उदाउँदो एसियाका चुनौतीहरू (आइतवार)

एसियाबाट विश्वभर सम्भावना खोज्न गएकाहरू राजनीति, व्यापार र शिक्षालगायत हरेक क्षेत्रमा प्रभाव बढाउँदै जाँदा गैर एसियाली देशहरू झस्किएका पनि हुन सक्छन्।

एसिया महादेशमा पर्ने देशहरू कुनै केही सय वर्षका छन् त केही सय वर्ष पनि पुगेका छैनन्। देशको औपचारिक नामका आधारमा भिन्न, आधुनिक वा आजको औपचारिक ढाँचाको देशहरू पहिले नबने पनि संस्कृति, मिथक, विचारधाराको अन्तरक्रिया, चिन्तन प्रणाली, आदिवासी परम्परा, धार्मिक विश्वास आदि संसारका जुनसुकै मानव समाज पहिलेदेखि नै आफ्नै गतिमा चलिरहेको थियो। भारबाट छुटिएर वंगलादेश भिन्न भयो, तर त्यहाँको सांस्कृतिक आधार, आधारभूत जीवन प्रणाली र  दैनिकीमा खासै बदलाव आएन। त्यसैले कुनै पनि देशको पछिल्लो नामकरण र नयाँ राजनीतिक सिमाना निर्धारणले नभै त्यस ठाउँमा मानिसहरू बसेदेखिको इतिहास त्यस देशको इतिहास हो। यो देशको समाज अध्ययन गरिरहँदा प्रागैतिहासिक देखि वर्तमानसम्मका उद विकासका विविध आयाम खोतलेर मात्र समाजको अध्ययन यथार्थपरक हुन्छ।



भौगोलिक सीमा निर्धारण भएपछिको नभै यस क्षेत्रमा मानिस बसोबास गरे यताको जनजीवनका आयामहरूको अध्ययनबाट एसियाको अध्ययन सुरु गर्नुपर्ने हुन्छ। एसियाबाट अरू महादेशमा बसाइ सरेका र कामका लागि गएकाहरूले आफ्नो एसियापन लिएर गएका छन्। यस फराकिलो दृष्टिबाट अहिले विश्वभरि फैलिएको वृहत् एसिया भएको छ। एसियाको संस्कृति अरूतिरको भूगोलमा निर्माण गरिरहेका छन् एसियालीहरू। 



विश्व दिनहुँ झनै मिश्रित र बहुसाँस्कृतिक हुँदै छ। शारीरिक बनावट, भाषा, लवज, खानपिन, दैनिक संस्कारलगायत जीवनका चरित्रहरू मिश्रित हुन थालेको छ। अन्तर्देशीय र अन्तर महादेशीय विवाह गर्नेहरू बढिरहेका छन्। डायस्पोरा फैलिएसँगै यो अझै फराकिलो बन्नेछ। नेपाल-भारतलगायत एसियाका देशहरू विश्वभर छरिएका छन्। त्यसो हुँदा हरेक देशमा एउटा सानो एसिया, सानो भारत, सानो नेपाल आदि देखिन थालेको छ। त्यसो हुँदा अब नेपालहरू, भारतहरू वा एसियाहरू भन्नुपर्ने भएको छ। अब एसिया विश्वभर छरिएको विश्वव्यापी एसिया हो।     



चीन, भारत र इन्डोनेसियाजस्ता विश्वका धेरै जनसंख्या भएका देशहरू रहेको एसियामा विश्वको करिब ६० प्रतिशत मानिस बसोबास गर्छन्। सामाजिक विविधताको संंगम क्षेत्रका रूपमा एसिया रहेको छ। एसियाको बहुलता, रैथाने ज्ञान र जीवनपद्धति एसियाको पहिचान र गौरवका रूपमा रहेका छन्। नेपाल देश नजन्मँदै जन्मेका गौतम बुद्ध यही भूमिमा जन्मेका थिए, जो एसियाका मात्र नभै विश्व शान्तिका प्रतीक बनेका छन्।



