स्कटल्यान्डविरुद्ध नेपाल २ विकेटले विजयी

करण केसीले यही खेलमार्फत टी२० अन्तर्राष्ट्रिय क्रिकेटमा १०० विकेट पूरा गरे। करण सो उपलब्धि हासिल गर्ने नेपालको दोस्रो बलर हुन्।

काठमाडौँ– त्रिकोणात्मक टी२० अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले स्कटल्यान्डलाई दुई विकेटले पराजित गरेको छ। 

स्कटल्यान्डको ग्लास्गोमा भएको खेलमा घरेलु टोलीले दिएको ९८ रनको लक्ष्य नेपालले १९.५ ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्‍यो।

नेपालको जितमा ओपनर कुशल भुर्तेलले ३० रनको योगदान दिए। साथै दीपेन्द्रसिंह ऐरीले १४, बसिर अहदमले १३ र किरण ठगुन्नाले १० रनको योगदान दिए। 

स्कटल्यान्डका मिचेल लिक्स र साफयान सरिफले समान २ विकेट लिए। साथै ब्रेन्डन म्याककुलन, मार्क वाट, ज्याक जारभिस र जास्पर डेभिडसनले समान १ विकेट लिए।

त्यसअघि पहिले ब्याटिङ गरेको स्कटल्यान्डले १९.४ ओभरमा अलआउट हुनुअघि ९७ रन बनाएको थियो। उसका लागि मिचेल लिस्कले सर्वाधिक ४६ रनको योगदान दिए। कप्तान म्याथ्यु क्रसले १५ र ब्रेन्डन म्याकमुलनले १० रन बनाए।

नेपालका लागि सन्दीप लामिछानेले ४ विकेट लिए। करण केसी र दीपेन्द्रसिंह ऐरीले समान २ विकेट लिए। ललितनारायण राजवंशीले १ विकेट लिए। करण केसीले यही खेलमार्फत टी२० अन्तर्राष्ट्रिय क्रिकेटमा १०० विकेट पूरा गरे। करण सो उपलब्धि हासिल गर्ने नेपालको दोस्रो बलर हुन्। यसअघि सन्दीप लामिछानेले १०० विकेट पूरा गरिसकेका छन्।

खेलको प्लेयर अफ द म्याच सन्दीप लामिछाने भए।