‘म एकछिनको घटना होइन चटक्कै बिर्सन!’

रसिक आफ्ना दौँतरी भोजपुरेझैँ मन खोलेर हाँस्थे। हाँस्दा–हाँस्दै आँशु झार्थे। अनि भन्थे– आफू रोएको किन देखाउनु कसैलाई?

काठमाडौँ– दशैँ टीकाको साइत निकै ढिला परेको मौका छोपेर २०८० कात्तिक पहिलो साता हामी ताप्लेजुङ, पाथीभरा (मुक्कुम्लुङ) उकालिएका थियौँ। चाडबाडको धपेडीमाझ पनि पाथीभरा पुगिछाड्ने यो हत्तेसहितको ‘अन्तिम इच्छा’ अरू कसैको थिएन, उनै गणेश रसिकको थियो।

क्यान्सर रोगले थलिएर र शारीरिक–मानसिक शिथिलता थपिँदै गएपछिको अन्तिम इच्छा थियो– पाथीभरा। अहिलेजस्तो केबलकार बनाइछाड्ने र नछाड्नेको चर्को कुरा उठिनसकेको समय भए पनि मुन्धुमी किल्लामा विकास–समृद्धिका नाममा धावा बोल्ने क्रम भने शुरू भइसकेको छनक बाटामा पाइन्थ्यो। 

स–साना चिया पसलमा पनि लिम्बुवान, पहिचान र बाहुनसत्ताबारे चर्का गफ सुनिँदै गर्दा हामी भने ७७ वर्ष टेक्नै लागेका रसिकलाई माथि पाथीभरासम्म बोकेर लैजाने र ल्याउने कोही मनकारी खोज्दै थियौँ। काफ्लेपाटीबाट ५ किमी माथिको उकालो नाघ्न भरिया चाहिने नै भयो। संयोगले नजिकै फावाखोला बस्ने दुई तन्नेरी प्रदीप भट्टराई र दिल विष्ट भेटिए, जो रसिकलाई डोको–नाम्लोका भरमा पाथीभरा टुप्पोमा पुर्‍याएर ल्याउन सहमत भए।

आफूलाई पाथीभरा बोकेर लैजाने सहयात्री प्रदीप भट्टराई र दिल विष्टका बीचमा रसिक।

“हत्तेरी, यसरी जिन्दगीमा कसैको ढाडमा बोकिएको थिइनँ। सकिन्जेल घिस्रिनु बरु, कसैमा नबोकिनु है छोरा भन्थे बुबाले पनि। धन्य, यो पहाडमा कसैले चिन्दैन,” रसिक भन्दै थिए। काफ्लेपाटीको लोकल होटलबाट बिहानी झिसमिसेमा उठ्नासाथै रसिकलाई प्रदीप भाइले ढाकरमा हालिहाले, तन्नाले बेरिएको पाल्कीजस्तो साधन! रसिकका र बाँकी झोला भिर्दै अर्का पथप्रदर्शक दिल विष्ट पछिपछि थिए।

अनि शुरू भयो, देशमा आएको परिवर्तन र हेराफेरिका अनेक बातचित। ढाकर भारीको माथि रसिक बसेका छन्, सधैँझैँ बोलिरहने स्वभावमा आफू अशक्त भए पनि बोलिरहेकै छन् आलातुल। “यी बाहुनले हामी जनजातिलाई गरिखान दिएनन्, चुच्चा–नाकेले हामी थेप्चा नाकेलाई उठ्नै दिएनन् भनेर बर्षौंदेखि हामीले पढिरहेकै छौँ। हरे मेरो खप्पर! म भने एउटा भट्टराई सहयात्रुको भरमा छु, अर्को पनि भट्टराई बाहुनकै काँधमा बसेको छु,” सधैँको रसिलो मिसाजका रसिक ख्यालमै गहिरो कुरा गरिरहेका हुन्थे, “तर, दुवै भट्टराई भाइहरू चिन्ता नगर है...हाम्रो छिनामखुतिर चलेको आहान छ– आधा भट्ट आधा राई, किरातीको दाजुभाइ!”

माथि गुराँसेडाँडामा भेटियो, भट्टराई होटल। संयोग कस्तो भने भरिया भाइ प्रदीपको आफ्नै होटल रहेछ यो। यहाँ चियापानीमा सुस्तायौँ, रसिकलाई ढाकरबाट उतारेर। “हत्तेरी ढाकर माथि त हिर्दोक होइनेरहेछ, सुसु आयो भन्न पनि नपाइने,” फेरि रसिक बनिरहेका थिए रसिक। रसिकका मुखमा ‘हिर्दोक’ शब्द आइरहन्थ्यो, अर्थ उति होस् कि नहोस्!