हिन्दू र इस्लाम सभ्यता/धर्मको उद्गम पनि एसियालाई नै मानिन्छ। चीनको प्राकृतिक चिकित्सा र मसाजले विश्वभर मन जितिरहेको देखिन्छ भने आधुनिक औषधि, उपचार उपकरण र प्रविधिको मुख्य उत्पादक र वितरकका रूपमा समेत यसले अगुवाइ गरिरहेको छ। कतारले विश्वकप सम्पन्न गरेर सानो क्षेत्रफलको देशले पनि राम्रो सामर्थ्य देखायो। भारतको संगीत, चलचित्र, योग र अध्यात्म एसियाबाहिर पनि लोकप्रिय छ। तेल-अर्थतन्त्रमा आधारित देशहरूको विश्वमा आफ्नै प्रकारको प्रभाव छ। पूर्वी एसियाका चीन, जापान, उत्तर कोरिया, दक्षिण कोरिया र ताइवान आर्थिक  रूपमा अघि बढेका छन्। सवारी साधन, विद्मुतिय सामानमा चीनसँगै जापान र दक्षिण कोरिया विश्व बजारमा छाएका छन्।  



चीन र भारतले औद्योगिक विकास गरेर उत्पादन बढाउँदा प्रतिस्पर्धाले नेपालमा सामान केही सस्तो पाइएको विषयलाई सकारात्मक मान्नुपर्छ। तर उद्योग विस्तारले कार्बन उत्पादन पनि बढाएको तथ्यलाई हामी बेवास्ता गरिरहेका छौ। यसले हिमालको पर्यावरणीय संकट, मानव स्वास्थ्यमा पारेको असरजस्ता विषयमा नेपालजस्ता देशले बढी चासो राख्नपर्छ।  



उपनिवेशको साझा भोगाई, 'शक्ति राष्ट्र'को शोषण लुट र दमनबाहेक एसियाभित्रकै देशहरूवीच तिक्तताको आफ्नै इतिहास छ। अझ छिमेकी देशहरूबीच सिमाना विवादमा तनाव र युद्ध पटक पटक देखिने गरेका छन्। आफ्नो स्वार्थमा अर्कालाई रणनीतिक रूपमा प्रयोग गर्ने प्रतिस्पर्धा त छँदैछ। 



विनाशकारी युद्ध चलिरहेका गाजा, युद्धविराम भएको जम्मु कश्मीरमा अहिले मानवीय संकट देखिन्छ। गाजा क्षेत्रमा इजरायल र प्यालेस्टाइन, जम्मु कश्मिर विवादमा भारत र  पाकिस्तान, एसियामा केही भाग रहेको रुस र युक्रेनको जनधनको क्षति विश्वशान्तिका लागि ठुलो चुनौती बनेका छन्। अहिले युद्ध नभए पनि विगतमा चलेर थामिएका तर समाधान नभइसकेका सीमा विवाद धेरै देशवीच छ। नेपालको लिम्पियाधुरा-लिपुलेक कालापानी क्षेत्रको सीमा विवाद नेपाल भारत सम्बन्धमा तिक्तता बल्झाइरहने कारक बन्ने गरेको छ। लेबनानको सिरियासँग, मलेसियाको इन्डोनेसिया, म्यानमार र थाइल्यान्डसँग, बहराइनको कतारसँग, चीनको जापानसँग, दक्षिण कोरिया र उत्तर कोरियाबीच सीमा विवाद सुल्झिएको छैन। यीबाहेक अरू थुप्रै देशहरूबीच पनि सीमा विवाद रहेका छन्। यी सीमा विवादहरू मध्यमार्गी उपायबाट समझदारीमा निरूपण गर्ने हो भने एसियामा सद्भाव, सहकार्य र शान्तिको नयाँ फराकिलो मार्ग कोरिने थियो।    



दिगो शान्ति, परस्परको सहकार्य र सहयोगका लागि सीमा क्षेत्रमा रहेका यस्ता विवाद समाधान गर्न जरुरी हुन्छ। सीमा विवादले विवादित क्षेत्रका मानिस भय र अनिश्चिततामा बाँचेका छन् भने अरू पनि अप्रत्यक्ष रूपमा प्रभावित हुँदै आएका छन्। एसियामा सैनिक र हतियार व्यवस्थापनमा खर्च गर्ने प्रतिस्पर्धा चल्नुको मुख्य कारण पनि सीमा विवाद नै देखिन्छ। एउटा हिस्सा मानिस भोको पेट मिच्दै बाँचिरहँदा युद्ध-आतंकले मारिने भयले आफ्नो घर, छिमेकी र आफन्त त्यागेर "बाँच्नै मात्र पाए हुन्थ्यो" भनेर देशका सिमाना नाघेर भागिरहेकाहरू लाखौँ रहेसम्म एसियाको उदाउँदो विकास र प्रगतिका सुचांंकको के अर्थ?



