नेपाल स्कटल्यान्डसँग २ रनले पराजित

स्कटल्यान्डविरुद्ध नै ३२४ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले बनाएको ३२१ रन ओडीआईमा बनाएको अहिलेसम्मकै सर्वाधिक हो।

काठमाडौँ– आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलामा नेपाल घरेलु टोली स्कटल्यान्डसँग पराजित भएको छ।

स्कटल्यान्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा आइतबार राति सम्पन्न खेलमा नेपाल घरेलु टोली स्कटल्यान्डसँग दुई रनले पराजित भएको हो। ३२४ रनको विशाल लक्ष्य पछ्याएको नेपाल निर्धारित ५० ओभरमा  ३२१ रनमा समेटियो।

नेपालले अहिलेसम्म ३०० रन माथिको लक्ष्य भेट्याएको थिएन। यसअघि यसै शृंखलामा स्कटल्यान्डविरुद्ध नै २९७ रनको लक्ष्य पछ्याएर कीर्तिमान बनाएको थियो। स्कटल्यान्डविरुद्ध नै ३२४ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले बनाएको ३२१ रन ओडीआईमा बनाएको अहिलेसम्मकै सर्वाधिक हो।

नेपालका लागि भीम सार्कीले सर्वाधिक ७३ रनको योगदान दिए। उनले ८५ बलमा ८ चौकाको सहयोगमा ७३ रनको अर्धशतकीय इनिङ खेलेका हुन्। भीमले आरिफ शेखसँग मिलेर ९४ रनको साझेदारी गरे। शेख ५५ बलमा ५ चौकाको सहयोगमा ३९ रनमा आउट भए।

त्यसैगरी उपकप्तान दीपेन्द्रसिंह ऐरीले ५१ बलमा २ चौकाको सहयोगमा ५६ रन जोडे। उनले  सातौँ विकेटका लागि सोमपाल कामीसँग मिलेर १०५ रनको महत्त्वपूर्ण साझेदारी गरे। सोमपाल ४४ बलमा ३ चौका र ४ छक्काको सहयोगमा ६७ रनमा आउट भए।

स्कटल्यान्डका म्याकेन्जी जोन्सले तीन विकेट लिए भने शफिया शरिफ र माइकल लिस्कले २–२ विकेट लिए। त्यसैगरी ब्रान्डन म्याकमुलेन र चार्ली कासेलले समान १–१ विकेट लिए। त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३२३ रनको योगफल बनाएको थियो।

स्कटल्यान्डका लागि रिची बेरिङ्टनले ११४ बलमा ६ चौका र चार छक्काको मद्दतले सर्वाधिक १०२ रनको योगदान गरे। माइलक लिस्कले ६२ बलमा १२ चौका र तीन छक्कासहित ९६ रनमा अविजित रहे। यसैगरी चार्ली टियरले ६५ बलमा ९ चौकाको मद्दतले ६८, मार्क वाटले अविजित २१ र फिनले म्याकक्रियाथले १७ रन बनाए।

नेपालका लागि करण केसी र दीपेन्द्रसिंह ऐरीले समान दुई/दुई तथा ललितनारायण राजवंशीले एक विकेट लिए।