“अनि भाइ कुन पार्टी नि?,” बाटो नापिरहँदा रसिक बोलिरहेका हुन्थे। 

“जसले जितो उसैको नि सर हामी त। अहिले त हाम्रै कुलवंश भट्टराई(योगेश) नै हो क्यारे,” प्रदीप जवाफी बन्न सिपालु सुनिन्थे। 

“ल उसोभा नकुरा गरम्, जतै नि किरातीका दाजुभाइ…”, रसिक बात–बिसौनी हुन्थ्यो। 

बलुडाँडा, माथ्लो फेदी, कान्छीथान हुँदै पाथीभरा पुगिन्जेल बात बिसाएनन् रसिकले। “होइन सर, अब नबोल्नुस् है। धेरै उचाइ छ, स्याँस्याँ बढ्छ, मुश्किल हुन्छ,” भन्दै प्रदीप सम्झाइरहेका हुन्थे, तर रसिकले माने त! 

“अरू चैँ ठीकै हो। माथि उक्लिँदा हरेक घुम्ती र देउरालीमा नमिठो दुर्गन्ध मिसिएको स्याँठ चल्ने रहेछ। यसको कारण के हो नि भाइ?,” मास्क लगाएकै भए पनि उनले त्यो गन्ध पत्तो पाउँदै सोधेका थिए।

“के गर्ने सर, माताको शरणमा जाने त भन्यो नि। तर बाटोमा न शौचालय छ, न पिउने पानी वा राम्रो ओतको व्यवस्था छ। यसो अलिकति घुम्ती–देउराली भेटियो भने शौचादी कर्म गर्नैपर्‍यो क्यारे,” ढाकर नबिसाई हिँडिरहेका प्रदीपले गन्धको कारक–कारण दुवै खुलाए। 

माथि डाँडामा केबलकार लैजाने होहल्लाका माझ तल फेदीमा हिँड्ने यात्रुको चिन्ता अर्कै थियो– चर्पीको खोज! 

चलिरहेको कुराको मेसो टुंगिन पाएकै थिएन, रसिक अरुतिरै लागिहाल्थे। निकै अस्थिर लाग्थे उनी, छिनभरमै मनमा आउजाउ गरिरहने अनेक सम्झना र विगत–आगतलाई विशृंखल तालमा पस्किन्थे उनी। “मेरो एउटा गीत सुन्नुभाछ कि? यी भाइले अहिले मलाई बोकिरहेका छन् तर, पैताला मेरो दुःखेझैँ भएको छ। गीतमा ताल मिलाइहेर्न पो यस्तो भएको हो कि?,” रसिकले उहिल्यै भोजपुर–धनकुटा पैदल हिँड्दाको अनुभूतिमा लेखिएको गीतको एउटा स्थायी सम्झे, सुसाएको स्वरमा:

हिँड्दाहिँड्दै पैतालाले
बाटोसँग सोध्यो
म हिँड्दा त दुख्छु भने
टेकिनेलाई कति दुख्यो!

पछिल्ला चार वर्षयता प्रोस्टेट क्यान्सरले च्याप्दै गएपछि रसिकका अनेक इच्छा ब्युँतिन थालेका थिए। आफूभन्दा अघि एकमात्र छोरो र श्रीमती समेतले छाडेर गएपछि बढी एकान्तिकझैँ बनेका थिए। अनि, मौका मिल्नासाथै कहिले अनामनगरको ‘डालो’ रेस्टुराँ वा कहिले मैतीदेवीको कुनै थकाली कुनोमा बसेर ‘मेरो अतीतलाई कहाँ भेटौँ’ भन्दै स्मृतिका अनेक पत्र उक्काइरहेका हुन्थे। 

ती हरेक भेट वा फोनवार्ताका अन्तरंग क्षणमा जीवनको अन्तिम इच्छाबारे सूत्रबद्ध भएर सुनाउने गर्थे। रोग, उमेर र अरू अवस्थाका कारण मुक्तिनाथ वा स्वर्गद्धारी पुग्न नसके पनि कुनै सहज उपायबाट पाथीभरा जाने इच्छामा गएर उनी अडिएका हुन्थे। सुनिएअनुसार, भेडेटार–पाथीभरा हेलिकप्टर सर्भिस रहेको थाहा पाएर एकपटक त्यहाँका उद्यमी जितेन्द्र रुम्दाली राईसँग बातचित पनि भएको थियो, उनैको भेडेटार रिसोर्टमा पुगेर। तर, आर्थिक र अन्य कारणले सम्भव भएको थिएन। 

‘लौ न, मैँले सपनीमा पनि पाथीभरा मातालाई देखिसकेँ। एकपटक जसरी पनि जाऊँ है’ भन्दै आफ्नो सपना र अन्तइच्छा सहितको फोन आएपछि हामी रसिकका भतिज सन्तोष राईको भरथेग साथमा लिएर पाथीभरा उकालिएका थियौँ।

