कोशी प्रदेशबाटै पूर्वी एशियातर्फ फर्कियो मनसुन

पूर्वी एशिया क्षेत्रमा बलियो न्यूनचापीय क्षेत्र बनेकाले मनसुनी वायु कोशी प्रदेश बाट उता फर्किएको मौसमविद्ले बताएका छन्। 

काठमाडौँ– नेपालमा सरदर मितिभन्दा १५ दिनअघि प्रवेश गरेको मनसुन कोशी प्रदेशबाटै पूर्वी एशियातर्फ फिर्किएको छ। 

मनसुन जेठ १५ गते कोशीबाट नेपाल  प्रवेश गरेको थियो। पूर्वी एशिया क्षेत्रमा बलियो न्यूनचापीय क्षेत्र बनेकाले मनसुनी वायु कोशीबाट उता फर्किएको मौसमविद्ले बताएका छन्। 

मनसुन पूर्वी एशिया क्षेत्र मुख्यगरी फिलिपिन्सतिर सोहोरिएर गएकाले कोशीबाट अन्यत्र फैलिन नपाएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाले बताए। अझै केही दिन मनसुन फैलिने सम्भावना नरहेको उनको भनाइ छ। 

“मनसुन भित्रिए लगत्तै जेठ १७ गते पूर्वी नेपालमा ठूलो वर्षा र बाढी आयो। धरान­–धनकुटा सडकखण्डको साँगुरीगढी गाउँपालिका–६ स्थित फेदीको १०० मिटर सडक लेउती खोलाको बाढीले बगायो। झापामा माइखोलाको बाढीले २२ घर डुबान भयो। त्यसपछि वर्षा भएको छैन,” उनले भने।  

महाशाखाका अनुसार नेपालको पश्चिम तथा मध्यक्षेत्रमा अहिले स्थानीय र पश्चिमी वायु सक्रिय छ। पश्चिमी वायु अझै बलियो रहेकाले मनसुन आउन नपाएको मौसमविद् झाको भनाइ छ। 

नेपालमा बंगालको खाडीको जलवाष्प बोकेर मनसुनी वायु आउने गर्छ। तर त्यो कमजोर भएको उनले बताए।  जसका कारण हाल देशभर तापक्रम वृद्धि भइरहेको छ। मौसमविद्का अनुसार यसरी मनसुन ‘ब्रेक’ हुनु राम्रो संकेत होइन। यसले कतै धेरै वर्षा गराउने र कतै खडेरी पार्ने हुनसक्छ। 

मौसमविद् झाले बुधबारदेखि नेपालका कतिपय क्षेत्रमा फेरि बदली हुने बताए। अहिले बंगालको खाडीमा अर्काे न्यूनचापीय प्रणाली बनेको छ। 

भारतको मध्यभूभागमा पनि न्यून चापीय क्षेत्र बन्दै गएको छ। जसको असर नेपालमा आइपुग्ने छ र वर्षा गराउने छ। यसवर्ष जल तथा मौसम विज्ञान विभागले धेरै वर्षा हुने र गर्मी पनि बढी हुने आकलन सार्वजनिक गरिसकेको छ। जसअनुसार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् प्रतिकार्य योजना लागू गरिसकेको छ। 

प्राधिकरणका प्रवक्ता रामबहादुर केसीले करिब २० लाख मानिस प्रभावित हुने र त्यसको १० प्रतिशतलाई राहत तथा उद्धार गर्नुपर्ने अवस्था आउन सक्ने अनुमानसहित तयारी गरिरहेको बताए।