप : विपिन शर्माको कप्तानीमा टोली घोषणा

एसीसी पुरुष यू१६ इस्ट जोन कपका लागि क्यानले विपिनप्रसाद शर्माको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको छ।

काठमाडौँ– मलेसियामा आयोजना हुने एसीसी पुरुष यू१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ। 

असार ८–२१ गतेसम्म मलेसियामा हुने उक्त प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ (क्यान)ले विपिनप्रसाद शर्माको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको हो।

नेपाली टोलीमा कप्तान शर्मासहित उपकप्तान सूर्याशु कोइराला, शिवान्श बजगाईं, रौनक श्रीवास्तव, परिमर्जन यादव, अभय यादव, सचिन भट्ट, सुगम बुढाथोकी, सुयोग भट्टराई, सुसिल रावल, शुभम खनाल, प्रसिद्ध जैशी, जोय थापा र रोशन शाही छन्।

प्रतियोगितामा नेपालसहित विभिन्न १० टोलीको सहभागिता रहनेछ। सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। नेपाल समूह ‘ए’मा परेको छ। नेपालको समूहमा सिंगापुर, इन्डोनेसिया, भुटान र जापान छन्। समूह ‘बी’मा आयोजक मलेसियासहित थाइल्यान्ड, माल्दिभ्स, हङकङ र म्यानमार छन्। 

नेपालले यही असार ८ गते सिंगापुरसँग खेल्दै प्रतियोगिताको उद्घाटन गर्नेछ। हरेक समूहबाट विजेता र उपविजेता सेमिफाइनलमा प्रवेश गर्नेछन्। सेमिफाइनलका विजेताबीच असार २१ गते उपाधिका लागि प्रतिस्पर्धा हुनेछ।