राष्ट्रपति र प्रधानमन्त्रीसँग न्युजिल्यान्डका उपप्रधानमन्त्रीको शिष्टाचार भेट

आजै नेपाल आएका पिटर्सले शीतलनिवासमा राष्ट्रपति पाैडेललाई भेटेर बालुवाटारमा प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन्।

काठमाडौँ– नेपालको दुईदिने औपचारिक भ्रमणमा रहेका न्युजिल्यान्डका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री विन्स्टन पिटर्सले आज राष्ट्रपति रामचन्द्र पाैडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका छन्।

आजै नेपाल आएका पिटर्सले शीतलनिवासमा राष्ट्रपति पाैडेललाई भेटेर बालुवाटारमा प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन्। प्रधामन्त्री निवास बालुवाटारमा भएको भेटका अवसरमा दुईपक्षीय हित, आपसी सम्बन्ध एवं बहुपक्षीय सहकार्यलाई अभिवृद्धि गर्ने विषयमा छलफल भएको थियो।

प्रधानमन्त्री ओलीले वर्तमान सरकारले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षाका साथ स्थिरता, विकास, सुशासन, सामाजिक न्याय र सामाजिक रूपान्तरणलाई प्राथमिकता दिएको अवगत गराए। उपप्रधानमन्त्री पिटर्सले नेपालको विकास र समृद्धिका साथै अन्तरराष्ट्रिय मञ्चमा दुई देशबीचको सहकार्य अभिवृद्धि गर्नुपर्नेमा जोड दिए।

त्यसअघि शितलनिवासमा भएको भेटमा राष्ट्रपति पौडेलले नेपाल सन् २०३० सम्ममा मध्यम आए भएको मुलुक बन्नेतर्फ अग्रसर भएकाले यो लक्ष्य हासिल गर्न व्यापार, लगानी र विकास सहकार्यका लागि आग्रह गरेका थिए। यस्तै, राष्ट्रपति पौडेलले जलवायु परिवर्तनको संकटबाट दुवै देश मारमा परेको बताउँदै हिमालय क्षेत्रको जनजीवन  बचाउनका लागि मिलेर काम गर्न आग्रह गरेका उनका प्रेस सल्लाहकार किरण पोखरेलले बताए।

सो अवसरमा न्युजिल्यान्डका उपप्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघको शान्ति स्थापना कार्यमा नेपालले पुर्‍याएको योगदानको प्रशंसा गर्दै अन्तर्राष्ट्रिय सम्बन्धमा साना देशहरुको भूमिका पनि महत्त्वपूर्ण हुनेमा आफूहरू विश्वस्त रहेको बताए।

नेपाल न्युजिल्यान्डका जनताको लागि रमणीय देश भएकाले यहाँको भ्रमण गर्न पाउँदा खुसी लागेको उल्लेख गर्दै नेपाली विद्यार्थीहरूको लागि छात्रवृत्ति वृद्धि गरेर नेपालसँग शिक्षा र विकासको सम्बन्ध सुदृढ गर्न आफूहरूले चाहेको जानकारी दिए। उनले जलवायु परिवर्तनले ल्याएको संकटप्रति आफूहरू सजग रहेको उल्लेख गर्दै यो समस्या समाधानका लागि सबै देशको सहभागिता जरूरी रहेको पनि बताए।

सन् १९५३ मे २९ मा विश्वको सर्वोच्च शिखर सगरमाथामा सर्वप्रथम नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका सर एडमन्ड हिलारीले सफल आरोहण गरेकाले पनि दुई देशबीचको सम्बन्ध नजिक भएको छ।