कोशी, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना

देशभर मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भने भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना छ। 

काठमाडौँ– कोशी, मधेश, बागमती, गण्डकीका केही भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका केही भागमा मनसुनी वायुको प्रभाव रहेको छ।

पश्चिम भूभागमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना छ। 

महाशाखाका अनुसार राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।