बेंगलुरु पहिलोपटक आईपीएल च्याम्पियन

नरेन्द्र मोदी क्रिकेट स्टेडियम अहमदावादमा १९१ रनको लक्ष्य पछ्याएको पञ्जाबले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८४ रन मात्र बनाउन सक्यो। 

काठमाडौँ– रोयल च्यालेन्जर्स बेंगलुरु पहिलोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) च्याम्पियन बनेको छ। मंगलबार राति सम्पन्न फाइनलमा पन्जाब किंग्सलाई ६ रनले हराउँदै बेंगलुरुले उपाधि जितेको हो। 

नरेन्द्र मोदी क्रिकेट स्टेडियम अहमदावादमा १९१ रनको लक्ष्य पछ्याएको पञ्जाबले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८४ रन मात्र बनाउन सक्यो। 

अन्तिम ओभरमा २९ रन आवश्यक हुँदा शशांक सिंहले ३ छक्का र चौका प्रहार गरे पनि पर्याप्त हुन सकेन। शशांक ३० बलमा ६१ रनमा अविजित रहे। जोश इङ्लिसले ३९ रन बनाए। 

बेंगलुरुका लागि भुवनेश्वर कुमार र कुर्नाल पान्ड्याले समान २–२ विकेट लिए। 

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बेंगलुरुले २० ओभरमा ९ विकेट गुमाएर १९० रन बनायो।

विराट कोहलीले सर्वाधिक ४३ रन जोडे। कप्तान रजत पाटिदारले २६, लियाम लिभिङस्टोनले २५ तथा मयंक अग्रवाल र जितेश शर्माले समान २४–२४ रन बनाए।

पन्जाबका कायल जेमीन्सन र अर्शदिप सिंहले समान ३–३ विकेट लिए।  

यससँगै बेंगलुरुले १८ वर्षको लिग इतिहासमा पहिलो पटक उपाधि जित्दै आठौँ च्याम्पियन टिम बनेको छ। 

यसअघि बेंगलुरु सन् २००९, सन् २०११ र सन् २०१६ मा फाइनलमा पुगेर पराजित भएको थियो ।

पन्जाब भने दोस्रो पटक पनि उपविजेतामा सीमित रह्यो। सन् २०१४ को फाइनलमा कोलकातासँग भएको थियो।