‘हे माता, लौ है म आइपुगेँ,’अन्तर्मनको यात्रामा डोरिँदै ३ हजार ७९४ मिटर उचाइको आध्यात्मिक विन्दुमा पुग्नासाथै रसिक पाथीभरा देवीमूर्तिको सामुन्ने लम्पसार परेका थिए, अनुनय–विनय र विश्वासको प्रणाम मुद्रामा।

“मैँले श्रीमती निरालाई पाथीभरा र मुक्तिनाथ लैजानेछु भनेर बाचा गरेको थिएँ। तर सकिनँ। त्यसको प्रायश्चित पनि हो यो मेरो यात्रा,” धेरैबेर मौन प्रार्थना गरेपछि हामी सबैले सुन्नेगरी रसिकले मनचिन्ता सुनाएका थिए। अनि आफ्ना सपना–जपना, अधुरा इच्छा र अपुरा बाचालाई मुक्कुम्लुङको त्यही धाममा बिसाउँदै त्यो टुप्पोमा उनले सबैभन्दा बढी आफ्नी श्रीमती निरा र छोरी निरजाको नाम सस्वर लिँदै लामो प्रार्थना गरिरहे। 

फेरि उसैगरी, ‘नुनजस्तो बिल्ने जिन्दगीलाई ढाकरमा बोकेर’ रसिक फटाफट ओरोलो लागे– शान्त र मौन मुद्रामा।

हीरा होइन, मोती होइन
किन्न खोजेर पाइँदैन
मुस्कानजस्तो सस्तो छैन
तिमीलाई दिएको मेरो माया!’

रसिक सधैँजसो स्वभावले अस्थिर थिए, मनले चाहिनेभन्दा बढी भावुक। कुनै कोठे गायकी भेलामा सहभागी हुन अघिल्लो दिन ती धरान पुग्थे, भोलीपल्ट पाँचथरको रवि। साँगुरीगढीको चिप्लेटी छेउ पुगेर सुनाउँथे– मेरो अतीतलाई कहाँ भेटौँ? लगत्तै भन्थे– तल बसाहामा आफन्ती बुलुले बोलाको छ, त्यता जाँदैछु। भेडेटारको चीसो खाने कि कोवाङ–लेतेको ससुराली मेजमान? होइन, दार्जीलिङतिर शान्ती ठटाल दिदी भेट्न जाने कि तल मेथीबारीमा आइबी राईको दर्शनमा पुग्ने? ‘दशगजामा उभिएर’ कृति त्यसै जन्मिएको थिएन, त्यो संस्मरणका हरेक शीर्षक र बाक्य–बिन्यास फिक्कल–बिजनबारी–मेथीबारी हाम्रो सहयात्राका परिणाम थिए।

गीत–संगीतका कुरामा आफै शब्द, संगीत र पैसासमेत उधारोमा दिन्थे, त्यसमा पनि बिशेषगरी नवोदित नारी स्वरलाई प्रोत्साहित गरिरहन्थे। त्यो कुरो निकै पछि थाहा लाग्थ्यो। बेलायत बस्ने छोरी निरजाले दिने सरसल्लाह उनी निकै मनन गर्थे तर, कतिपय कामकुरा कसैलाई पत्तो नदिई गरिरहेका हुन्थे– न साक्षी न सदर! 

तत्कालीन एमाले नेता झलनाथ खनाललाई त्यो क्षेत्र (इलाम–१)मा चुनाव लड्न केही जमिन वा सम्पत्तिको स्थायी ‘दुम्मु’ त चाहिन्थ्यो नै। नेता खनालको छटपटी थाहा पाएर आफ्नो फिक्कल, रम्फोक साँधसिमाको केही जमिन रसिकले हिसाबमै दिएका थिए कि सित्तैमा? कहिल्यै थाहा भएन। फिक्कलमा घर नजिकैको सरकारी विद्यालय होस् वा माथि छिनामखु छेउको आफ्ना बाबुले स्थापना गरेको नौलागाउँ विद्यालय र चखेवा नजिकै नारदमुनि थुलुङ प्रतिष्ठान (सीमखर्क)को जमिनजेथा पनि उनै रसिकले दिएका रहेछन्– अलिक पछि मात्रै थाहा भयो। यस्ता बेहिसाब हिसाब त कति छन् कति! 

ठीक यसैगरी, व्यक्तिगत नाता–सम्बन्धका अनेक घुम्ती–देउरालीमा पनि उनी छड्के–साक्षी नराखी लागिरहेका हुन्थे। अनि, अलिक समय र कामकुरा घर्केपछि लेख्न बस्थे– ‘भुल्न सकिन, भुल्न सकिन!’ 

