बीपी कोइराला क्यान्सर अस्पतालले यसरी व्यवस्थापन गर्दैछ फोहोर

माइक्रोवेभ टेक्नोलोजी आफैमा सुरक्षित भएकाले यसले वातावरणीय प्रदूषण नल्याउने अस्पतालले जनाएको छ। मेसिनबाट निस्किने बाफलाई समेत हेपा फिल्टरमार्फत शुद्ध पारेर मात्र वातावरणमा छाड्ने गरिएको छ। 

चितवन– बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट निस्केका  फोहोरलाई पर्यावरणमैत्री रूपमा व्यवस्थापन गर्दै आइएको छ।अस्पतालले फोहोरको स्रोतमा नै  वर्गीकरण गरी दुई प्रविधि र अन्य विधि प्रयोग गरेर व्यवस्थापन गर्दै आएको  छ।

पुनः प्रयोग हुने वस्तुलाई अलग्गै, कुहिने वस्तुबाट बायोग्यास, माइक्रोवेभ टेक्नोलोजीसहितको स्रेडिङ मेसिनबाट फोहोरलाई घटाएर निःसंक्रमित बनाउने गरेको अस्पतालका बायोमेडिकल इञ्जिनियर रुपेश मिश्रले जानकारी दिए। उनका अनुसार अस्पतालको फोहोर व्यवस्थापन प्रणालीमा मुख्यतया दुईवटा प्रविधि प्रयोग गरिएको छ। बायोग्यास प्लान्टबाट वार्डहरूबाट निस्कने खानाका फोहोरलाई कुहाएर बायोग्यास उत्पादन गरिन्छ।

माइक्रोवेभ टेक्नोलोजीसहितको स्रेडिङ मेसिन अस्पतालको बायोमेडिकल फोहोर प्रशोधन गर्ने मुख्य उपकरण हो। अस्पतालबाट निस्कने सिसा, धारिलो वस्तु (निडल, सर्जिकल ब्लेड), कपडाका टुक्रा र प्लास्टिकजस्ता सबै प्रकारका फोहोर मिसाएर राख्न सकिन्छ। यो मेसिनको क्षमता २५० लिटर रहेको छ। “यसले करिब ३० मिनेटमा फोहोरलाई प्रशोधन गर्छ। मेसिनभित्र रहेको स्रेडर ब्लेडले फोहोरलाई सानो टुक्रा बनाउँछ र सँगै रहेको इन्टिग्रेटेड माइक्रोवेभ टेक्नोलोजीले यसलाई स्टेरिलाइज (निसंक्रमण) गर्छ,” मिश्रले भने। 

प्रशोधनपछि निस्किने फोहोर चिन्न नसकिने धुलोको टुक्रा हुने गर्छ। यस प्रक्रियाबाट फोहोरको आयतन ८५ प्रतिशत र तौल २५ प्रतिशतसम्म घट्ने उनले जानकारी दिए। प्रविधि पुराना इन्सिनेरेटरको तुलनामा वातावरणीय रूपमा बढी सुरक्षित मानिएको उनको भनाइ छ।

माइक्रोवेभ टेक्नोलोजी आफैमा सुरक्षित भएकाले यसले वातावरणीय प्रदूषण नल्याउने उनले बताए। मेसिनबाट निस्किने बाफलाई समेत हेपा फिल्टरमार्फत शुद्ध पारेर मात्र वातावरणमा छाड्ने गरिएको छ। 

अस्पतालबाट दैनिक ४० देखि ६० किलो फोहोर संकलन हुने गरेको छ। यो  फोहोरलाई रङअनुसार डस्टबिनमा वर्गीकरण गरी माइक्रोवेभ मेसिनमा प्रशोधन गरिन्छ। वार्डहरूबाट फोहोर संकलन गर्ने बेलादेखि नै कलर कोडिङअनुसार (रातो, हरियो डस्टबिन) फोहोर छुट्याइन्छ। त्यसपछि संकलनस्थलमा ल्याएर थप सेग्रिगेसन गरिन्छ र प्रशोधनका लागि पठाइन्छ। कर्मचारीहरूका लागि पन्जा, मास्क, हेल्मेट, गमबुट र छुट्टै पोशाकसहित आवश्यक सुरक्षा उपकरण उपलब्ध गराइएको उनले बताए। यद्यपि  फोहोर व्यवस्थापनमा प्रत्यक्ष संलग्न कर्मचारीलाई निरन्तर एउटै काममा खटाउनुको सट्टा हरेक ६ महिनामा जिम्मेवारी परिवर्तन (रोटेसन) गर्नेबारे पनि अस्पताल व्यवस्थापनले विचार गर्नुपर्ने उनको भनाइ छ।

अस्पतालजन्य फोहोर व्यवस्थापन राज्यकै लागि चुनौतीपूर्ण रहेको अवस्थामा क्यान्सर अस्पतालले फोहोरलाई उचित तरिकाले व्यवस्थापन गर्न अन्तर्राष्ट्रिय मापदण्ड पालना गर्ने कोसिस गरिरहेको अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलले जानकारी दिए। अस्पतालले फोहोर व्यवस्थापनलाई अझ व्यवस्थित बनाउन र यसबाट आम्दानीसमेत गर्न ‘फोहोरबाट मोहोर’ कार्यक्रमको प्रक्रिया अगाडि बढाइएको छ। यसअन्तर्गत प्रशोधन गर्न मिल्ने वस्तु बिक्री गर्ने योजना रहेको र यसका लागि भरतपुर महानगरबाट बोलपत्र आह्वान गरिसकेको र सम्झौता गर्ने प्रक्रियामा रहेको कार्यकारी निर्देशक डा. पौडेलले जानकारी दिए।

उनका अनुसार वातावरणीय प्रदूषणले क्यान्सरजस्ता रोगको जोखिम बढाउँछ। क्यान्सरजस्ता रोग आन्तरिक कारणले करिब १५ प्रतिशत हुने भए पनि कीटनाशक औषधि, दूषित वातावरण र अन्य बाह्य कारणले क्यान्सर हुने सम्भावना बढी हुने भएकाले फोहोरको उचित व्यवस्थापन महत्त्वपूर्ण विषय रहेको हो। 

अस्पतालले हालको फोहोर व्यवस्थापन प्रणालीलाई थप व्यवस्थित गर्न तरल (लिक्विड) फोहोर व्यवस्थापनका लागि पनि छुट्टै प्लान्ट राख्ने योजना रहेको उनले बताए। अस्पतालले हाल अस्पतालबाट निस्कने पानीको फोहोरलाई नर्कट प्रणाली र साना ढुंगाको प्रयोगबाट शुद्धीकरण गरिन्छ। शुद्धीकरणपछिको पानी पर्यावरणमैत्री रूपमा बाहिर निकालिने कार्यकारी निर्देशक पौडेलको भनाइ छ।