समुद्रमा हप्तौँ अलपत्र परेका ५८ जना रोहिंग्या इन्डोनेशिया भेटिए

भोक र तिर्खाले अतालिएका उनीहरू निकै कमजोर अवस्थामा भेटिएका थिए।

समुन्द्रमा हप्तौँसम्म अलपत्र परेका ५८ जना रोहिंग्या पुरुषहरू इन्डोनेशियाको आचे प्रान्तको लादोङस्थित इन्द्रपात्रा तटीय क्षेत्रमा भेटिएका छन्। 

आइतबार बिहानै ५८ जना रोहिंग्या पुरुष समुन्द्र किनारमा भोकै र प्यासै अवस्थामा भेटिएको स्थानीय प्रहरी प्रमुख रोली युजा अवेले जानकारी दिए। 

काठको सामान्य डुंगामा आएका मुस्लिम आदिवासी समूहका ती शरणार्थीलाई स्थानीय गाउँलेहरू किनारसम्म ल्याउन मद्दत गरेको अल जजिराले जनाएको छ। भोक र तिर्खाले अतालिएका उनीहरू निकै कमजोर अवस्थामा भेटिएका थिए। 

उनीहरूलाई स्थानीय गाउँले खाना र पानी उपलब्ध गराएको बताउँदै उनले थप विषयमा अध्यागमनको निर्देशन पर्खिरहेको बताए। तीन जना रोहिंग्या शरणार्थीहरूलाई तत्काल स्वास्थ्य सेवाका लागि क्लिनिक लगिएको र अन्यले पनि विभिन्न खाले मेडिकल उपचार लिइरहेको प्रहरी प्रमुख अवेले बताए। 

संयुक्त राष्ट्रसंघले अण्डमान समुन्द्रमा अलपत्र परेका १९० जना जति रोहिंग्या शरणार्थीहरूको उद्धार गर्न शुक्रबार दक्षिण एसियाली मुलुकहरूलाई आग्रह गरेको थियो। 

म्यानमार सेनाको ज्यादतीका कारण रोहिंग्या मुस्लिम समुदायका मानिसहरू भागेर छिमेकी बंगलादेश पुगेका थिए। तर शरणार्थीका रूपमा बंगलादेशमा रहेका उनीहरूको त्यहाँ पनि कष्टकर जीवन बाँच्नुपरेपछि सहज जीवनयापनको खोजीमा अन्य मुलुक जान भन्दै समुन्द्रमा जोखिमपूर्ण यात्रामा निस्किएका थिए।

-एजेन्सीको सहयोगमा