देशका अधिकांश स्थानको मौसम सफा रहने पूर्वानुमान

दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ।

काठमाडौँ– देशका पश्चिम र मध्यभागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशका अधिकांश भागमा मनसुनी वायुको प्रभाव छ।

जसको प्रभावले दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भूभागमा मौसम सफा रहनेछ। कोशी प्रदेश तथा बाँकी प्रदेशका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।  

त्यसैगरी, राति पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशीका केही तथा बागमती र गण्डकीका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। 

कोशी, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का वर्षासहित र हिमपातसमेत हुने महाशाखाले जनाएको छ।