चिनारीमा ‘रसिक’ भएरै पनि मुस्किल के भने जेजस्तै अन्तर्मनको आर्तनाद पनि खोलेर–खुलेर सुनाउनै नसकिने थिति उनीसँग थियो। अनि हामी पुग्थ्यौँ– कहिले इलाम माइपोखरी वा मिरिकको झिल! उतैबाट घुम्दैवर्दै डेजी बराइली–चन्दन लोमजेलकहाँ भात भान्सासहित पाहुना बन्थ्यौँ, दोर्जेलिङ आतिथ्यमा डल्लैको हार्दिकता रहन्थ्यो नै। उसैगरी, यता मधेशमा बुलु मुकारुङको बसाहा होमस्टेमा पुगेर चारकोसेका जंगली बँदेल र लोकल सुँगुरको रतिक्रिडा रमित सुन्न कम्ता रमाइलो हुँदैनथ्यो!  

सम्पदाविद् रवीन्द्र पुरीलाई इलाम फिक्कलस्थित आफ्नै घरमा काष्ठ (जरा) कला देखाउँदै रसिक।

“आजकलको पुस्ता गजबकै लाग्छ। त्यो भूपू पाण्डे भन्नेको गीत सुन्नुभो कि?,” फेरि अर्को साँझमा पिरैपिर गीतको लिंक मेसेन्जरमा पठाउँदै रसिक बोलिरहेका थिए, “आजजस्तो प्रविधि भइदिएको भए हामीले गाएको ‘आज भेडाबाख्रा कता लाने?’ गीतलाई कस्तो काइदाको बनाउन सकिने रहेछ हगि...भैगो उहिलेका ती कुरा के गरौँ? बरु सुन्नुस् है– जिन्दगी चल्न त चल्या छ, पिरैपिरमा छ...!”

यति भनिसकेर अनि फेरि हराइजान्थे रसिक। काठमाडौँ–पशुपतिनगरको नाइट बसमा १८/२० घण्टाको लामो यात्रामा ती फिक्कलतिर लागिसकेका हुन्थे। ‘उता चिया टिप्ने बेला भो, इस्कुसका जरा लिएर आउँला है चाँडै’ भन्दै बाटैबाट खबर गर्थे। यस्तो हतारो कि पुग्नु कहाँ थियो भन्ने उनी स्वयंलाई पनि थाहा थिएन। सधैँको हतार!

यही हतारले उनी कहिले ‘राजारानी दुई आँखाका नानी’ सिर्जनामा चिनिन्थे। कहिले राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट चुनाव लडिहेर्थे। कहिले नेकपा एमालेबाट प्राज्ञ–प्रज्ञा मनोनयनमा पर्थे। कहिले योगेश्वर अमात्यले रसिक (लेकाली)लाई मीठो बान्कीमा ‘रिमेक’ गरिरहेका हुन्थे भने कुनै जुलुसमा राजेन्द्र लिङ्देन आफ्नो राजावादी झंकारको आवेगमा ‘हटी होइन डटी लड्ने’ बोलमा दोबाटे नाचगान गराइरहेका हुन्थे। “कोही व्यक्तिबारे कसैको हेराइ वा कतैको बुझाइमा एउटै अर्थ हुनैपर्छ भन्ने केही छैन,” मुड–मुद्रा हेरिकन रसिक सजिलोगरी भन्थे, “राजा महेन्द्रले दार्जिलिङबाट झिकाएका संगीतज्ञ अम्बर गुरुङले सिर्जना गरेको राष्ट्रगानको धुन सुनेर आज हाम्रो बिहानी शुरू हुन्छ, राजाले नै ल्याएका अर्का विद्धान लैनसिंह वांदेलको (स्टोलन इमेजेज अफ नेपाल) सोधखोजकै कारण आज सयौँ नेपाली मूर्ति विदेशबाट फर्किरहेका छन्। के हिजोका ती सबै कुरा ‘गलत’ थिए भन्ने र आज? यसकारण म भने यस्ता कुरा सुनेरै पनि मौन बस्छु, बरु फिस्स हाँसिदिन्छु।”

रसिकका मनमिल्दा निकटस्थको एउटा समूह थियो– बा मित समूह। गायक ठूले राई, लेखक श्याम प्रधान, कवि प्रद्युम्न जोशी र रसिकका भतिज सन्तोष राई, मसहितको समूहले रसिक बारेका स्वास्थ्य र जरुरी सूचना आदानप्रदान गर्थ्यो– ह्वाट्सएपमार्फत। अनि जो जता जुन ड्युटीमा पुग्नुपर्थ्यो, तत्कालै पुग्थ्यौँ। हरिसिद्धी अस्पताल हो कि ब्लड हस्पिटल अथवा, बालकोट निवास हो कि कुनै सभा–समारोह! 

