अर्हत्: मौनताको यात्रा र स्पेसको आविष्कार

उपन्यासमा देखाइएका सारिपुत्त, अनाथपिण्डक, अजातशत्रु र आनन्दजस्ता पात्रहरू धार्मिक अभ्यासमा संलग्न छन्। तर तिनको जीवनमा करुणा, समता वा आत्म शुद्धिको अभाव स्पष्ट देखिन्छ।

धर्म, दर्शन र साहित्यको त्रिवेणी जब एउटै लयमा बग्छन्, तब सिर्जनामा केवल शब्दहरूको जमघट मात्र हुँदैन। जीवनको एउटा भित्री तहलाई चिहाउने आँखीझ्याल बन्ने गर्छ। शैलेन्द्र अधिकारीद्वारा लेखिएको उपन्यास ‘अर्हत्’ यस्तै एउटा सिर्जनात्मक उपलब्धि हो, जसले पाठकलाई कथा भन्नुभन्दा पहिला अनुभूत गराउँछ र अनुभूत गराइसकेपछि मात्रै त्यस कथाको अभूतपूर्व पटाक्षेप गराउँछ। यस उपन्यासले बाह्य जीवनको वृत्तान्तलाई आदिम कथाको गोहो पछ्याएर अन्ततः गहिरो आन्तरिक यात्रातर्फ डोर्‍याउँछ। जसका कारण हामी आत्म साक्षात्कारतर्फको अनन्त यात्रामा मौन प्रस्थान गर्न पुग्छौँ। 

‘अर्हत्’ शब्द आफैमा गम्भीर, बौद्धिक तथा आध्यात्मिक अवधारणा हो। बौद्ध परम्परामा ‘अर्हत्’ भन्नाले त्यो व्यक्तिलाई जनाइन्छ, जसले सांसारिक दुःख, मोह र तृष्णालाई सहजै त्यागी निर्वाणको अवस्था प्राप्त गरिसकेको हुन्छ। मर्मज्ञ पाठकले यहाँ बुद्धत्वको बाटोमा अनवरत हिँड्दै बुद्ध बन्ने सीमासम्म पुगिसकेको एक अन्तर्साक्षीजस्तो अनुभव गर्न सक्छन्। शैलेन्द्र अधिकारीको उपन्यासमा यो अर्हत् केवल एउटा अवधारणा मात्र होइन, एउटा संवेदनशील यात्रा हो। जसलाई लेखकले बौद्ध दर्शनको पृष्ठभूमिमा आधुनिक, मनोवैज्ञानिक, सामाजिक र सांस्कृतिक संवेदनाहरूसँग गाँसेर प्रस्तुत गरेका छन्।

यस उपन्यासको कथा प्राचीन बुद्ध कथाको घटनामा मात्र आधारित छैन। यो पुस्तक घटनाहरूको सतही विकासभन्दा गहिरो, सूक्ष्म र मानसिक तहहरूमा समेत तरेली परेर बगेको पाइन्छ। सरसरती हेर्दा सिद्धार्थ, यशोधरा, विशाखा, देवदत्त र महाकश्यपजस्ता पात्रहरू बाहिरी रूपमा सामान्य लाग्न सक्छन्। जो धार्मिक आस्थामा बाँचेका, इतिहास र परम्परासँग गहिरो सम्बन्ध बोकेका र जीवनका विभिन्न सङ्घर्षमा फसिरहेका जस्ता पनि देखिन्छन्। तर, तिनको चेतना स्थिर छैन। ती निरन्तर आफूभित्रका प्रश्नहरूसँग जुधिरहेका छन्। मूक पीडाहरूको सामना गरिरहेका छन्। तिनले शनैः शनैः आत्म–सार्थकता, अर्थ वा मुक्तिको मार्ग खोजिरहेका छन्।

अधिकारीले यस उपन्यासको भाषा र शैलीमा विशेष दक्षता प्रदर्शन गरेका छन्। उनका वाक्यहरू केवल भावनात्मक नभई बौद्धिक छन्। उनी दर्शनको जटिल संरचनालाई अत्यन्त सरल तर गहिरो भाषामा व्यक्त गर्छन्। उपन्यासको कुनै पनि अंश उपदेशात्मक छैन। बरु यहाँ लेखकले दर्शनलाई पात्रहरूको व्यवहार, संवाद, मौनता र अन्तर्विरोधमार्फत उजागर गरेका छन्। यसरी दर्शन उपन्यासमा पाठ्य अवधारणाबाट जीवन्त यथार्थमा रूपान्तरण हुन पुगेको देखिन्छ। 

