वन मुद्दामा भरत थापा ५० लाख धरौटीमा रिहा

वनसम्बन्धी मुद्दामा सर्लाही जिल्ला अदालतले बागमती नगरपालिकाका निलम्बित नगर प्रमुख भरतबहादुर थापालाई ५० लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ।

रौतहट– सर्लाही जिल्ला अदालतले बागमती नगरपालिकाका निलम्बित नगर प्रमुख भरतबहादुर थापालाई ५० लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ।

डिभिजन वन कार्यालय, सर्लाहीले थापासहित ६ जनाविरुद्ध वैशाख ११ गते सर्लाही जिल्ला अदालतमा ‘वन अतिक्रमण, ताल निर्माण, ढुंगागिट्टी, बालुवा, माटो उत्खनन गरी हानि नोक्सानी गरेको’ कसुरमा मुद्दा दायर गरेको थियो।

अदालतमा आइतबार भएको थुनछेक बहसपछि न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले थापालाई ५० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको सर्लाही जिल्ला अदालतका सूचना अधिकारी सिकिन्दर कापरले जानकारी दिए। उनका अनुसार थापा ५० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन्।

उनीविरुद्ध सागरनाथ वन विकास परियोजनाको मातहतमा पर्ने वनको जग्गा अतिक्रमण गरेर बागमती माछा पोखरी (भरत ताल)निर्माण गरेको भन्दै मुद्दा दायर भएको थियो। 

डिभिजन वन कार्यालयले थापासँगै बागमती नगरपालिकाकी निलम्बित उपप्रमुख लीलाकुमारी मोक्तान, नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल, तत्कालीन लेखा अधिकृत विश्वराज पोखरेल, इन्जिनियर सागर पौडेल र जिल्ला समन्वय समिति सर्लाहीका तत्कालीन प्रमुख मेथुर चौधरीविरुद्ध पनि मुद्दा दायर गरिएको थियो।

सर्लाही जिल्ला अदालतबाट धरौटीमा रिहा भए पनि थापाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेका भ्रष्टाचारसम्बन्धी दुई वटा मुद्दा विचाराधीन छन्।