‘बा मित समूह’लाई एकैपटक, एकै थलोमा देख्ता–भेट्दा औधी खुशी हुन्थे रसिक। 

नवनिर्मित ‘बा मित समूह’सँगभन्दा बढी रसिक खुशी देखिन्थे, सुनिन्थे– आफ्नो लेकाली युगका यारों भोजपुरे (हिरण्य) का उटांगी कुरा सुनाउन। भोजपुरेलाई आफ्नो समूहकै सबैभन्दा ‘छाडा’ (बोलचालमा) भन्थे उनी। अनि, आफूले सबैभन्दा आदर गर्ने गायक बच्चु कैलाशलाई यो शताब्दीकै ‘गुरु–गम्भीर’ प्रतिभा भनेर सुनाइरहन्थे। 

गायक बच्चु कैलाश, उर्मिला भोजपुरे र हिरण्य भोजपुरेका साथमा रसिक।

२०८० सालको फागुन पहिलो साताको एउटा मध्यान्हमा बालकोट निवासबाट रसिकको फोन आयो– “तपाई यता तु..आइहाल्नुस् त– बच्चु दाइ, भोजपुरेहरू आउँदै हुनुहुन्छ।”

सम्मान र मायाका हिसाबमा रसिकले गायक बच्चु कैलाशलाई औधी मन पराउने! सधैँजसो चर्चा वा साहचर्यबाट टाढै बस्न रुचाउने बच्चुका गीत एकपछि अर्को मेसेन्जरमा ‘फरवार्ड’ गरिरहन्थे रसिक। घरबाट यसो बाहिर निस्कनासाथ १० थरिका मान्छेले १० थरिका प्रश्न गर्ने र उसैगरी नजाने गाउँको बाटो सोधिरहने भएकाले बच्चुलाई आफ्नै जिन्दगीमा रमाइरहेको भित्री कुरो सुनाउँथे रसिक।  

झन्डै आधा शताब्दी समयको हिसाबमा रसिकले दर्जनौँ गीत लेखे, संगीत भरे र सुनाए। उपन्यास, कथा, कविता, संस्मरणहरू लेखे। उनले बाशु शशि, अभि सुवेदी, पवन चाम्लिङ हुँदै सुन्दर कुरुपसम्मका शब्दमा संगीत भरे, गाए। उनका शब्द/संगीतमा इन्द्रनारायण, ठूले राई, झुमा लिम्बू, सुनिता सुब्बा, पवित्रा सुब्बा, लासमित राई, शम्भु राई, सत्यकला राई, सरस्वती राई हुँदै अशोक मुकारुङ राई, रगुन गुरुङ पुस्तासम्मले स्वर भरेका छन्। राल्फा, लेकाली, भोजपुरे, उर्मिलाका शब्द–धुन, स्मृति कति छन् कति!  

यति भएर पनि गजब के थियो भने रसिक बच्चुकैलाश मात्रै मन पराउँथे– स्वर–संगीतमा। बच्चुले गाएका शब्द–शब्द केलाउँथे। ‘म हरिसिद्धीमा छु, वार्ड नम्बर ५०२। लु सुन्नुहोस् है मेरा फेवरेट...’ भन्दै एकपछि अर्को गीत मेसेन्जरमा आउँथे, उनै बच्चुका। अनि आतेशमै अस्पताल भेट्न पुग्दा बेडको सिरानमा आड बनाएर उनी सुनिरहेका हुन्थे: 

‘म फूल हैन मानिस भएँ विरह बोल्दछु
शीतको थोपा पर्दैन ममा म आँशु खोल्दछु
...
म एकछिनको घटना होइन चटक्कै बिर्सन

खोलाको कलकल चुलबुल होइन म एक तिर्सना!’

“क्या छ है हाम्रो बच्चु दाइ। संगीत/स्वरमा पुग्नैपर्दैन, शब्द आफैमा काफी छ,” बिस्तारै सबिस्तार सुनाइरहेका हुन्थे रसिक। अनि, प्रविधिले दिएको सजिलोमा फेरि अर्को गीत मोबाइल युट्युबमा टाइप गर्दै सुनाउँथे– ‘नभनी देऊ मेरो माया छ भनेर, मेरो पनि कोही यहाँ छ भनेर!’ 

अनि फेरि अर्को– ‘कसरी टुक्री गै गएँ यो कुरा बिन्ती नसोध, किन म यस्तो भै गएँ यो कुरा बिन्ती नसोध…’ (गीत मधुर स्वरमा बजिरहँदा रसिक पावरवाला चस्मा यसो उचालेर टिस्यु–पेपरले आँशु पुछिरहेका थिए।) 

“लु बच्चु पुग्यो दाजु, म स्रोतालाई पनि निकै गाहे भयो। बरु अरू केही सुनौँ न। अरू केही बोलौँ न”, मैँले हात समाउँदै अनुनय गरेँ। रसिक अर्को हातले आँशु पुछिरहेका थिए। त्यो क्षण, त्यो संवेदना कस्तो थियो होला– शब्दमा बखान गर्नै मुस्किल छ, असम्भव!

