विश्व वातावरण दिवस मनाइँदै

हरेक वर्ष पृथ्वीमा ४० करोड टन प्लास्टिकजन्य फोहोर उत्पादन हुने गरेको छ। उत्पादित त्यस्तो फोहोरमध्ये १० प्रतिशत मात्र पुनः प्रयोग हुने गरेको छ।

काठमाडौँ– आज जुन ५ अर्थात् विश्व वतावरण दिवस। ‘प्लास्टिक प्रदूषण न्यूनीकरणः हाम्रो दायित्व’ नाराका साथ नेपालसहित विभिन्न मुलुकमा यो दिवस मनाइँदै छ। 

संयुक्त राष्ट्रसंघले आह्वान गरेबमोजिम सन् १९७३ देखि प्रत्येक वर्ष जुन ५ तारिखलाई विश्व वातावरण दिवसको रूपमा मनाउन थालिएको हो। दक्षिण कोरियामा विशेष कार्यक्रमका साथ यो दिवस मनाइने संयुक्त राष्ट्रसंघले जनाएको छ। नेपालमा पनि सरकारी तथा विभिन्न गैह्रसरकारी निकायले यो दिवस मनाउँदैछन्।

राष्ट्रसंघका अनुसार हरेक वर्ष पृथ्वीमा ४० करोड टन प्लास्टिकजन्य फोहोर उत्पादन हुने गरेको छ। उत्पादित त्यस्तो फोहोरमध्ये १० प्रतिशत मात्र पुनः प्रयोग हुने तथा एक करोड १० लाख टन प्लास्टिक नदी, तलाउ र महासागरमा विसर्जन हुने गरेको छ। 

आज गैरकानूनी रूपमा माछा मार्नेविरुद्धको संघर्ष दिवस पनि हो। राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ)को आह्वानमा सन् २०१७ देखि यो दिवस मनाउन प्रारम्भ भएको हो। 

दिगो विकासका लक्ष्य हासिल गर्न गैरकानूनी रूपमा माछा मार्ने प्रवृत्ति अन्त्य हुनुपर्नेमा एफएओको जोड छ। हरेक वर्ष एक करोड १० लाखदेखि दुई करोड ६० टन माछा मारिँदा अर्बौँ डलर हानि हुने गरेको एफएओले जनाएको छ।