‘अर्हत्’ मा केही पात्रहरू स्पष्ट छैनन्, उनीहरू अनिश्चित छन्, प्रश्नमा छन्। कहिलेकाहीँ उत्तरको छेउ पुगेर पनि पछि फर्किएका छन्। यस अनिश्चितता नै उपन्यासको एउटा ठूलो विशेषता हो। जसले पाठकलाई सोध्न प्रेरित गर्छ, तर जवाफ दिएर थकाउँदैन। उदाहरण स्वरूप, जब एक पात्र मौन हुन्छ, उसले केवल संवाद टारिरहेको हुँदैन। उसले भित्र कतै आफूभित्रको युद्धलाई नियालिरहेको हुन्छ। यस्तो मौनताको सूक्ष्म अध्ययन नेपाली उपन्यासमा कमै पाइन्छ।

समाजका तल्ला तहहरूमा पुगेको धार्मिक विचलन र परम्पराको गहिरो आलोचनालाई पनि उपन्यासले मौनताकै भाषामा उभ्याएको छ। यहाँ धर्मलाई पूजा र संस्कारको विषयमा मात्र पनि हेरिएको छैन। यो जीवनदृष्टिको एक प्रश्न हो। उपन्यासमा देखाइएका सारिपुत्त, अनाथपिण्डक, अजातशत्रु र आनन्दजस्ता पात्रहरू धार्मिक अभ्यासमा संलग्न छन्। तर तिनको जीवनमा करुणा, समता वा आत्म शुद्धिको अभाव स्पष्ट देखिन्छ। लेखकले एक प्रकारको सामाजिक पाखण्डप्रति साङ्केतिक रूपमा औँला उठाएका छन्। जहाँ दर्शन केवल वाणीमा बाँच्छ, व्यवहारमा होइन।

‘अर्हत्’ धार्मिक चेतनाको पुनःपाठ हो, आजको समाजमा हराउँदै गइरहेको सहिष्णुता, मौनता र अन्तर्दृष्टिको पुनरागमन समेत हो। उपन्यासले पाठकलाई निरन्तर ‘भित्र फर्क’ भन्ने मौन आग्रह गर्छ। यस्तो आग्रह कहीँ कतै धमिलो छैन। संवेदनशील छ, विवेकशील छ र कहिलेकाहीँ यस्तो प्रयोग असहज पनि लाग्न सक्छ। किनभने, आफूभित्र फर्कने कार्य सधैँ सजिलो हुँदैन। त्यहाँ प्रश्नहरू छन्, गल्तीहरू छन्, पुराना घाउ छन् र त्यहीभित्र कतै उत्तरको झल्को पनि छ।

शैलीको दृष्टिले पनि उपन्यास परम्परागत संरचनाभन्दा भिन्न बन्न पुगेको छ। यो उपन्यासको समयरेखा सधैँ अगाडि बढेको छैन। कहिले स्मृतिमा फर्केको छ, कहिले स्वप्नमा घुसेको छ। कहिले वर्तमानलाई टुक्राउन पुगेको छ। यस्तो शैलीले उपन्यासलाई कथा वाचन जस्तो मात्र नगराएर चेतनाको एउटा बलियो धारका रूपमा उभ्याएको प्रतीत हुन्छ। यहाँ पाठकले घटनाको अनुगमन गर्नुका साथै पात्रसँगै सोच्ने र महसुस गर्ने तहमा आफूलाई पुर्‍याउन सक्छन्। कथालाई यसरी चेतनासँग गाँस्न सक्नु उपन्यासकारको उच्च सिर्जनात्मक क्षमताको प्रमाण हो।

