राजुनाथ पाण्डेलाई नगर प्रहरी प्रमुखकै पदमा रहन दिन उच्च अदालतको अन्तरिम आदेश

उच्च अदालत पाटनले राजुनाथ पाण्डेलाई काठमाडाैँ महानगरपालिकाको नगर प्रहरी प्रमुखकै पदमा रही काम गर्न दिन बुधबार अन्तरिम आदेश जारी गरेको छ।

काठमाडाैँ– उच्च अदालत पाटनले राजुनाथ पाण्डेलाई काठमाडाैँ महानगरपालिकाको नगर प्रहरी प्रमुखकै पदमा रही काम गर्न दिन बुधबार अन्तरिम आदेश जारी गरेको छ।

न्यायाधीश ऋषि राजभण्डारी र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले पाण्डेमाथि भइरहेको छानबिनको अन्तिम किनारा नलागेसम्म उनलाई निलम्बन गर्न आवश्यक नरहेको भन्दै सोही पदमा रही काम गर्न दिन महानगरलाई आदेश गरेको हो।

महानगरका मेयर बालेन्द्र शाहको मौखिक निर्देशनमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कार्यालय प्रवेशमा रोक लगाउन खोजेको विषयमा पाण्डेसँग ७ बुँदे स्पष्टीकरण सोधिएको थियो। पाण्डेले जेठ १२ गते स्पष्टीकरण बुझाएका थिए। यस्तै, जेठ २० मा उनीमाथि छानबिन गर्न ६ महिनाका लागि निलम्बन गरिएको थियो।

उक्त निलम्बनविरुद्ध पाण्डेले मंगलबार उच्च अदालतमा उत्प्रेषणको रिट दायर गरेका थिए। सोही रिटमाथि अन्तरिम आदेश जारी गर्दै पाण्डेलाई निलम्बन नगर्न भनिएको हो।

"सुविधा र सन्तुलनको दृष्टिकोणमा उल्लेखित जाँचबुझ समितिको कामकारबाही अघि बढाउन यी निवेदकलाई तत्काल निलम्बन गर्नुपर्नेसम्मको अवस्था देखिएन," आदेशमा उल्लेख छ।