जलवायु संकट, वायु प्रदूषण र स्वस्थ पानीको अभाव एसियासँगै सिंगै विश्वमा आउँदा दिनमा अझै बढ्ने देखिन्छ। केही महिनाअघि काठमाडौँ उपत्यकालाई प्रदूषित हावाले छोप्यो। वंगलादेशको ढाका, भारतको दिल्ली, मनिला, साउदी अरेबियाजस्ता थुप्रै शहरको तापक्रम वृद्धिले मानव स्वास्थ्यमा गम्भीर असर पुर्‍याइरहेको छ।  



सन् २०२५ यता अमेरिका, केही युरोपेली देशको नीति र व्यवहार आप्रवासप्रति अपमानजनक खालको देखिँदै छ। विश्व हरेक दिन थप उदार हुँदै जानेछ भन्ने आम अनुमानलाई यस प्रवृत्तिले चुनौती दिएको छ। यसबाट सबैभन्दा धेरै प्रभावित हुने वा भयमा बाँच्नुपर्ने एसियाबाट गएका आप्रवासी भइरहेका छन्।



एसियाबाट विश्वभर सम्भावना खोज्न गएकाहरू राजनीति, व्यापार र शिक्षालगायत हरेक क्षेत्रमा प्रभाव बढाउँदै जाँदा गैर एसियाली देशहरू झस्किएका पनि हुन सक्छन्। अब एसियाले विश्वमञ्चमा सामूहिकता वा एकता कसरी प्रस्तुत गर्दै आएको छ? 'हामी एसियन' भन्ने काल्पनिकता सहानुभूति कसरी अनुभव गरिरहेका छौँ? व्यवहारमा कसरी प्रस्तुत भएका छौँ? यसलाई पनि फर्केर हेर्ने बेला भएको छ। 



निचोडमा भन्नुपर्दा चीन, जापानतिरबाट मात्र नभै भारत, मलेसिया, सिंगापुर, कुवेत र कतारतिरबाट पनि उदाइरहेको छ एसिया। सांस्कृतिक/आध्यात्मिक रूपमा नेपाल-भारत उदाइरहेको छ। तुलनात्मक रूपमा कम भए पनि अफ्रिकी महादेशमा पनि एसिया छरिएको छ। एसिया विविध आयामबाट उदाइरहेको छ। यति हुँदाहुँदै पनि एसियाभित्रको सहकार्य, एकता, न्यायपूर्ण समाजका लागि थुप्रै जटिलता र अवरोध छन्।



चम्किलो भएर उदाउन यहाँका देशहरूबीचका सीमा विवाद, बढ्दो सैनिक प्रतिस्पर्धा, धार्मिक कट्टरता र राजनीतिकरण, चर्को राष्ट्रवाद, बढ्दो आर्थिक असमानता, आप्रवासी श्रमिकको शोषण, अव्यवस्थित र गैरकानूनी आप्रवासन, स्वास्थ्य शिक्षामा असमान पहुँच, तहगत जात प्रणाली, लैगिक असमानता, बलात्कार, भ्रष्टाचार, मृत्युदण्डको अभ्यास, शक्तिमा रहेकाको प्रभावमा रहेको न्याय प्रणाली, लोकरिझाइँको लहर र पर्यावरणीय संकटजस्ता सवालको प्रभावकारी सम्बोधनबाट मात्र सम्भव देखिन्छ।



एसियालीहरूको एउटा हिस्सा शरणार्थी, अधिकारविहीन र शोषित अवस्थामै रहिरहँदा यहाँका उद्योग, व्यापार, प्रविधि, सैनिक सामर्थ्य, धनाढ्यको संख्या, भव्य शहर र फराकिला-चम्किला सडकले एसिया अघि बढेको मान्न सकिँदैन। एसियामा रहेका र एसियाबाट विश्वभर गएका मानिसहरू बाँचिरहेको जीवनलाई तराजुमा राखेर आउँदा दिन, दशक र शताब्दी कति एसियन हो भनेर मापन गर्नु उचित हुन्छ।  



सोसल साइन्स बहा र एसोसिएसन फर एसियन स्टडिजको अगुवाइमा यही मे ३१ बाट जून ४ सम्म  (पाँच दिन) काठमाडौँमा एसियाको सीमा, आधुनिकता, गतिशितला अनि एसियाको पुर्नसंरचनाका विषयमा एसियाका साथै एसिया अध्ययनमा जोडिएका अन्य महादेशका अनुसन्धानकर्ता, विज्ञ, विचारकहरूको अनुसन्धानमूलक प्रस्तुतिमा बहसहरू हुँदैछन्। यस भेलाको बहसमा माथि चर्चा गरिएका सवाललाई पनि ध्यान दिने प्रयास गरोस्।



(लेखक मानवशास्त्री हुन्।)