“लौ सुनौ न त अर्कै,” रसिकले फेरि ‘सेभ’ गरेर राखेको गीत सुनाए– ‘जहिले तिमी आऊ, बिरानीले छोप्छ, बिरानीमा फुल्ने फूल, तिमीलाई नै खोज्छ...!’

शान्ति ठटालको स्वरमा अर्को गीत रहेछ, उनको मनमुटुको। अम्बर गुरुङको शब्द/संगीत रहेछ। शायद अम्बरसँग जोडिएका अनेक प्रेमिल किस्सामध्ये शान्ति दिदीले रुचाएको एउटा शब्द हुनुपर्छ– जहिले तिमी आऊ! 

‘जहाँ आँखा पुग्छ तिमीलाई नै खोज्छ
सारा जमानालाई तिम्रै हाल सोध्छ
कल्पिहिँड्ने रातसँग तिम्रै लागि रुन्छ
जहिले जे सुनाऊ मायालुले सुन्छ
गीत नै हाम्रो प्रीत हो भने तिम्रै लागि बन्छ!’

रसिकको जीवनमा जोडिएका पीडा र प्रहारका कुरा कति गर्नु? सबैले गरिसके। भाइहरू र छोरो पछि श्रीमतीको पालो थियो। कोरोना संक्रमणका कारण असमयमै जीवन गुमाएकी श्रीमती निरा रसिक शेरचनको रित अनुसारको ४५ दिने कर्ममा हामी भोजपुर, छिनामखु पुगेका थियौँ। २०७८ मंसिरको अन्तिम साताको त्यो बिहानीमा नौलागाउँ थुलुङ वंश स्मृति चौतारामा पुग्दा एउटा दुःखी पुरुषको (रसिक) जीवनमा जोडिएको नियत–नियति एकैथलोमा झल्किन्थ्यो।

छोरी निरजासहित त्यो थलोमा पुग्दा थुलुङ राईका आफन्तीहरूको भीड थियो नै। त्यही भीडमा थचक्क बसे रसिक र गह भरिएको स्वरमा भने,  “मेरो पनि अन्तिम समाधि श्रीमती–छोरा, भाइहरूकै लहरमा राखिदिनु। यो चौतारोमा मेरो स्मृतिको तस्वीर यहाँनेर राख्नू...।”

कस्तो असहज अवस्था थियो भने त्यो मानौँ ‘अन्तिम भोज’को समारोह थियो। किताबमा पढ्दै आएको ‘आखिरमा मानिसलाई कति जमिन चाहिन्छ?’ कथाको आँखैसामुको श्रव्यदृश्य त्यहीँ उब्जिएको थियो, नौलागाउँको चौतारोमा।

भोजपुर नौलागाउँमा चार वर्षअघि गणेश रसिककी श्रीमती निरा रसिक शेरचनको अन्तिम समाधिस्थलमा भएको पूजाआजा। 

जेनतेन त्यो स्मृति/समाधिसभा सकेर अलिक माथि चखेवा डाँडा हेर्न सकिने गोठेसिंह होमस्टेमा हामी पुग्यौँ, चियापानका निम्ति। जहाँबाट उनी पिखुवा सम्झिरहेका थिए, टेम्के र मैयुँ देखाइरहेका थिए। अनि सम्झिरहेका थिए आफ्ना अनन्य यारों भोजपुरे! कस्तो गाढा स्मृति होला, मानौँ रसिकभित्र पिखुवा बहिरहेको थियो। कुलेँसो पन्छाएझैँ ती आँशु पुछिरहेका थिए लगातार। “भोजपुरेजी बेजोडले हाँस्ने मान्छे हो। तर, उहाँ हाँसोका बीचैमा आँशु पनि झार्नुहुन्छ। त्यो एउटा खुबी हो, आफू रोएको किन देखाउने अरूलाई? अनि भोजपुरेजी आफै भन्नुहुन्छ– म हाँस्दाहाँस्दै आँशु झार्छु नि, त्यो रुवाइ हो मेरो। किन आफू रोएको देखाउने अरूलाई?,” गोठेसिंहमा पनि रसिकले भोजपुरे सम्झिएका थिए, आँशुको बिम्बका अर्थमा, “अब म पनि भोजपुरेको यो तरिका सिक्नेछु, गानाबजानाबाहेक मेरो भोजपुरेसँगको सहकार्य हुनेछन् यिनै आँशु!”

