डाइभर्सन बनाएर एकतर्फी खुल्यो धरान–धनकुटा सडक

लेउतीखोलामा डाइभर्सन बनाएर धरान–धनकुटा सडक खण्ड एकतर्फी खुलाइएको छ।

काठमाडौँ– अविरल वर्षासँगै आएको बाढीले सडक बगाएर अवरुद्ध भएको कोशी लोकमार्गअन्तर्गत धरान–धनकुटा खण्ड एकतर्फी खुलेको छ।

शनिबार बिहान लेउतीखोलामा आएको बाढीले धनकुटाको साँगुरीगढी गाउँपालिका–६, फेदीमा सडक कटान गरेपछि सवारी आवागमन अवरुद्ध बनेको थियो। बाढीले करिब १०० मिटर सडक कटान गरेको थियो।

शनिबार बेलुकासम्ममा खोलामा अस्थायी डाइभर्सन बनाए सडक खुलाइएको जिल्ला प्रहरी कार्यालय, धनकुटाले जनाएको छ।

धनकुटाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलका अनुसार खोलामा पानीको सतह कम हुँदै गएपछि खोलाबाटै डाइभर्सन बनाएर सडक खुलाइएको हो। डाइभर्सन निर्माणका लागि सडक विभागको एक र अन्य तीन गरी चार वटा एक्स्काभेटर परिचालन गरेको थियो।

सडक अवरुद्ध भई आवागमन बन्द हुँदा सवारीसाधनको लामो लाइन लागेको छ। यात्रुहरूलाई भने सुरक्षाकर्मीको सहयोगमा वारपार गराइएको थियो।