राहत सामग्री लुटिएपछि गाजामा गहिरिँदै मानवीय संकट

राहत बोकेका ट्रक गाजाको दक्षिणी भागमा लुटिएका हुन्। करिब ४०० ट्रकमध्ये ११५ ट्रक मात्र गाजामा पुग्न सकेका छन्। 

तस्वीर: रोयटर्स।

राहत सामग्री लुटिँदा युद्धग्रस्त गाजामा मानवीय संकट गहिरो बन्दै गएको छ। पछिल्लो समय राहत लिएर गएका १५ वटाभन्दा बढी ट्रक बाटोमा लुटिएपछि अवस्था अझ भयावह भएको संयुक्त राष्ट्रेसंघले जनाएको छ। 

इजरायलले केही समयदेखि गरेको कडा घेराबन्दी केही सहज बनाएपछि राहत सामग्री गाजामा प्रवेश गर्न थालेको थियो। गाजाको दक्षिणी भागमा राहत बोकेका ट्रक लुटिएका हुन्। करिब ४०० ट्रकमध्ये केवल ११५ ट्रक मात्र गाजामा पुग्न सकेका छन्। 

ती ट्रकहरूले स्थानीय बेकरीमा रोटी पकाउनका लागि खाद्यान्न पुर्‍याउँदै थिए। विश्व खाद्य कार्यक्रमले भोक, निराशा र राहत आउँछ कि आउँदैन भन्ने डरले अहिलेको अवस्था झनै असुरक्षित बनाएको बताएको छ। इजरायललाई राहत छिटो र बढी मात्रामा प्रवेश गराउन आग्रह गरिएको छ।

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गाजामा भइरहेको युद्ध अहिले सबैभन्दा पीडादायी र क्रूर अवस्थामा पुगेको बताए। युद्धका कारण त्यहाँ खाद्यान्न र औषधिको अभाव छ। इजरायलले हमास नामक समूहलाई नष्ट गर्न भन्दै फेरि ठूलो सैन्य कारबाही शुरू गरेको छ। शुक्रबार मात्रै इजरायली हवाई आक्रमणमा परी गाजाका विभिन्न भागमा १६ जनाको मृत्यु भएको थियो। 

“गाजाका मानिस अहिले यस्तो स्थिति झेलिरहेका छन्, जुन सम्भवतः यो युद्धको सबैभन्दा क्रूर अवस्था हो,” उनले भने, “अहिलेसम्मको राहत भनेको, जताततै आगो लागिरहेको बेलामा एक थोपा पानी हाल्नुजस्तै हो। जब कि गाजालाई ठूलो मात्रामा सहायता चाहिएको छ।”

इजरायललाई राहत सामग्रीको ढुवानी सहज रूपमा प्रवेश गराउन उनले अनुरोध गरेका छन्। इजरायली सेनाले भने गाजामा रहेको हातहतियार गोदाम, सैन्य अड्डा र लुकेर बसेका लडाकु स्थानमा कारबाही गरिएको बताएको छ। 

सेनाले ७५ भन्दा बढी स्थानमा आकाशबाट बम प्रहार गरिएको जनाएको छ। गाजासँग सिमाना जोडिएका इजरायली बस्तीहरूमा पनि रकेट आक्रमणको डरका कारण सावधानी अपनाइएको छ।