गोठेसिंहबाट तल भोजपुर–खोटाङ राजमार्गमा उत्रिँदा पर चखेवा डाँडा हुस्सुले पूरै ढाकिएको थियो। टेम्के–मैयुँ निकै टाढा देखिन्थे, धुमिल। यही हुस्सुसँगको साइनो र अपनत्व सम्झेर आफूले इलाम, फिक्कल र रम्फोकको चियाबगानलाई पछिल्ला बर्षमा छाड्न नसकेको रसिक सुनाइरहेका थिए। तर, हुस्सुसँगको त्यो प्यार पछिल्ला वर्षमा ‘कतिदिन बाँच्नु यो हुस्सुले छोपेको शहरमा’को अनौठो बिम्बमा रूपान्तरित भइसकेको थियो, रसिकको जीवनमा जानीनजानी।

यसरी ‘टेम्केमा फूलेको गुराँस तुसारोले खाइदिन सक्छ’को गीति भावभूमिबाट फक्रिएका उनै गणेशकुमार थुलुङ राई ‘रसिक’ भोजपुर, छिनामखुको आफ्नो जन्मथलोमा पुगेर त्यसरी जीवनकै अन्तिमपटक त्यो माटो छोइरहेका थिए भन्ने उनैलाई पनि पत्तो थिएन।  

छोरी निरजाका साथमा भोजपुरमा रसिक। 

यतिखेर नौलागाउँको त्यही चौतारा छेउमा ओगटिएको जमिनमा रसिकको अस्तु पुगिसकेको छ, त्यही चौतारोमा श्रीमती र छोराको आडैमा स्वर्गीय गणेश रसिकको तस्वीर पनि झुन्डिएको छ।

‘टेम्केमा फुलेको गुराँस
तुसारोले खाइदिन सक्छ
पूर्णेमा हाँस्ने त्यो जून
उज्यालोमा हराउन सक्छ
मेरी सिम्मा जूनसँगै
अल्पेर जाने हो कि?
झरेर जाने हो कि?
मेरो सिम्मा गुराँससँगै!’

⁎⁎  

फ्ल्यासब्याकबाट फर्केर फेरि इलाम–काठमाडौँको धपेडीमा मिसिएपछि रसिक झनै हतारोमा थिए। लेख्ने, गाउने, घुम्ने, जायजेथा व्यवस्थित गर्ने र आफ्ना इच्छा सम्हाल्दै–सँगाल्दै हिँड्ने गजबको हतारोमा थिए उनी। 

विगतमा हामी बीचका भेटघाट रमाइला हुन्थे, स्मृतिले भरिएका। सिंगापुरदेखि मलेसियासम्मका नियात्रामा गणेश रसिक, कुमार आले, जीवन राईसहितको टोली मानौँ मदनकृष्ण–हरिवंशको अर्को डफ्फा पो थियो किझैँ लाग्थ्यो। कहिले इलाम घरमा बोलाएर आफ्नो काष्ठकला, जराकलाको ‘स्किल’ देखाइरहेका हुन्थे रसिक। कहिले टुंनाको धुन आफै बनाइहेर्न लागीपर्थे। कहिले रेडियो फिक्कलमा अन्तरंग बातचितमा बोलाउँथे। 

त्योभन्दा पर्तिर एकान्तमा बसेर ठूला रजिस्टर्डका लामा पानामा तिनले के लेखिरहेका थिए, त्यो धेरै पछिसम्म थाहा थिएन। “तपाईंलाई दिएरै जानेछु, अहिले नसोध्नुहोला,” भन्थे, त्यो लेखाइबारेमा सोधिरहँदा। धेरैपछि थाहा भयो। क्यान्सरले गलाए र किमोको चरण टुंगिनै लागेको अवस्थामा बितेको दशैँका अवसरमा रसिकले एकदिन हातमा थमाए केही चिठीपत्र, उही लामो रजिस्टर्डमा डिक तानेर लेखिएका कागजी पानाहरू। “अहिले नभन्नुहोला, कतै नदेखाउनुहोला। म बितेर गएपछि मलाई सम्झेर यो पढ्नुहोला,” अनि फेरि भक्कानिए रसिक, हामी दुवै अँगालोमा बेरियौँ धेरैबेर।

“प्रिय देवेन्द्र,

सपनबाट एक्कासि बिम्झिएँ। अनि बत्ती बालेर लेख्न बसेँ। 

सबै कुरा भनेर भन्न सकिन्न। भेटेर भन्ने फुर्सद पनि हुँदैन। सुनिराख्ने–सुनाइराख्ने समय पनि हुँदैन। जिन्दगी बाँडिएको छ टुक्राटुक्रामा। शायद म जुन कुरा लेख्दैछु, म यसलाई कतै संस्मरण, कथा वा गीतमा लेख्न सक्दिन होला। यो अन्तर्मनको कुरा गर्न मन–मष्तिष्क एकाग्र हुँदैन, सधैँको छटपटी र हताश रहन्छ नै। मैँले यो कुरा तपाईंलाई लेखिनँ भने शायद म डिप्रेसनमा जानेछु अथवा, म पागल हुनेछु। यसलाई आत्मप्रलाप ठानिदिनु ल, झिँझो नमानीदिनु।