संकेत र प्रतीकहरू उपन्यासको अर्को महत्त्वपूर्ण पक्ष हुन्। पात्रहरूको यात्रा, गुम्बाका सिँढी, धूपको मुस्लो, झरेका पात, ढुङ्गे पाटीलगायत यी सबै बिम्ब दर्शनसँग प्रत्यक्ष–अप्रत्यक्ष रूपमा गाँसिएका छन्। यी प्रतीक दृश्य सजावटका लागि मात्रै अवश्य प्रयोग भएका होइनन्। तिनीहरू उपन्यासको अर्थ खोल्ने चाबी हुन्। उदाहरणका लागि एक पात्रले गुम्बाभित्र शिर निहुराउँदा उसले केवल परम्परालाई सम्मान गरिरहेको हुँदैन। ऊ आफ्नो ‘अहं’ त्याग गर्ने प्रयास गरिरहेको हुन्छ। जसलाई हामी एक प्रकारको आत्म–समर्पणको रूपमा बुझ्न सक्छौँ।

यस्तो सूक्ष्म सङ्केत र विवरणले उपन्यासलाई बहुस्तरीय बनाउँछ। एउटै पङ्क्तिमा पाठकले जीवन, दर्शन र कविता तीनैको स्वाद पाउँछ। लेखकको लेखनीमा अनुभूतिको सघनता यति गहिरो छ कि कतिपय वाक्य पढेर पाठक चुप लाग्न चाहन्छ— बोल्न होइन, महसुस गर्न। यस उपन्यासमा यति धेरै विचार, दर्शन र अनुभूति समेटिएको छ कि एकै पटकमा सबै ग्रहण गर्न कठिन लाग्न सक्छ। तर, यही पुनरावृत्तिपूर्ण पठनीयता नै उपन्यासको खास शक्ति हो।

उपन्यासको प्रभाव यति गहिरो हुन्छ कि कथा सकिएपछि पनि पाठक मौन रहन बाध्य हुन्छ। जसरी पूजापछि कुनै मन्त्र दोहोरिन बन्द भए पनि त्यसको तरङ्ग दिमागभित्र बजिरहन्छ। यो मौनता कुनै अन्त्यको सङ्केत होइन— त्यो सोचको सुरुवात हो। उपन्यासले पाठकलाई उसैको निजी जीवन, निर्णय र अन्तर्विरोधहरूसँग जुध्न बाध्य पार्छ। र, त्यहीँ कतै, कुनै पुरानो प्रश्नले पुनः टाउको उठाउँछ— ‘के म पनि अर्हत् बन्न सक्छु?’

अधिकारीको ‘अर्हत्’ समयसँगै पुरानो नहुने कृतिमा पर्छ। समयका नयाँ तहमा अझै सान्दर्भिक बन्दै जान्छ। यो उपन्यास धार्मिक पाठकका लागि मात्र होइन, दर्शनप्रेमी, साहित्यप्रेमी र जीवनप्रेमी सबैका लागि हो। यस्ता कृतिले भाषा, विचार र भावनाको अन्तर्यात्रा सम्भव बनाउँछन्।

नेपाली साहित्यका आजका धेरै कृति घटना, रोमान्स वा राजनीतिक विमर्शमा केन्द्रित छन्, त्यहाँ ‘अर्हत्’ जस्तो कृति मौनताको महत्त्व, आत्म परीक्षणको शक्ति र करुणाको सार्वभौमिकता सम्झाउने माध्यम बनेर प्रस्तुत भएको छ। यस्तो साहित्य केवल पढिन्छ होइन, सँगालिन्छ। जीवनका विभिन्न मोडमा फेरि फर्केर पढिन्छ। र, हरेक पटक नयाँ अर्थ, नयाँ अनुभूति, नयाँ प्रश्न लिएर फर्किन्छ।

‘अर्हत्’ नभनिएका सत्यहरूको रहस्योद्घाटन गर्ने आख्यान हो। यो दार्शनिक अनुभूति हो। सिर्जनात्मक साधना हो। र, सबैभन्दा महत्त्वपूर्ण कुरा, पाठकका लागि पनि यो एक आन्तरिक यात्रा हो। एक त्यस्तो यात्रा जसको अन्त्य लेखकले दिएका छैनन्, पाठक आफैँले बनाउनु पर्छ। कारण, अर्हत् बन्ने यात्रा कुनै पात्रको होइन, अन्ततः त्यो हामी सबैको सम्भावनाको मार्ग हो।