आसममा भारी वर्षापछि आएको बाढीपहिरोमा परेर ५ जनाको मृत्यु

आसाम राज्य विपद् व्यवस्थापन प्राधिकरणले गुवाहाटी र वरपर पहिरोमा परी पाँच जनाको मृत्यु भएको पुष्टि गरेको छ।

भारतको गुवाहाटीमा भारी वर्षापछि आएको बाढीले यस क्षेत्रको जनजीवन प्रभावित भएको जनाइएको छ। गुवाहाटीमा तीन–चार दिनदेखि वर्षा भई बाढी आएको कारण प्रभावित क्षेत्रका जनताले भोग्नुपरेको समस्या तथा कठिनाइको समाधान गर्न सरकारलाई स्थानीयले आग्रह गरेका छन्। तीन–चार दिनदेखि निरन्तर वर्षा भइरहेले पानी जम्मा हुने स्थानमा सरकार उपस्थित भई जनताको समस्या समाधान गर्नुपर्ने एक स्थानीयले बताए।  

भारी वर्षापछि आसमको कामरूप (मेट्रो) जिल्लामा पहिरो जाँदा पाँच जनाको मृत्यु भएको अधिकारीले बताएका छन्। आसम राज्यको विपद् व्यवस्थापन प्राधिकरणले पनि घटनाको पुष्टि गरेको छ।

एएसडीएमएको रिपोर्ट अनुसार शनिबारसम्म तीन जिल्ला बाढीबाट प्रभावित भएका छन्। प्रभावित जिल्लाहरू कामरूप, कामरूप (मेट्रो) र कछार हुन्। यहाँका १० हजार १५० जना मानिस प्रभावित भएका छन्।

आसमका मुख्यमन्त्री हिमांता विश्व शर्माले शुक्रबार गुवाहाटीको लोकसेवा भवनमा आयोजित पत्रकार सम्मेलनमा गुवाहाटीको स्थिति राम्रो नभएको बताएका थिए। उनले सरकारले अवस्थाको निगरानी गरिरहेको र असम, मेघालय र अरुणाचल प्रदेशमा भारी वर्षाका कारण ठूलो क्षेत्र प्रभावित भएको बताएका छन्।

आसमका मुख्यमन्त्रीले पत्रकार सम्मेलनमा मेघालयका मुख्यमन्त्रीलाई पहाडको बाढीपहिरोको समस्या, बाढीले दुवै राज्य र गुवाहाटी शहरमा पारेको असरबारे छलफल गरेको बताए।

यसैगरी, विपद् व्यवस्थापन केन्द्रको पछिल्लो रिपोर्टअनुसार शनिबारसम्म श्रीलंकामा प्रतिकूल मौसमबाट करिब ६ हजार मानिस प्रभावित भएका छन्। प्रतिकूल मौसमका कारण एक हजार ५७९ परिवारका पाँच हजार ९७४ जना प्रभावित भएको र एक हजार ५४५ घर आंशिक क्षति पुगेको केन्द्रले जनाएको छ।

यसैबीच, श्रीलंकाको सिलोन विद्युत् समितिले मुलुकभर भारी मनसुनी वर्षा र हावाहुरीका कारण ५० हजारभन्दा बढी जनसंख्या विद्युत् कटौतीको मारमा परेको जनाएको छ। 

मौसम विभागले शनिबार ३० देखि ४० किलोमिटर प्रतिघण्टाको गतिमा भारी वर्षा र हावाहुरीको पूर्वानुमान गरेको छ। यो अवस्था आगामी २४ घण्टासम्म जारी रहने उल्लेख गर्दै विभागले आँधीको समयमा हुने क्षति कम गर्न आवश्यक सावधानी अपनाउन पनि नागरिकलाई सुझाव दिएको छ।