प्रिय देवेन्द्र, 

म साँच्चै आतंकित छु, आफ्नै घर व्यवहारबाट। तपाईलाई नढाँटी भन्छु, मेरो थाप्लोभरि ऋणै ऋण छ। चिया बगानबाट केही होला भनेर बैंकबाट ऋण लिएको पनि केही हुन सकेको छैन। श्रीमतीका गरगहना, अरू जायजेथा बैंकमा छ। परिवारमा कसैको जागिर छैन। बेलायतमा बस्ने छोरीसँग कति हारगुहार गरिरहने? के जीवन यसैगरी चल्छ त? तपाईंले पनि भन्नुहुनेछ, हो यसरी चल्दैन। 

जतिजति समय बित्दै जाँदैछ, त्यतित्यति सबै कुराहरू जेलिँदै गैरहेका छन्– माकुराको जालोझैँ। एकदिन मेरो आफ्नै पनि माकुराका माउहरूलाई समस्याका बचेराहरूले खाएझैँ हालत हुने देख्दैछु। एकदमै त्रासदीपूर्ण कन्तबिजोग अवस्था छ। त्यसैले मन आत्तिन्छ। आत्तिएर पनि के गर्ने? मैँले नेपालीको सरदर आयु बाँचिसके, अब फोसा जीवन बाँचिएको छ। अब दाँयाबाँया होइन, मैँले एउटा निर्णयमा पुग्नैपर्छ। महाभारतमा अभिमन्यु चक्रव्यूह परेर मारिएझैँ मैँले मर्नुहुँदैन। अब मैँले बाँच्ने आयुको सिमारेखा बुझ्नैपर्छ। 

प्रिय देवेन्द्र,

तपाईंलाई थाहै छ, मेरो सम्पूर्ण सम्पत्ति भनेको यही फिक्कलको घर, यही चियाबारी जसलाई मैँले आफै रोपेँ हुर्काएँ, जसका लागि मैँले आफ्नो जीवनको २५ वर्ष खर्च गरेँ। यी धुपीसल्ला, पैयुँ र आरुका बोट, ढकमक्क फुलेका सुनाखरी फूल, वसन्तको संगीत, चराहरूको चिरबिर, जोडी ढुकुरको प्रणय, घामपानी, झरीहुरीमाझ मैँले बिताएको समयलाई छाडेर मैँले यहाँबाट जानैपर्छ। छिनछिनमा आउने भुइँकुहिरो, सिरसिरे बतास, मेरो परिचय सोधेझैँ लग्ने कोइलीको कोहो–कोहो। यी सबै देख्ता र सुन्दा म कति आनन्दित हुन्थेँ, पुलकित हुन्थे। तर, आजभोली मन रमाउँदैन प्रिय देवेन्द्र!
ख्वै के हुन थालेको छ हिजोआज, मलाई झ्याउँकिरीको झ्याउँ–झ्याउँ र न्याउली चरीको न्याहुल–न्याहुल सुनेर झनै बैराग लाग्न थालेको छ। त्यसैले मैँले माथि नै भनेँ, मैँले एउटा निर्णय गर्नैपर्छ। मैँले मेरो घरपरिवारलाई ऋणबाट मुक्त गर्ने र बाँकी जीवन बाँच्न फिक्कलको जमिन बेचेर काठमाडौँ वा मेरो जन्मथलो भोजपुर, छिनामखु फर्किने निर्णय गर्नैपर्छ। मनैमनमा मैँले गरिसकेको यो निर्णय, अठोटबारे तपाईंलाई नभनेर कसलाई भन्ने? 

यहाँनेर भगवान् बुद्धको एउटा उपदेश म सम्झिरहेको छु– तिम्रो दुःखको कारण तिमी स्वयं आफै नै हौ, दोष कसैलाई नदेऊ।

हुन त समय कुसमयमा बदलिने अस्थिर खालको मेरो रूप र व्यवहारले कतिजना भ्रममा पनि परेका होलान्। कतिको मनचित्त पनि दुखाएको छु होला। तर देवेन्द्र, कतै कसैलाई चोट पुर्‍याउने चाहना र उद्देश्य होइन मेरो। आवेगवश भए कति कुराहरू। यत्ति हो खराब छैन मेरो मन। साँच्चै, तपाई भने मलाई कसरी बुझ्नुहुन्छ ? कसरी हेर्नुहुन्छ ?  

आगे तपाईंको मर्जी,
तपाईंको
उही गणेश रसिक ‘बा’  
(२०७७ वैशाख ११, फिक्कल, इलाम)

⁎⁎

हो पनि। भनिन्छ, हरेकको जीवनमा ‘एकदिन’ आउँछ। एक जुगमा एकदिन एकचोटि त आउँछ नै।

तर, प्रिय रसिकको जीवनमा त्यो दिन कहिल्यै आएन।

अलबिदा गणेश रसिक!